गर्मी छल्न बागमती किनारमा (तस्बिरहरू)
विगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ । काठमाडौं उपत्यकाको तापक्रम पनि दिनहुँ बढ्दै गइरहेको छ । अत्यधिक गर्मीबाट जोगिन मानिसहरू शीतल बस्ने ठाउँको खोजी गरिरहेका हुन्छन् । केही समयअघि काठमाडौं र ललितपुरको सिमाना बनेर बगेको बागमती नदी किनारमा मुखै थुनेर हिँड्नुपर्ने बाध्यता थियो । फोहोरका थुप्रा, पानी जमेका सडकका खाल्डा र हिँड्दा पनि असुरक्षित महसुस हुने कोरिडोरको अहिले भने मुहारै फेरिएको छ । पछिल्लो समय बागमती कोरिडोरको सौन्दर्यीकरण गरिएपछि मानिसका बिहान बेलुकी जगिङ र शीतलमा बस्नका लागि उपयुक्त थलो बनेको छ । अहिलेको अत्यधिक गर्मीकाे समयमा त गर्मी छल्ने थलो नै बनेको छ । सोही बागमती कोरिडोरमा केटाकेटी खेल्ने, साथीभाई भेटघाट गर्ने, पारिवारीक समय बिताउने गर्न थालिएकाे छ ।
नेपाली कफी प्रवर्द्धन गर्न ‘कप टेस्टर च्याम्पियनसिप,’ १६ ब्राण्डका कफीको स्वाद लिन पाइने
काठमाडौं । कफी पारखीलाई लक्षित गरेर नेपालमा पहिलोपटक ‘कप टेष्टर च्याम्पियनसिप २०२४’ आयोजना गरिएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको एकदिने कप टेष्टर च्याम्पियनसिपमा कफी पारखीलाई नेपाली कफी चखाउने उद्देश्य राखिएको छ । नेपाली कफीलाई प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा समेत ब्राण्डिङ गर्ने उद्देश्य राखेर द वारिष्ता कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटी कफी र लेकाली कफीले सयुक्तरूपमा एकदिने आयोजना गरेको हो । कार्यक्रम आयोजकमधयेका विनायक मल्लले नेपाली कफीले अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार र मूल्य नपाइरहेका समयमा यसलाई ब्राण्डिङ गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘कफी क्षेत्रमा युवा सहभागिता बढाएर भविष्य सुनिश्चितता गराउन सकिन्छ ।’ नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभइरहेको अवस्थामा यस्ता प्रतिस्पर्धाले थप हौसला प्रदान गर्ने मल्लको भनाइ छ । प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन् । कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्ताहरूदेखि कफी पारखीले सहभागीता जनाएको निमातेन्जीङ शेर्पाले बताए । पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेका बेला यस्ता खालका च्याम्पियनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ । २ वर्षअघि पहिलोपटक यस्तै प्रतिस्पर्धाको आयोजना गरे पनि बिचमा रोकिएको थियो। अब भने हरेक वर्ष यस्ता खाले प्रतिस्पर्धा आयोजना गर्दै जाने शेर्पाले बताए । प्रतिस्पर्धामा जो कोही सहभागी हुन सक्नेछन् । आयोजकले केही समयअघि सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धामा सहभागी हुनका लागि सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए । आवेदन दिएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइन्छ । एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ । तीमध्ये २ वटा एउटै स्वादको र अर्को केही फरक हुन्छ। प्रतिस्पर्धीले ३ मध्ये १ कफ चाखेर फरक छुट्याउनुपर्छ । निर्णायकले त्यो सही हो या हैन भन्ने छुट्याउँछन् । सोही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ । सुरुवाती चरणमा केही सहज हुँदै गए पनि पछि केहि गाह्रो हुने आयोजकको भनाइ छ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रियस्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । कफी क्षेत्रमा लामो समय काम गरेका निमा तेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टिमले सहकार्य गरेर इभेन्ट आयोजना गरेका हुन् । यस प्रतिस्पर्धामा अन्तर्राष्ट्रियस्तरमा हुने प्रतिस्पर्धाको मापदण्ड कायम गरिएको जनाइएको छ । च्याम्पियनसिपमा प्रतिस्पर्धा मात्र हैन त्यहाँ पुग्नेहरूले इच्छा अनुसार छानीछानी विभिन्न ब्राण्डका कफीको स्वाद लिन पाउनेछन् । कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्राण्डका १६ वटा कफीले स्टल राखेका छन् । त्यहाँ कफीको स्वादसहित कफी र त्यसमा लाग्ने मेसिन खरिदको पनि जानकारी दिन पाइनेछ ।
जरबेरा फूलखेतीबाट मासिक १० लाखसम्म आम्दानी गर्दै गुन्डुका किसान
भक्तपुर । गुन्डुमा जरबेरा फूलखेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा कुश कार्कीले सुरु गरेको जरबेरा फूलखेतीले यहाँका किसानलाई खेती गर्न आकर्षित बनाएको छ । ‘कट फ्लावर’का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ । पहेंलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फूल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ । इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट दुई रोपनी जग्गामा वर्षमा १० लाखसम्म आम्दानी दिने किसान कार्की बताउँछन् । दुई रोपनी जग्गामा फूलखेती सुरु गरेका उनले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप दुई रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गरेका छन् । जरबेराका पाँच थरिका फूल फुलिरहेको उनको बारीमा भारतको पुनेबाट प्रतिबिरुवा एक सय १० रुपैयाँमा खरिद गरि तीन हजार पाँच सय बिरुवा लगाएकामा हाल तीन हजार एक सय बोटले फूलको उत्पादन दिइरहेको र चार सय बिरुवा मरेको किसान कार्कीले जानकारी दिए । एक दिन बिराएर एकपटकमा करिब एक हजार आठ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उनले मौसम हेरेर १५ देखि ३० रुपैयाँमा एउटा फूल बिक्री हुने बताए । यो फूलले चार वर्षसम्म उत्पादन दिने र चार वर्षमा एउटा बोटले दुई हजार १ सय ६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उनले दुई रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी हुने बताए । सुरुमा २० लाख रुपैयाँ लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उनले दुई वर्षमा लगानी उठाएर चार वर्षसम्म मुनाफा लिन सकिने र चार वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नु नपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताए । नगरउपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताइन् । उनले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिइन् । नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले विगत ६ वर्षदेखि सूर्यविनायकको गुण्डुलाई फूलखेतीको पकेट क्षेत्रका रूपमा घोषणा गर्दै अनुदान दिन सुरु गरेको बताए । उनले गुण्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको बताए । उनले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताइन् । गुण्डुका किसानलाई नगरपालिकालको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा शुक्रबार अनुदानमा वितरण गरेको सापकोटाले जानकारी दिए । गुण्डुबाट मात्रै एक वर्षमा १० करोड रुपैयाँको फूल बाहिरिने जनाउँदै उनले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताए । नगरपालिकाको कृषि शाखाका प्रमुख शान्तला बुढाथोकीले गुण्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट खड्काले जरबेरा फूलको व्यावसायिक खेती सुरु गरेको बताइन् । प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि ९ लाख ६० हजार रुपैयाँमध्ये ४ लाख ८० हजार रुपैयाँ अनुदान दिएको उनले बताइन् । कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताइन् ।
डुम्रेबजार सडक विस्तार : ७ जनाले घरटहरा नहटाउँदा रोकियो काम
तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा हटाउन आग्रह गरेका छन् । गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाई सडक निर्माण विस्तारमा सहयोग गरिरहेकामा ७ जना घरधनीले पटकपटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूर्णरूपमा नहटाएको जनाइएको छ । सोका कारण सडक निर्माणमा अवरोध भइरहेको जानकारी हुन आएको हुँदा सडक मापदण्डभित्र पर्ने संरचना यथाशीघ्र हटाइ सडक निर्माणमा सहजीकरण गरिदिन उनले आग्रह गरेका छन् । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०ले यही जेठ १३ गते गाउँपालिकालाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएको भनेर पत्र पठाएको थियो । र समन्वय गरिदिन अनुरोध गरेको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ । उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । उक्त सडक निर्माणका लागि मुआब्जा र क्षतिपूर्ति वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घरटहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो । यसैगरी पूर्वी खण्डअन्तर्गत नै दमौली बजारमा संरचना नहटाउँदा काम अगाडि बढेको छैन । सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ । पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएकामा एक सय ५५ दिन म्याद पुनःथप गरिएको छ । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किमी चार लेन र सात दशमलव पाँच किमी दुई लेनमा कालोपत्र सकिएको छ ।
मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ ।’ प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन् । उनी यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए । यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए । गत बुधबार प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए । प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ । भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,’ भनेका थिए । सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ । एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ ।
ठूलाबेँस-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको ठूलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको ३० लाख बजेटबाट ६ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो । ‘दाजुङखोला लघुजल विद्युत आयोजनाको विद्युत गृहबाट मुहानसम्म एक हजार ६ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५ मिटर कुलो निर्माण सकिएको छ’, अध्यक्ष घर्तीले भने, ‘गत वर्ष १० लाख बजेटबाट दुई सय २५ मिटर कुलो निर्माण गरेका थियौँ ।’ उनका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ । कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन् । थप सात सय ९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिए । ‘कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुग्ने समस्या थियो’, उनले भने, ‘पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ ।’ सिँचाइ सुविधा पुगेसँगै बार्है महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताए । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ । दुई वटा योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताए। उनका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुने चरणमा छन् ।
तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रूपमा अगाडि बढाउन लागेको हो । १ हजार १ सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रमअन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रूपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायीक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो । बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु
वासिङ्टन डिसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए । शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए । डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए । चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’हरूको सूचीमा समावेश गरिएको थियो। । ‘सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,’ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए । सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएको एन्डर्सले अन्तरिक्ष यात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाले । उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए ।