विकासन्युज

दोहोरो अकंले बढ्यो सेयर बजार, १० उपसूचकमा हरियाली

काठमाडौं । सातको पहिलो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २,०८३ अंकमा कायम भएकाे छ । आज ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन व्यापार समूह सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह २. १७ प्रतिशतले बढेकाे छ । बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.२६, जीवन बीमा ०.७७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६७ तथा अन्य समूह सूचक ०.९६ प्रतिशत बढेको छ । उत्पादन समूह २.४ र लगानी ०.२३ प्रतिशत घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै पोखरा फाइनान्सको १८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै कालिञ्चोक दर्शका लगानीकर्ताले ८.८५ प्रतिशतका दरले कमाएका छन् भने अपर सोलुका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा) लाई आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा अध्यक्ष भएर एक अर्ब ५१ करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका उनलाई प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट पक्राउ गरेको थियो । आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले उनीमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबीसहित उजुरी गरेकाे बताए । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिटको विरुद्धमा १२ करोडको हाराहारीमा बिगो माग दाबी गर्दै जाहेरी परेको जानकारी दिए । ४९ वर्षीय तामाङविरूद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ‘२०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ,’ उनले भने, ‘कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रहेको खुल्न आएको छ ।’ लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

एशियन लाइफको सीईओ बने पुनर्बीमा कम्पनीको सञ्चालक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट श्रेष्ठ नेपाल रिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । राष्ट्रिय बीमा कम्पनीबाट नेपाल रिको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका शेखर बरालको राजीनामा पछि संस्थापक सेयरधनी समूहतर्फ सदस्य पद रिक्त थियो । श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्सको सीईओ नियुक्त हुनुअघि इन्स्योरेन्सको सञ्चालक समिति सदस्य थिए । उनी जीवन बीमक संघ नेपालका कोषाध्यक्ष पनि हुन् । श्रेष्ठसँग बैंकिङ र जीवन बीमा दुवै क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ । उनले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा १९ वर्ष सीईओका रूपमा काम गरिसकेका छन् । यसअघि उनले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा बीओडीको प्रतिनिधित्व गरिसकेका उनीसँग नेपाल वित्तीय संस्था संघ (एनएफआईए) को महासचिवको रूपमा पनि काम गरेको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

राष्ट्र बैंकले बंगालीलाई सेयर बेच्न दिएन, पौने २ करोड कित्ता सेयर कारोबारमा ब्रेक

काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)को योजनामा ब्रेक लागेको छ । नियामक नेपाल राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि कम्पनीको बाहिरिने योजनामा ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गर्दै आइफआईसीको सेयर खरिद बिक्रीको प्रक्रिया रोकिएको बताएको छ । नबिल बैंकको ६५८औं सञ्चालक समितिको बैठकले नबिल बैंकमा रहेका आईएफआईसी बैंकको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर खरिदबिक्रीको प्रक्रिया स्थगित भएको निर्ण गरेको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ ।  आईएफआईसीको नाममा रहेको सेयर बिक्री गर्नका लागि नबिलले २०७९ मंसिर १५ गते सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नका लागि नबिल बैंकका ठूला सेयरधनी विनोद चौधरीले लामो समयदेखि मिहिनेत गरिरहेका थिए । तर, नियामक राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि अन्ततः सो सेयर अब आईएफआईसीको नाममै रहनेछ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले सो सेयर खरिदबिक्रीमा राष्ट्र बैंकले केही ‘कन्सर्न’ राखेको धारणा राखे । ‘यस विषयमा केही कैफियतहरू छन्, करको विषय पनि छ, महालेखा परीक्षक कार्याललले पनि प्रश्न उठाएको छ, हामीले स्वीकृतिका लागि आउने बिक्तिकै अनुमति दिने कुरा हुँदैन, अहिले पनि साथीहरूले यो विषय अध्ययन गरिरहनु भएको छ,’ पौडेलले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकले चाहेरै सो सेयर खरिदबिक्रीका लागि अनुमति नदिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था भएन, हामीलाई अझैं पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, राष्ट्र बैंक विदेशी लगानीकर्तालाई गुमाउने अवस्थामा छैन, आईएफआईसीलाई केही विकल्प दिएका थियौं । तर, सो विकल्पमा कुरा अगाडि नबढेपछि अहिलेको सेयर खरिदकर्तालाई सेयर खरिद गर्न दिन नसकिने गरी काम अगाडि बढेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ । स्रोतका अनुसार सो सेयर खरिद गर्नका लागि विदेशी खरिदकर्ता नै हुनु पर्ने अडान राष्ट्र बैंकको थियो । तर, आइएफआईसीलले विनोद चौधरीको श्रीमती सारिका चौधरीको नाममा आवेदन दिएपछि राष्ट्र बैंकले अनुमति नदिएको बुझिएको हो । समब्धित सामग्री :बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने

मुकेश अम्बानीलाई पछि पार्दै फेरि एसियाकै धनी व्यक्ति बने गौतम अडानी

काठमाडौं । एप्पलदेखि एयरपोर्ट क्षेत्रमा सक्रिय अडानी समूहको सूचीकृत कम्पनीको सेयर बढेपछि गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका मुकेश अम्बानीलाई पछाडि छाडेका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानी अहिले १ खर्ब ११ अर्ब अमेरिकी डलरको कुल सम्पत्तिका साथ विश्वको ११औं धनी व्यक्ति हुन् । अम्बानी १०९ अर्ब डलरको सम्पत्तिका साथ १२औं स्थानमा छन् । अडानी समूहले अर्को दशकमा आफ्नो विस्तार योजनाको एक भागका रूपमा ९० अर्ब डलरको पुँजीगत खर्च गर्ने योजना उल्लेख गरेपछि शुक्रबार अडानी समूहका सबै कम्पनीहरूको सेयर मूल्य बढेको थियो । यसपछि अमेरिकी ब्रोकरेज कम्पनी जेफरीजले समूहको बारेमा राम्रो राय प्रस्तुत गरेको छ । यी घटनाक्रमपछि शुक्रबार समूहका सबै कम्पनीको सेयर मूल्य १४ प्रतिशतले बढेको छ । यसले अडानी समूहका १० सूचीकृत कम्पनीहरूको बजार मूल्यमा ८४ अर्ब ६४ करोड रुपैयाँ बढेको छ । शुक्रबारको कारोबारको अन्त्यमा अडानी समूहका १० सूचीबद्ध कम्पनीहरूको बजार पूँजीकरण १७.५१ ​​लाख करोड रुपैयाँ थियो । समूहका कम्पनीहरूको सेयरमा भएको उछालपछि पहिलो पुस्ताका उद्यमी तथा अदानी समूहका अध्यक्ष गौतम अडानी अम्बानीलाई पछि पार्दै एसियाकै धनी व्यक्ति बनेका छन् । अम्बानी अहिले आफ्नो कान्छो छोरा अनन्तको विवाहपूर्व समारोहका लागि युरोपमा छन् । व्यक्तिगत सम्पत्ति बढेपछि अडानी (६१) सन् २०२२ मा एसियाकै धनी व्यक्ति बने । तर, त्यसबेला विश्व अर्थतन्त्रको गति निकै सुस्त थियो । यसपछि जनवरी २०२३ मा अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डनबर्गले समूहविरुद्ध दुरुपयोगको आरोप लगाएपछि अडानी कम्पनीहरूको बजार पुँजीकरणमा ठूलो गिरावट आएको थियो । अडानीको व्यापार साम्राज्य धोखाधडीमार्फत निर्माण गरिएको हिन्डनबर्गले आरोप लगाएको थियो । जसले गर्दा समूहको सेयर मूल्यमा १५० अर्ब डलरसम्म गिरावट आई सबैभन्दा न्यून स्तरमा झरेको थियो । र, उनलाई विश्वको शीर्ष २० अर्बपतिहरूको सूचीबाट बाहिर निकालेको थियो । योसँगै अम्बानी २०२२ मा एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । तर, अडानी समूहले यी सबै आरोप अस्वीकार गरेको थियो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार २०२४ मा अदानीको कुल सम्पत्ति २६.८ अर्ब डलरले बढेको छ भने अम्बानीको सम्पत्ति १२.७ अर्ब डलरले बढेको छ ।

स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरे । ‘बजेट बनाउँदै गर्दा स्रोतको संकुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ । बजेटमा निकै धेरै अपेक्षा थिए । युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो’, अर्थमन्त्री पुनले भने, ‘स्रोतको संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन् ।’ आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ । विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ । ‘समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ’, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, ‘राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन् । हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन् ।’ निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भङ्ग नगरेको उनले बताए । गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । ‘समग्र राष्ट्रिय अर्थतन्त्रमा केही संकुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो’, उनले भने, ‘गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ  र बिस्तारै गतिशील बन्दै गएको छ । हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ ।’

राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो : नेकपा एस

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ । आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरुले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए । राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको बताए । रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । ‘वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको छ र उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन् । यस महाधिवेशनको सफलताका लागि मुलुकभरीका श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायी, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण देशवासीबाट पार्टीले नैतिक तथा भौतिक सहयोग तथा समर्थनको अपेक्षा गरेको छ’, उनले भने । नेकपा (एकीकृत समाजवादी)ले जेठ १६ गतेबाट २० गतेसम्म महाधिवेशन गर्दैछ ।

‘अब व्यवसायीले बैंकबाट ऋण नपाउन सक्छन्, आन्तरिक ऋणले ठूलो समस्या ल्याउँदैछ’

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको आकार र त्यसले अगाडि सारेका नीतिगत व्यवस्थाले थप समस्या सिर्जना हुने बताएका छन् । आइतबार राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आफ्नो धारणा राख्दै डा. महतले सरकारले आगामी वर्ष ८९ अर्ब रुपेयाँ आन्तरिक ऋण लिने सरकारको लक्ष्यले थप संकट निम्त्याउने बताएका हुन् । उनले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेटको आकार ठूलो भएको बताउँदै त्यसमार्फत् ८९ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने सरकारको लक्ष्यप्रति पनि प्रश्न गरे । ‘अर्थमन्त्रीजीले बजेटमार्फत् ८९ अर्ब आन्तरिक ऋण लिने ऋण लिने निर्णय गर्नु भएको छ, अहिले पनि सरकारका लागि ऋण बोझ भइरहेको छ, ऋण तिर्नका लागि ऋण लिनु पर्ने बाध्यता छ,’ उनले भने, ‘८९ अर्ब रुपैयाँ भनेको बैंकबाट नै लिने हो, निजी क्षेत्रले पनि बैंकबाट नै ऋण लिने हो, सरकारले यति धेरै ऋण लिइसकेपछि निजी क्षेत्र ऋणबाट बञ्चित हुन सक्छ ।’ अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको र लाखौंलाई रोजगारी दिँदै आएको निजी क्षेत्रले बैंकबाट ऋण नपाउँदा अर्को समस्या सिर्जना हुने उनको भनाइ छ । सरकारले आन्तरिक ऋण लिए पनि त्यो पैसा उत्पादनशील क्षेत्रमा प्रयोग नहुँदा समस्या भइरहेको उनको भनाइ छ । सरकारले प्राथमिकताका क्षेत्र नतोकेर बजेट पार्टीमूखी बनाएको आरोप उनको छ । ‘अहिले अर्थतन्त्रको समस्या भनेको जहाँ लगानी गर्नुपर्ने हो त्यहाँ भइरहेको छैन, ठीक ठाउँमा लगानी नभएपछि उत्पादन पनि बढ्दैन र रोजगारी पनि बढ्दैन, अर्थमन्त्रीले त्यो समस्या नबुझेर पार्टी र कार्यकर्तालाई खुसी बनाउने बजेट ल्याउनु भयो,’ महतले भने, ‘अर्थमन्त्रीले ‘बिटरफिल’ गर्न सक्नुपर्छ, कार्यकर्ता खुसी बनाउने कार्यक्रम ल्याउनु भयो ।’ उनले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को तुलनामा बजेटको आकार बढी भएको र जीडीपीको तुलनामा खर्च र राजस्व पनि बढी नै रहेको सुनाउँदै प्रतिफल भने न्यून हुनुको कारण पहिचान गर्नु पर्ने बताए । उनकाअनुसार भारतमा राजस्व र जीडीपीको रेसियो ९.२ प्रतिशत, बंगलादेशमा ८.२ प्रतिशत नेपालमा १७.९ प्रतिशत छ । जीडीपीमा खर्चको अुनपात नेपालमा २६.६ प्रतिशत, बंगलादेशमा १२.६ प्रतिशत र भारतको १५.९ प्रतिशत रहेको उनले सुनाए । अन्य देशको तुलनामा खर्च र राजस्व अनुपात बढी नै भए पनि उत्पादन भने न्यून रहेको धारणा राखे । ‘हामी राजस्व पनि राम्रो उठाइरहेका छौं, जीडीपीको तुलनामा बजेट पनि उनीहरुको भन्दा बढी नै विनियोजन गरिरहेका छौं । तर, प्रतिफल आइरहेको छैन । उनीहरुको हाम्रोभन्दा बढी वृद्धिदर आइरहेको छ, लगानी भइरहेको छ । राजस्व पनि आइरहेको छ तर उत्पादन भइरहेको छैन । यसको कारण के हो ? यो समस्या पहिचानमा सरकार चुकिरहेको छ,’ उनले भने । स्रोतको व्यवस्थापन, स्रोत जुटाउने र कसरी खर्च गर्ने बारेमा बजेट केन्द्रीत हुनु पर्ने धारणा उनको छ । ‘म अर्थमन्त्री हुँदा बजेट निर्माणको चुनौती बुझेको छु, अहिलेको बजेट यो चुनौतीहरु सामना गर्नेतर्फ ध्यान दिएको छैन, सुधारका चरणहरु पेस गरेर छैन । म अर्थमन्त्री हुँदा एउटा रोडम्याप तयार गरेका थियौं । त्यसले निरन्तरता पाउँछ भन्ने ठानेको थिएँ । तर, सुधारको थालनीले निरन्तरता पाएन । बजेटरी प्रणाली, बहुबर्षीय ठेक्का र स्रोत विनियोजनको विषयमा उच्चस्तरीय समितिको आवश्यक थिएन, हिजो थालेको उदाहरणीय कामलाई निरन्तरता नदिनु विडम्बना हो,’ उनले भने ।