विकासन्युज

बजेटप्रति असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा कानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’ संसदमा आजबाट आगामी आर्थिक् वर्षको बजेटमाथि छलफल शुरु भएको छ ।

उत्तर कोरियाबाट फोहोर भरिएका थप ६०० बेलुन दक्षिणतर्फ पठाइयो

सियोल । उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन् । ‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ) ले एक विज्ञप्तिमा बताएको छ । आइतबार बिहान करिब १० बजे सम्म प्रति घण्टा लगभग बीस देखि पचासका दरले लगभग ६०० बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो । बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो । उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ। ‘हाम्रो सेनाले बेलुनको छोडिएका स्थानहरुबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरु सङ्कलन गर्दैछ’, उत्तर कोरियाले मगंलबारदेखि करिब ९०० फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ । रासस

हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा-२ लाई स्थानान्तरण गरेको हो । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका-१२, मोरङबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । बैंकले जेठ २० गतेदेखि यस्तो सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बैंकका अन्य कर्मचारीहरुको उपिस्थति थियो ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने सरकारकाे आदेशलाई सर्वोच्चद्वारा रोक

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कृष्ण विक, आकाश कुमार भट्ट, रवीन्द्र पौडेललगायले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा नियम उल्लंघन गर्नेलाई ट्राफिक व्यवस्थापनमा खटाउने सूचना सार्वजनिक गरेका थिए।

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को उपाधि

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैंकलाई हराउँदै सानिमा रिलायन्स लाइफको महिला क्रिकेट टिमले उक्त उपाधि हासिल गरेको हो । टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफकै स्वस्तीका कार्किले बेस्ट प्लेयर अफ द सिरिज, प्लेयर अफ द फाइनल तथा वेष्ट फिल्डरको अवार्ड समेत जित्न सफल भएकी थिइन् । साथै विभिन्न खेलमा सानिमा रिलायन्स लाईफकै इलिसा थापा, विमला पन्त तथा स्वस्तीका कार्कीले प्लेयर अफ द म्याच अवार्ड जित्न सफल भएका थिए । विजेता टिमको क्यापटेन स्वेता सिंह र टिम म्यानेजर संगिता गिरी रहेका थिए । आयोजक एन इभेन्टस् रहेको उक्त वुमन्स बिच क्रिकेट टुर्नामेन्टको पदकहरु जित्न सफल टिमलाई कम्पनीको तर्फबाट बधाई ज्ञापन गरेको जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले घेरे अर्थ मन्त्रालय, २५ प्रतिशत अनुदान कटौतीको विरोध

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले अर्थ मन्त्रालय घेराउ गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरूले अर्थ मन्त्रालय घेराउ गरेका हुन् । उनीहरूले  २५ प्रतिशत अनुदान कटाैती निर्णय  सच्याउन एक साताको समय दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले ७ दिनभित्र तोकिएको अनुदान पाउनुपर्ने माग सम्बोधन नभए ७५३ स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी दिएका छन् । राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको अर्थ मन्त्रालयकाे भनाइ छ ।

नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाका बारेमा जानकारी दिए । उनले सरकारले नेपालमा लगानी आकर्षित गर्न आयोजना गरेको नेपाल लगानी सम्मेलनको पनि उल्लेख गरे । नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरे । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको उनले राजदूत फेनलाई जानकारी दिए । ढकालले राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरका बारेमा जानकारी गराए । उनले जलविद्युत क्षेत्र, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको बताए । ‘नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्’, उनले भने । भेटवार्ताको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारको बारेमा आफ्नो धारणा राखे । साथै संघका लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसर बारे जानकारी गराएका थिए । भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरे । उनले दोहोरो करमुक्ति सम्झौता बारे पनि चासो राखेका थिए । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गरे । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने जानकारीका लागि उनले राजदूत फेनलाई अनुरोध गरे । सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपालले निर्यातमा ड्युटी फ्री सुविधा गुमाउने, अवस्थीले बताए । त्यसैले विकासोन्मुख राष्ट्र व्यापार योजना नेपालका लागि महत्वपूर्ण हुने उनले बताए ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको स्काइवाक टावरमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौंको स्काइवाक टावरमा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपालसँग काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ ।