विकासन्युज

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा गर्‍यो १ करोड रुपैयाँ सहयोग

काठमाडौं । आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षति पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत प्रदान गरिएको हो ।   

मुस्ताङ–चीन कोरला नाकाको विकासमा नेपाल सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।   महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने, 'कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरु प्रवद्र्धनका लागि प्रयो गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।' अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे । उनले भने 'हामीले जानकारी पयौँ कि यहाँ १२ दिनमात्र अघि सुरु गरिएको भन्सार कार्यालयबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक हुन आउँछ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।' चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरोलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो ।  माथि कोरोला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रुपमा कार्यसञ्चालन एवं बिजुली, पानी, इन्टरनेट लगायत अन्य आवश्यक व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव थियो ।  गतवर्ष मात्र मुस्ताङमा करिब ७ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको तथ्यांक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरु रहेका र मानसरोबार जानका लागि पनि यो बाटो छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरुलाई समेत सहज हुने बताए ।  साथै माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरुलाई लगाइँदै आइएको ५०० अमेरिकी डलर अव्यवहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि उनले सरकारसँग माग गरे ।        अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताउँदै यसका लागि निजी क्षेत्रका तर्फबाट के गर्नुपर्छ त्यसका लागि आफूहरु प्रतिबद्ध रहेको पनि बताए ।  

दशैंमा हुन्डाईको 'हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सुरु

काठमाडौं । दशैंका अवसरमा हुन्डाई गाडी प्रयोगकर्ताका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई गाडीको आधिकारिक विक्रेता) ले 'हुन्डाई हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने भएको छ । असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँलगायत ११ स्थानमा दक्ष प्राविधिकमार्फत २६–प्वाइन्ट निःशुल्क चेकअप सुविधा दिइनेछ । साथै, गाडीका लागि आवश्यक लुब्रिकेन्ट र कुलेन्ट निःशुल्क उपलब्ध गराइनेछ भने विद्युतीय सवारीका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुनेछ । २०१४ देखि सञ्चालनमा आएको यो अभियान हुन्डाईको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ । चाडपर्वको यात्रामा ग्राहकलाई सुरक्षित, सहज र झन्झटरहित बनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

ज्ञानेन्द्रले पहिलो पटक स्वीकारे आफूलाई ‘पूर्वराजा’

काठमाडौं । विज्ञान भन्छ समय परिवर्तनशील छ । यस्तै परिवर्तन भएको छ पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं शुभकामनामा पनि । गत सालको दशैं शुभकामनाको लेटरहेड  र शाहले यस वर्ष प्रयोग गरेको शुभकामनामा धेरै फरक देखिएको छ । गएको वर्ष सामान्य कागजमा आमदेशवासीलाई शुभकामना दिएका शाहले यसपटक आफू राजा हुँदा प्रयोग गर्ने लेटर प्रयोग गरेका छन् । पछिल्लोपटक तत्कालीन केपी ओली सरकारले ज्ञानेन्द्रलाई आफूलाई राजा नभन्न आग्रह गरेका थिए ।  यसअघि ज्ञानेन्द्रले दिएका हरेक सन्देशहरूमा आफूलाई श्री ५ महाराजधिराज भनेर लेखिएको हुन्थ्यो । यसपटक भने उनले आफूलाई पूर्वराजा भनेका छन् । अगिल्लाे वर्षको लेटर

मुक्तिनाथ वाणिज्य बैंक बन्ने, चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ

काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने भएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले वाणिज्य बैंकमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैंकको बोनस सेयर वितरण र अग्राधिकार सेयर जारी पश्चात् चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्ने भएपछि वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको हो ।  बैंकको कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ भने गत वर्ष पारित भएको १ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ पुग्नेछ । पुँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।  यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

गुण्डुमा एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाडाको निवासमा सुरु भएको उक्त बैठक ढिलागरी सुरु भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका एक सचिवालय सदस्यले जानकारी गराए ।  ती सदस्यका अनुसार बैठकमा पछिल्लो जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीमा पारेको प्रभावबारे छलफल हुनेछ । भदौ १९ पछि पहिलो पटक बस्दै गरेको सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ । सचिवालय बैठकमा पछिल्लो घटनाक्रमको सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल हुने ती नेताले बताए ।

२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो कात्तिक १२ गते सेयरधनी भेला

काठमाडौं । २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हो ।  बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  असोज ११ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।