
काठमाडौं । डा. गोविन्द केसीले ६ दिनपछि आमरण अनसन तोडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन बसेका डा.केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ औं अनसन तोडेको बताएका हुन् ।
द्वन्द्व पीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनसन तोडाएका हुन् ।
अनसनरत केसीको मुटुको चालमा समस्या र रगतमा सुगरको मात्रामा कमी देखिएपछि उनलाई बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
शासकहरूको नियतलाई दृष्टिगत गरी अनसन तोड्न सहमत भएको डा. केसीले बताएका छन् ।
हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रहेकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सम्बोधन गर्छन् भन्ने सोच्नु मुर्खता हुने भन्दै हाललाई अनसन तोडेको डा. केसीले बताएका छन् ।