विकासन्युज

स्रोत संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गरे । ‘बजेट बनाउँदै गर्दा स्रोतको संकुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ । बजेटमा निकै धेरै अपेक्षा थिए । युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो’, अर्थमन्त्री पुनले भने, ‘स्रोतको संकुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन् । निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन् ।’ आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ । विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनको दाबी छ । ‘समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ’, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भने, ‘राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन् । हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन् ।’ निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भङ्ग नगरेको उनले बताए । गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । ‘समग्र राष्ट्रिय अर्थतन्त्रमा केही संकुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो’, उनले भने, ‘गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ  र बिस्तारै गतिशील बन्दै गएको छ । हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ ।’

राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो : नेकपा एस

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ । आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरुले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए । राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको बताए । रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको जानकारी दिए । ‘वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको छ र उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन् । यस महाधिवेशनको सफलताका लागि मुलुकभरीका श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायी, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण देशवासीबाट पार्टीले नैतिक तथा भौतिक सहयोग तथा समर्थनको अपेक्षा गरेको छ’, उनले भने । नेकपा (एकीकृत समाजवादी)ले जेठ १६ गतेबाट २० गतेसम्म महाधिवेशन गर्दैछ ।

‘अब व्यवसायीले बैंकबाट ऋण नपाउन सक्छन्, आन्तरिक ऋणले ठूलो समस्या ल्याउँदैछ’

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको आकार र त्यसले अगाडि सारेका नीतिगत व्यवस्थाले थप समस्या सिर्जना हुने बताएका छन् । आइतबार राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आफ्नो धारणा राख्दै डा. महतले सरकारले आगामी वर्ष ८९ अर्ब रुपेयाँ आन्तरिक ऋण लिने सरकारको लक्ष्यले थप संकट निम्त्याउने बताएका हुन् । उनले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेटको आकार ठूलो भएको बताउँदै त्यसमार्फत् ८९ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने सरकारको लक्ष्यप्रति पनि प्रश्न गरे । ‘अर्थमन्त्रीजीले बजेटमार्फत् ८९ अर्ब आन्तरिक ऋण लिने ऋण लिने निर्णय गर्नु भएको छ, अहिले पनि सरकारका लागि ऋण बोझ भइरहेको छ, ऋण तिर्नका लागि ऋण लिनु पर्ने बाध्यता छ,’ उनले भने, ‘८९ अर्ब रुपैयाँ भनेको बैंकबाट नै लिने हो, निजी क्षेत्रले पनि बैंकबाट नै ऋण लिने हो, सरकारले यति धेरै ऋण लिइसकेपछि निजी क्षेत्र ऋणबाट बञ्चित हुन सक्छ ।’ अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको र लाखौंलाई रोजगारी दिँदै आएको निजी क्षेत्रले बैंकबाट ऋण नपाउँदा अर्को समस्या सिर्जना हुने उनको भनाइ छ । सरकारले आन्तरिक ऋण लिए पनि त्यो पैसा उत्पादनशील क्षेत्रमा प्रयोग नहुँदा समस्या भइरहेको उनको भनाइ छ । सरकारले प्राथमिकताका क्षेत्र नतोकेर बजेट पार्टीमूखी बनाएको आरोप उनको छ । ‘अहिले अर्थतन्त्रको समस्या भनेको जहाँ लगानी गर्नुपर्ने हो त्यहाँ भइरहेको छैन, ठीक ठाउँमा लगानी नभएपछि उत्पादन पनि बढ्दैन र रोजगारी पनि बढ्दैन, अर्थमन्त्रीले त्यो समस्या नबुझेर पार्टी र कार्यकर्तालाई खुसी बनाउने बजेट ल्याउनु भयो,’ महतले भने, ‘अर्थमन्त्रीले ‘बिटरफिल’ गर्न सक्नुपर्छ, कार्यकर्ता खुसी बनाउने कार्यक्रम ल्याउनु भयो ।’ उनले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को तुलनामा बजेटको आकार बढी भएको र जीडीपीको तुलनामा खर्च र राजस्व पनि बढी नै रहेको सुनाउँदै प्रतिफल भने न्यून हुनुको कारण पहिचान गर्नु पर्ने बताए । उनकाअनुसार भारतमा राजस्व र जीडीपीको रेसियो ९.२ प्रतिशत, बंगलादेशमा ८.२ प्रतिशत नेपालमा १७.९ प्रतिशत छ । जीडीपीमा खर्चको अुनपात नेपालमा २६.६ प्रतिशत, बंगलादेशमा १२.६ प्रतिशत र भारतको १५.९ प्रतिशत रहेको उनले सुनाए । अन्य देशको तुलनामा खर्च र राजस्व अनुपात बढी नै भए पनि उत्पादन भने न्यून रहेको धारणा राखे । ‘हामी राजस्व पनि राम्रो उठाइरहेका छौं, जीडीपीको तुलनामा बजेट पनि उनीहरुको भन्दा बढी नै विनियोजन गरिरहेका छौं । तर, प्रतिफल आइरहेको छैन । उनीहरुको हाम्रोभन्दा बढी वृद्धिदर आइरहेको छ, लगानी भइरहेको छ । राजस्व पनि आइरहेको छ तर उत्पादन भइरहेको छैन । यसको कारण के हो ? यो समस्या पहिचानमा सरकार चुकिरहेको छ,’ उनले भने । स्रोतको व्यवस्थापन, स्रोत जुटाउने र कसरी खर्च गर्ने बारेमा बजेट केन्द्रीत हुनु पर्ने धारणा उनको छ । ‘म अर्थमन्त्री हुँदा बजेट निर्माणको चुनौती बुझेको छु, अहिलेको बजेट यो चुनौतीहरु सामना गर्नेतर्फ ध्यान दिएको छैन, सुधारका चरणहरु पेस गरेर छैन । म अर्थमन्त्री हुँदा एउटा रोडम्याप तयार गरेका थियौं । त्यसले निरन्तरता पाउँछ भन्ने ठानेको थिएँ । तर, सुधारको थालनीले निरन्तरता पाएन । बजेटरी प्रणाली, बहुबर्षीय ठेक्का र स्रोत विनियोजनको विषयमा उच्चस्तरीय समितिको आवश्यक थिएन, हिजो थालेको उदाहरणीय कामलाई निरन्तरता नदिनु विडम्बना हो,’ उनले भने ।

बढ्दै डेंगु सङ्क्रमण, यस्ता छन् लक्षण

काठमाडौं । गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगु सङ्क्रमणबाट जोगिन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेंगु सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो । ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । ‘डेंगु बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ’, उनले भनिन्, ‘प्रत्येक वडामा नियमित रुपमा सरसफाइको काम भइरहेको छ ।’ डेंगुबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताए । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनको भनाइ छ । स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् । आवश्यक परे महानगरले डेंगु नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ । ‘बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैनन्’, उनले भने । डेंगुको मुख्य लक्षण डेंगु सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखा पर्दछ । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्नेलगायत लक्षण रहेका स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनले जानकारी दिइन् । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने उनको भनाइ छ । डेंगुबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नेलगायत उपाय अपनाउनुपर्ने कामपाको भनाइ छ । रासस

करोडौँ लगानी हुँदा पनि नयाँ सहर आयोजनाका काम सुस्त

ढोरपाटन । बागलुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम सुरु भएको नौ वर्ष भइसकेको छ । विसं २०७२ मा दश नमूना सहर बनाउने सरकारको योजनाअनुसार आर्थिक वर्ष २०७२/७३ देखि बजेट विनियोजन गरेर काम सुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ सहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको स्थानीय बताउँछन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै पर्ने बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र हो । साँघुरो बजारमा साँघुरै सडक हुँदा पनि नयाँ सहर आयोजनाले सडकलाई व्यवस्थित बनाउन सकेको छैन । योजना सुरु भएदेखि हालसम्म करोडौँ बजेट विनियोजन भएको छ । हरेक वर्ष करोडौँका बजेट यहाँ परे पनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन सकेका छैनन् । पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट विनियोजन नहुँदा समस्या भएको आयोजना कार्यालयले जनाएको छ । बजारलाई पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजनाका लागि करोडौँ बजेट खर्च भए पनि हालसम्म उल्लेख्य विकास नभएको स्थानीयले गुनासो गरेका छन् । नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासी, आवश्यकता अनुसार उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजारलगायत पूर्वाधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयका लेखा प्रमुख विष्णुप्रसाद पौडेलले बताए । सङ्घीय सरकारले हालसम्म उक्त आयोजनाका लागि ६७ करोड ३७ लाख ५४ हजार दुई सय १८ रुपैयाँ लगानी गरेको छ । गत आवमा मात्रै १८ करोड ३३ लाख ८७ हजार १६ रुपैयाँ विनियोजन भएको थियो । चालु आवमा सात करोड ३३ लाख रुपैयाँ विनियोजन भएर काम भइरहेको पौडेलले जानकारी दिए । हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयले जनाएको छ । आवश्यकता अनुसारको बजेट नआउँदा अपेक्षाअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयका लेखा प्रमुख पौडेलले बताए । बजेट रकम घटबढ हुँदा अगाडि बढाइएका योजना सम्पन्न गर्न समस्या भएको उनको भनाइ छ । पौडेलका अनुसार २०७२ सालदेखि हालसम्म १७ किलोमिटर सडक ढलान, ६.२५ किमी नाली निर्माण, एउटा पाँचतले भवन, दुई सय ७२ वटा सौर्य बत्ती जडान र ५६ रोपनी जग्गा खरिद भएको छ । एउटा बसपार्क र पार्क निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । ‘ल्यान्डफिल्ड साइट’, हाट बजार, खेलमैदान, खानेपानी व्यवस्थापनलगायत महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको उनको भनाइ छ । ‘नयाँ सहर आयोजनाको कार्यालय स्थापना भएपछि सरकारले विनियोजन गरेको बजेटअनुसार सानाठूलो काम भइरहेका छन्, जति हुनुपथ्र्यो, बजेट अभावका कारण त्यति हुन नसकेको वास्तविक हो, हरेक वर्ष बजेटको आकार घटेर आउँछ, यसले गर्दा अघिल्लो वर्ष सुरु गरेका योजना सम्पन्न गर्नै गाह्रो हुन्छ, नयाँ आयोजनाका लागि बजेट नपुग्ने समस्याका कारण प्राथमिकताका क्षेत्र पहिचान गरी सोही आधारमा काम गरिरहेका छौँ’, आयोजना कार्यालयका लेखा प्रमुख पौडेलले भने । आयोजनाको कार्यालय स्थापना भएर करोडौँ लगानी हुँदा पनि नागरिकले अनुभूति गर्ने विकास नभएको ढोरपाटन–१ का भीमबहादुर क्षेत्रीले बताए । आयोजनाले बुर्तिबाङ बजारलाई व्यवस्थित बनाउन नसकेको भन्दै सडकहरु साँघुरा हुँदा पैदल यात्रु तथा स्थानीय व्यापारीलाई दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । बजार क्षेत्रका चोक, फुटपाट तथा गल्लीहरु निकै जोखिमयुक्त रहेको भन्दै आयोजनाले बजारमा नयाँपन दिन नसकेको क्षेत्रीले बताउँछन् । सरोकार भएका निकाय तथा स्थानीय सरकारले प्रभावकारी कामका लागि आयोजना प्रमुख तथा अन्य प्रतिनिधिलाई दबाब दिनुपर्ने उनको भनाइ छ । ‘आयोजनाले प्रभावकारीरुपमा काम गनृ सकेको छैन । यहाँका पुरानै साँधुरा सडकमा बस पार्किङ हुन्छन्, साँघुरा सडकमा जोखिम मोलेर यात्रु हिँड्छन्, फोहर व्यवस्थापन हुन सकेको छैन,’ क्षेत्रीले भने, ‘आयोजनाले कोही नपुग्ने कुत्थाप्लामा भवन बनाएको छ । प्रयोगमा कम आउने सडक ढलान गरेको छ । जुन उद्देश्यले आयोजना स्थापना भएको हो, त्योअनुसार काम भएको छैन ।’ रासस

मधेसमा नयाँ सरकारका लागि सात दलको दाबी

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा प्रस्ताव गरिएको छ । नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।

पर्यटक घटे, महिनामै २१ हजार कम

काठमाडौं । सन् २०२४ को मे महिनामा पर्यटक आगमनको संख्या घटेको छ । सन् २०२४ को जनवरीदेखि निरन्तर रूपमा बढेको पर्यटक संख्या मे महिनामा घटेको देखिएको हो । अप्रिल महिनाको तुलनामा यस महिना २१ हजार १ सय ६५ पर्यटकहरू घटेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार मे महिनामा ९० हजार २ सय ११ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को मे महिनामा ७७ हजार ७ सय ३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अघिल्लो वर्षको मे महिनाको तुलनामा यो संख्या १२ हजार ५०८ ले बढी हो । अघिल्लो महिना अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अप्रिल महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आए पनि नेपाल भित्रिने पर्यटकको संख्या भने घटेको हो । सन् २०२४ को मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । यस महिना भारतबाट ३८ हजार २८८ जना भारतीयले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको मे महिनाको तुलनामा ४.७ प्रतिशत धेरै हो । त्यस्तै दोस्रो नम्बरमा अमेरिकाबाट ८ हजार ५ सय २७ जना नेपाल आएका छन् । गत वर्षको सोही महिनाको तुलनामा यो संख्या ०.२ प्रतिशत कम हो । यसैगरी बंगलादेशबाट ३ हजार ४ सय ५८, बेलायताट २ हजार ८०२ र अस्ट्रेलियाबाट २ हजार १९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा सचेतक शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन् । टि २० विश्वकप क्रिकेट खेल्नका लागि लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिएपनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गरे । खेलाडीहरुलाई खेल खेल्न समेत जान नदिने गरी अमेरिकाले लामिछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उनको जिकिर थियो । प्रमुख सचेतक शाहीले भने, ‘यो देशको पहिचान मेटाउन खोजिँदैछ । नेपालको अस्तित्व खतरामा पर्दैछ । आज यस विषयमा सबै सांसदहरुले बोल्नु हुन्छ होला भनेको त सबै मौन । त्यसो भएर यो खेलकुद मन्त्रालय किन राख्ने सभामुख महोदय । जव विश्वकप क्रिकेट खेल्न हाम्रा सन्दीप लामिछानेजस्तो खेलाडीले पाउँदैनन् भने खेलकुद मन्त्रालय राख्नुपर्ने, परराष्ट्र मन्त्रालय राख्नुपर्ने म त आवश्यकता देख्दिन ।’ प्रमुख सचेतक शाहीले वाह्य शक्तिले नेपाल राष्ट्रको पहिचान मेटाउने काम गरिरहेको दाबी समेत गरे ।