मधेसमा नयाँ सरकारका लागि सात दलको दाबी
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, संघीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा प्रस्ताव गरिएको छ । नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।
पर्यटक घटे, महिनामै २१ हजार कम
काठमाडौं । सन् २०२४ को मे महिनामा पर्यटक आगमनको संख्या घटेको छ । सन् २०२४ को जनवरीदेखि निरन्तर रूपमा बढेको पर्यटक संख्या मे महिनामा घटेको देखिएको हो । अप्रिल महिनाको तुलनामा यस महिना २१ हजार १ सय ६५ पर्यटकहरू घटेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार मे महिनामा ९० हजार २ सय ११ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को मे महिनामा ७७ हजार ७ सय ३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अघिल्लो वर्षको मे महिनाको तुलनामा यो संख्या १२ हजार ५०८ ले बढी हो । अघिल्लो महिना अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अप्रिल महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आए पनि नेपाल भित्रिने पर्यटकको संख्या भने घटेको हो । सन् २०२४ को मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । यस महिना भारतबाट ३८ हजार २८८ जना भारतीयले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको मे महिनाको तुलनामा ४.७ प्रतिशत धेरै हो । त्यस्तै दोस्रो नम्बरमा अमेरिकाबाट ८ हजार ५ सय २७ जना नेपाल आएका छन् । गत वर्षको सोही महिनाको तुलनामा यो संख्या ०.२ प्रतिशत कम हो । यसैगरी बंगलादेशबाट ३ हजार ४ सय ५८, बेलायताट २ हजार ८०२ र अस्ट्रेलियाबाट २ हजार १९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा सचेतक शाहीको आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन् । टि २० विश्वकप क्रिकेट खेल्नका लागि लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिएपनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गरे । खेलाडीहरुलाई खेल खेल्न समेत जान नदिने गरी अमेरिकाले लामिछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उनको जिकिर थियो । प्रमुख सचेतक शाहीले भने, ‘यो देशको पहिचान मेटाउन खोजिँदैछ । नेपालको अस्तित्व खतरामा पर्दैछ । आज यस विषयमा सबै सांसदहरुले बोल्नु हुन्छ होला भनेको त सबै मौन । त्यसो भएर यो खेलकुद मन्त्रालय किन राख्ने सभामुख महोदय । जव विश्वकप क्रिकेट खेल्न हाम्रा सन्दीप लामिछानेजस्तो खेलाडीले पाउँदैनन् भने खेलकुद मन्त्रालय राख्नुपर्ने, परराष्ट्र मन्त्रालय राख्नुपर्ने म त आवश्यकता देख्दिन ।’ प्रमुख सचेतक शाहीले वाह्य शक्तिले नेपाल राष्ट्रको पहिचान मेटाउने काम गरिरहेको दाबी समेत गरे ।
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
अत्तरिया । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रूपैयाँ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो । चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड ४९ लाख पाँच हजार चार सय एक रुपैयाँ, घरायसीको दुई करोड २४ लाख ५२ हजार एक सय ६० रुपैयाँ, अन्यको दुई करोड ५३ लाख ५३ हजार ८७ रुपैयाँ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रुपैयाँ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए । उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो । चालु आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालु आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने एक हजार पाँच सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए । ‘हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ’, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, ‘अरूको त रकम आइनै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।’ गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनको भनाइ छ । वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१ रुपैयाँ, घरायसीको पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९ रुपैयाँ, अन्य ग्राहकको बक्यौता रकम एक करोड ४२ लाख २२ हजार तीन सय ६८ रुपैयाँ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार तीन सय ७३ रुपैयाँ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ । रासस
सांसद न्यौपानेको प्रश्न : सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउनसक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने बताइन् । सांसद र मन्त्रीहरुले कस्तो पोशाक लगाएर आउनुपर्ने हो भन्ने रुलिङ हुनुपर्ने जानकारी दिइन् । ‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कतिजना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? नेपालका सांसद र मन्त्रीले कस्तो ड्रेस लगाउँछ ? बाहिरतिर पनि हेरौँ । संसद पस्दा हामीले कस्तो ड्रेस लगाएर पस्नुपर्छ भन्ने सभामुखबाट रुलिङ होस् । सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन् । उनले सर्वसाधारण जनतालाई पोशाकका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
संसदीय छानबिन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्छ : गगन थापा
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्था वचत रकम संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्ने बताएका छन् । सूर्यदर्शन सहकारीलगायतका सहकारीबाट गोर्खा मिडियाले लिएको रकम अपचलन अभियोगमा समितिले गृहमन्त्री लामिछानेलाई पनि बयानमा बोलाएर कारबाहीका लागि सिफारिस गर्नुपर्ने बताएका हुन् । गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जिवी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानुनी कारबाहीको लागि सिफारिस गर्ने महामन्त्री थापाले विश्वास व्यक्त गरे । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सो छानबिन समितिका बसेका सबै सदस्यहरुले त्यसका लागि जिम्मेवार भएर काम गर्ने अपेक्षा समेत आफ्नो पार्टीले गरेको बताए । महामन्त्री थापाले गोर्खा मिडियामा सहकारीबाट आएको सबै रकमको पनि समितिले छानबिन गर्नुपर्ने बताए । महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई उन्मुक्ति दिनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांशमा १.०५५ बराबरको रकम कर प्रयोजनका लागि हुने नेप्सेले बताएको छ । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्न सक्ने छन् ।
बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बागलुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बागलुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बागलुङ झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ । बैंकका अनुसार धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बागलुङ बाइकिङ्ग, -याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिईन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ । त्यस्तै बागलुङको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ ।