विकासन्युज

सुदन किराँती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता

काठमाडौं । सुदन किराँतीले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदनले बिहीबार राति एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।  सुदन श्रम संस्कृतिको वरिष्ठ नेता बन्ने सहमति भएको छ । किराँतीको समूहबाट १५ जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ । 

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।   

पिँडालु किलोको ५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६६ र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १३०, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ९०, परवर (तराई) प्रतिकिलो रु ७५, झिगुनी प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ९०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु १००, ब्रोकाउली प्रतिकिलो रु ११०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकिलो रु १५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ७०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ८०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु १००, माछे खुर्सानी प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, खुर्सानी हरिया (बुलेट) प्रतिकेजी १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु १९०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु ९०, माछा (सुकेको) प्रतिकेजी ८००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । 

९ महिनामा सीआईटीको नाफा १ अर्ब, ईपीएस १९.३२ रुपैयाँ

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले ९ महिनामा करिब १ अर्ब रुपैयाँ हाराहारी खुद नाफा गरेको छ । कोषले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ९८ करोड ६० लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ९० लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी, ७ करोड ३७ लाख विविध आम्दानी र १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।  गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी, ९ करोड रुपैयाँ विविध आम्दानी र १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले २० करोड ७१ लाख रुपैयाँ व्यवस्थापन खर्च, ११ करोड ७८ लाख रुपैयाँ खर्च व्यवस्था र ३२ करोड ५० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८३ लाख रुपैयाँ व्यवस्थापन खर्च, ११ करोड ५ लाख रुपैयाँ खर्च व्यवस्था र ३२ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कोषको जगेडा कोष १२ अर्ब ६८ करोड १ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.३२ रुपैयाँमा छ भने प्रतिसेयर नेटवर्थ ४७.११ रुपैयाँ कायम छ ।

ट्राफिक प्रमुख अधिकारी आफैं सडकमा, एकैदिन १८०६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै पछिल्लो २४ घण्टामा १ हजार ८०६ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने ८८ जनालाई कारबाही गरिएको छ । त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जना, सडक पेटीमा पार्किङ गर्ने ७७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १११ जनामाथि पनि कारबाही गरिएको छ । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६२ जना चालकसमेत कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै मुख्य सडक, चोक तथा नागढुङ्गा लगायत प्रमुख नाकामा विशेष चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाइएको कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, मापसे गरेर सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा प्राविधिक रूपमा कमजोर सवारीसाधनलाई लक्षित गरी निगरानी कडा बनाइएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएर अनुगमन गरिरहेका छन् । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रमुख अधिकारीले विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा मापसे रहेको छ । ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगञ्ज र नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य तथा यात्रु क्षमतामाथि पनि निगरानी थालिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणाली विकासका लागि चेकजाँच अभियानलाई अझ प्रभावकारी बनाइने कार्यालयले जनाएको छ ।

एनएनएसडब्लू पोर्टलमार्फत टीआईभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा

काठमाडौं । भन्सार विभागले एनएनएसडब्लू पोर्टलमार्फत टीआईभी डिक्लेरेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले सबै भन्सार कार्यालयलाई पत्राचार गर्दै उक्त प्रणाली नियमित रूपमा प्रयोगमा ल्याउन निर्देशन दिएको हो । विभागको सूचना प्रविधि प्रणाली तथा विकास शाखाका अनुसार २०८३ वैशाख १७ गतेको विभागीय निर्णयअनुसार टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार अब टीआईभी सम्बन्धी घोषणा एनएनएसडब्लू पोर्टलमार्फत गर्न सकिनेछ । साथै म्यानुअल तथा ई-पेमेन्ट दुवै माध्यमबाट भुक्तानी गर्ने व्यवस्था समेत मिलाइएको विभागले जनाएको छ । विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई सोही पोर्टलमार्फत टीआईभी सम्बन्धी कार्य नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।  

सिद्धार्थ प्रिमियरको बीमा कोष ११.१५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आवको ९ महिनामा कम्पनीको खुद नाफा ९१.१५ प्रतिशत कम हो ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३० करोड ६ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ४ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले १ अर्ब २७ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ९२ करोड ९५ लाख ६५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा कम्पनीले २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ कुद खर्च गरेको थियो ।  २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको चैत मसान्तसम्म निर्जीवन बीमा कोष ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै ३३ करोड २७ लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम छ ।

एकैपटक ८ विश्वविद्यालयमा उपकुलपति खोज्दै सरकार

काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरेको हो । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको हो । केही दिन अगाडि सरकारले जारी गरेको अध्यादेशमार्फत यी विश्वविद्यालयका उपकुलपति स्वतः पदमुक्त भएका थिए । छनोट तथा सिफारिस समितिले वैशाख २४ गते स्वीकृत गरेको विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम आवेदन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । मन्त्रालयले सम्बन्धित कार्यविधि पनि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ ।