काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)को योजनामा ब्रेक लागेको छ । नियामक नेपाल राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि कम्पनीको बाहिरिने योजनामा ब्रेक लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गर्दै आइफआईसीको सेयर खरिद बिक्रीको प्रक्रिया रोकिएको बताएको छ । नबिल बैंकको ६५८औं सञ्चालक समितिको बैठकले नबिल बैंकमा रहेका आईएफआईसी बैंकको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर खरिदबिक्रीको प्रक्रिया स्थगित भएको निर्ण गरेको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ । आईएफआईसीको नाममा रहेको सेयर बिक्री गर्नका लागि नबिलले २०७९ मंसिर १५ गते सूचना जारी गरेको थियो ।
उक्त सेयर खरिद गर्नका लागि नबिल बैंकका ठूला सेयरधनी विनोद चौधरीले लामो समयदेखि मिहिनेत गरिरहेका थिए । तर, नियामक राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि अन्ततः सो सेयर अब आईएफआईसीको नाममै रहनेछ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले सो सेयर खरिदबिक्रीमा राष्ट्र बैंकले केही ‘कन्सर्न’ राखेको धारणा राखे ।
‘यस विषयमा केही कैफियतहरू छन्, करको विषय पनि छ, महालेखा परीक्षक कार्याललले पनि प्रश्न उठाएको छ, हामीले स्वीकृतिका लागि आउने बिक्तिकै अनुमति दिने कुरा हुँदैन, अहिले पनि साथीहरूले यो विषय अध्ययन गरिरहनु भएको छ,’ पौडेलले विकासन्युजसँग भने ।
नेपाल राष्ट्र बैंकले चाहेरै सो सेयर खरिदबिक्रीका लागि अनुमति नदिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था भएन, हामीलाई अझैं पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, राष्ट्र बैंक विदेशी लगानीकर्तालाई गुमाउने अवस्थामा छैन, आईएफआईसीलाई केही विकल्प दिएका थियौं । तर, सो विकल्पमा कुरा अगाडि नबढेपछि अहिलेको सेयर खरिदकर्तालाई सेयर खरिद गर्न दिन नसकिने गरी काम अगाडि बढेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ ।
स्रोतका अनुसार सो सेयर खरिद गर्नका लागि विदेशी खरिदकर्ता नै हुनु पर्ने अडान राष्ट्र बैंकको थियो । तर, आइएफआईसीलले विनोद चौधरीको श्रीमती सारिका चौधरीको नाममा आवेदन दिएपछि राष्ट्र बैंकले अनुमति नदिएको बुझिएको हो ।
समब्धित सामग्री :बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने