डुम्रेबजार सडक विस्तार : ७ जनाले घरटहरा नहटाउँदा रोकियो काम

<p>तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव [&hellip;]</p>

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो ।

वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा हटाउन आग्रह गरेका छन् ।

गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाई सडक निर्माण विस्तारमा सहयोग गरिरहेकामा ७ जना घरधनीले पटकपटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूर्णरूपमा नहटाएको जनाइएको छ ।

सोका कारण सडक निर्माणमा अवरोध भइरहेको जानकारी हुन आएको हुँदा सडक मापदण्डभित्र पर्ने संरचना यथाशीघ्र हटाइ सडक निर्माणमा सहजीकरण गरिदिन उनले आग्रह गरेका छन् ।

मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०ले यही जेठ १३ गते गाउँपालिकालाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएको भनेर पत्र पठाएको थियो । र समन्वय गरिदिन अनुरोध गरेको थियो ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ । उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ ।

उक्त सडक निर्माणका लागि मुआब्जा र क्षतिपूर्ति वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घरटहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो ।

यसैगरी पूर्वी खण्डअन्तर्गत नै दमौली बजारमा संरचना नहटाउँदा काम अगाडि बढेको छैन । सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ ।

पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएकामा एक सय ५५ दिन म्याद पुनःथप गरिएको छ । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किमी चार लेन र सात दशमलव पाँच किमी दुई लेनमा कालोपत्र सकिएको छ ।

Share News