तुइनखोलामा सुक्खा पहिरो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।
न्याय सम्पादनमा गतिशीलता दिन डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो: प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न र सर्वोच्च अदालतमा वर्षौदेखि थाती रहेका मुद्दाको बोझ कम गर्न न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताएका छन् । संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री शाहले राखेका दलील उद्धृत गर्दै उनको सचिवालयले डा. शर्माको नियुक्ति न्यायपालिकाको इतिहासमा एक विशेष कदम भएको जनाएको छ । सचिवालयका अनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका कारण डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारीका लागि उपयुक्त ठानिएको हो । प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्मा कार्यसम्पादनमा निकै अगाडि देखिका छन् । उनले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाका छन् । जुन अन्य प्रस्तावित उम्मेदवारहरूको तुलनामा सबैभन्दा उच्च संख्या हो । ‘प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २ हजार १८१ मुद्दा किनारा लगाउनुभएको छ, जसले न्याय सम्पादनमा उहाँको सक्रियता र गतिलाई पुष्टि गर्दछ ।’ न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा पनि डा. शर्मा समकालीन न्यायाधीशहरूको तुलनामा अब्बल देखिएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले उनको प्राज्ञिक योग्यता र कार्यक्षमता दुवैलाई मुख्य आधार बनाएर सिफारिस गर्ने निर्णय गरेको हो । लामो समयदेखि सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्दै जाँदा न्याय पाउन ढिलाइ भइरहेको जनगुनासो सम्बोधन गर्न डा. शर्माको नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास सरकारले लिएको छ ।
मध्यपूर्व युद्धका कारण करिब १ हजार ५०० पानीजहाज अलपत्र
काठमाडौं । मध्यपूर्व युद्धका कारण करिब १ हजार ५०० पानीजहाज अलपत्र परेको संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय सामुद्रिकमामिला हेर्ने सङ्गठनले जनाएको छ । सङ्गठनका महासचिवले बिहीबार पनामामा भने, ‘इरानले गरेको नाकाबन्दीका कारण करिब एक हजार ५०० जहाज र तिनका चालक दलका सदस्यहरू खाडीमा फसेका छन् ।’ इजरायल र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरेको मध्यपूर्वमा भएको युद्धमा तेहरानबाट प्रतिक्रिया (प्रतिशोध) लाई उक्सायो र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार मार्ग हर्मुजमा पानीजहाजको स्वतन्त्र आवागमनमा प्रतिवन्ध लगाइएको छ । ‘अहिले हामीसँग लगभग २० हजार चालक दल र लगभग एक हजार ५०० जहाजहरू फसेका छन्,’ आर्सेनियो डोमिन्क्वेजले अमेरिकाको समुद्री सम्मेलनमा सम्बोधनका क्रममा भने ।
जलवायु न्यायका लागि पर्वतीय राष्ट्रहरूबीच सहकार्य आवश्यक: मन्त्री गीता चौधरी
काठमाडौं । वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र पर्वतीय राष्ट्रहरूको साझा एजेन्डालाई विश्वव्यापी मञ्चमा सशक्त बनाउन क्षेत्रीय सहकार्यमा जोड दिएकी छन् । ३० औं जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एशियाका लागि विशेष दूतका रूपमा नियुक्त गरेका डा. अरुणाभ घोषसँगको भेटवार्तामा मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् । भेटका क्रममा मन्त्री चौधरीले नेपाल न्यून कार्बन उत्सर्जन गर्ने देश भए तापनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरिन् । ‘हिमाल पग्लिने क्रम तीव्र हुँदा तल्लो तटीय क्षेत्रका समुदायहरू प्रत्यक्ष प्रभावित भइरहेका छन्,’ उनले भने, ‘जलवायु परिवर्तन एक साझा विश्वव्यापी चुनौती भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ ।’ नेपालले जलवायु संकट सामना गर्न राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना र उच्च लक्ष्यसहितको एनडीसी ३.० कार्यान्वयनमा ल्याइसकेको जानकारी समेत उनले गराइन् । मन्त्री चौधरीले नेपालले ४६ प्रतिशत वन क्षेत्र संरक्षण गरी कार्बन सञ्चिति र स्वच्छ पानीमार्फत क्षेत्रीय स्तरमा पु¥याएको योगदानको चर्चा गर्दै पर्वतीय राष्ट्रहरूको आवाज बुलन्द गर्न ‘सगरमाथा संवाद’ जस्ता पहलहरू सुरु गरिएको बताइन् । आगामी COP31 लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले भारत लगायत छिमेकी र समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्यायको एजेन्डालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् । भेटमा डा. घोषले जलवायु परिवर्तनका क्षेत्रमा नेपालले गरेका प्रयासहरूको प्रशंसा गर्दै आगामी सम्मेलनहरूमा पर्वतीय मुद्दालाई प्राथमिकतामा राख्ने विषयमा छलफल गरेका थिए ।
काठको मुढाले च्यापिएर बालकको मृत्यु
काठमाडौं । काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ । मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो । सर्केगाड-८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढाको भेडा चराउन गएको बेला काठको मुढाले च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । काठ चिरान गर्ने क्रममा सर्केगा-८ का धनविर सार्की र सोही ठाउँका सुकविर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक बुढा मुढाले च्यापिएका थिए । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । धनविर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाढीपहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालन, केही अवरुद्ध
काठमाडौं । केही दिनदेखिको वर्षाका करण आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आज (बिहीबार) देखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन् । यही वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालीका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने, ४०० बेँसीस्थित बिपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका-२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली चौरजहारी सडकखण्ड बिहीबारदेखि सञ्चालनमा आएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, २३ गतेको पहिरोका कारण अवरुद्ध बनेको मकालु गाउँपालिका-३ नयाँ बस्तीस्थित कोशी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यही वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका(६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भई अझै सञ्चालनमा आउन नसकेको प्रवक्रा काफ्लेले बताए । उनले भने, ‘वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएका केही मुख्य राजमार्ग सञ्चालनमा आएका छन् भने केही राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । काभ्रेपलाञ्चोक खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी बिपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।’ वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले सरोकार भएका सबैलाई आग्रह गरेको छ ।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको निरीक्षण
काठमाडौं । विकासमा साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सञ्चालित परियोजनाको बिहीबार (आज) महानगर प्रमुख धनराज आचार्यसहित विश्व बैंकका उपाध्यक्ष डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ । टोलीले तालचोक बेगनास सडक, शिशुवाचोक खुँदिखोला सडक र कालिकास्थान पुँडिटार लामगादी सडकको निरीक्षण गरेको हो । संघीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैंकको आर्थिक सहयोगमा तालचोक बेगनास सडकखण्डको करिब तीन दशमलव २८ किमी, शिशुवबाट खुँदीखोला पुलसम्मको करिब चार दशमलव १४ किलोमिटर र कालिकास्थानबाट लामगादीसम्मको १२ किमी सडक निर्माण भइरहेको छ । यीमध्ये करिब ३४ करोड ११ लाख २० हजार २९५ रुपैयाँको लागतमा शिशुवाबाट खुँदीखोला पुलसम्मको सडक निर्माण भइसकेको छ । त्यस्तै, सडकमा दायाँबायाँ नालीसहित १५ मिटर डबल लेन, सात मिटर सपोट बाटो, एक दशमलव पाँच मिटर साइकल ट्याक र दुई दशमलव पाँच मिटर फुटट्र्याक रहेको छ । दोविल्ला बागमारा-तिक्लाङ्-बडहरकोट-लामगादी-चापलाङ-उपल्लो पुँडीटार-तल्लो पुँडीटार-झिगटे तगारेगौडा-तल्लो गगनगौँडा सडकअन्तर्गत पर्ने कालिकास्थान लामगादी खण्डसमेत निर्माण भइसकेको छ । विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ सहयोगमा सात मिटर चौडाइ, अस्फाल्ट पिच, सडकको दायाँबायाँ ड्रेनसहित दुई/दुई मिटरको फुटट्र्याक निर्माण गरिएको छ । तालचोक बेगनास सडक निर्माण सम्पन्न हुने क्रममा रहेको महानगर प्रमुख आचार्यले बताए । सडक हरियाली फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको निर्माण हुँदैछ । यस खण्डमा पाँच वटा कल्भर्ट तथा पुल निर्माण भएका छन् । सडकको बीचमा एक दशमलव पाँच मिटरको डिभाइडर, दुवै छेउमा दुई दशमलव पाँच मिटर पार्किङ, दुवै छेउमा एक मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि दुई मिटर चौडाइको फुटपाथ र सडकमा चार सेमी मोटाइको अस्फाल्ट पिच हुने उनले जानकारी दिए । उनका अनुसार सडक निर्माणका लागि विश्व बैंकले ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ दशमलव ९४ सहयोग प्रदान गरेको छ । निरीक्षणका क्रममा विश्व बैंकको सहयोगमा सञ्चालित परियोजना सम्पन्न हुने चरणमा रहेका बताउँदै महानगर प्रमुख आचार्यले थप परियोजना सञ्चालनका लागि सहकार्य गर्न पोखरा महानगरपालिका इच्छुक रहेको बताए । खुदीखोलाबाट रुपा गाउँपालिकाको सिमानासँग पुग्ने सडकको स्तरोन्नतिका लागि थप बजेटको व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन पनि उनले आग्रह गरे । विश्व बैंकका उपाध्यक्ष डेनिसले उक्त प्रस्तावप्रति आफू सकारात्मक रहेको बताए । निरीक्षणमा नगर प्रमुख आचार्यसहित प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, सम्बन्धित वडाका वडाध्यक्षहरू, परियोजनाका निर्देशक लीला खतिवडा, इन्जिनियर नवीन गौतम र विश्व बैंकको टोलीमा लारिसा लुये, अमिर अहमेद, प्याट्रिक जोयललगायतको उपस्थिति थियो ।
रास्वपाले विपद् व्यवस्थापनबारे राष्ट्रिय नीति मन्थन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनबारे राष्ट्रिय नीति मन्थन कार्यक्रम गर्ने भएको हो । रास्वपाको ‘पार्टी-संसद्स-रकार समन्वय समिति’ को आयोजनामा वैशाख २७ गते विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनबारे राष्ट्रिय नीति मन्थन आयोजना गरिएको पार्टीका महामन्त्री एवं पार्टी-संसद्-सरकार समन्वय समितिका संयोजक भूपदेव शाहले जानकारी दिए । नेपालमा बर्सेनि हुने विपद्जन्य घटनाबाट हुने क्षति कम गर्न र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय नीतिनिर्माणमा ठोस योगदान पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको संयोजक शाहले बताए । यही वैशाख २७ गते दिउँसो ३ः०० बजेदेखि ६ः०० बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डमा हुने कार्यक्रममा भाग लिन रास्वपाले पार्टीका सबै केन्द्रीय विभागका प्रमुख र प्रतिनिधिलाई अनुरोध गरेको छ ।