तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रूपमा अगाडि बढाउन लागेको हो । १ हजार १ सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रमअन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए । स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रूपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायीक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो । बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु
वासिङ्टन डिसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए । शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए । डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए । चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’हरूको सूचीमा समावेश गरिएको थियो। । ‘सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,’ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए । सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएको एन्डर्सले अन्तरिक्ष यात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाले । उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए ।
नारायणघाट-बुटवल सडकको दुरवस्थाले घटे लुम्बिनी जाने पर्यटक
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दुरवस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दुरवस्थाका कारण वार्षिक छ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौं आउँदा पनि १३ घण्टा समय लागेको उल्लेख गर्दै उनले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गर्नुपर्ने धारणा राखे । लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरे पनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको गुनासो कोषका पदाधिकारी र कर्मचारीले सुन्नुपरेको सदस्य सचिव शाक्यको भनाइ छ । सडकको काम चाँडो सकिए लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या बढ्ने उनले बताए ।
४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन तयार, बन्यो ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार
काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारनै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत व्यापार थप विस्तार हुने छ । आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौंडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडाहरुमा स्थानीयहरूको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालका मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत आयोजनावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौडा– ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौंडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत प्रवाहका लागि सहजता प्रदान गर्ने छ ।’ हेटौंडा सवस्टेसनलाई आवश्कता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।
श्रीलंकाको वायु ऊर्जा उत्पादनमा १ अर्ब डलर लगानी गर्दै अडानी ग्रुप
काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी ग्रुपले श्रीलंकामा वायु ऊर्जासम्बन्धी परियोजनाहरूमा १ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । यो श्रीलंकाको सबैभन्दा ठूलो वैदेशिक लगानी हुनेछ । साथै, यो देशको सबैभन्दा ठूलो विद्युत् परियोजना पनि हो । अडानी ग्रुपले श्रीलंकासँग मन्नार र पुनरिन गाउँमा दुईवटा वायु ऊर्जा फार्म स्थापना गर्न सम्झौता गरेको छ । ४ सय ८४ मेगावाट कुल क्षमताका लागि ७४ करोड डलर लगानी गरिने छ। श्रीलंका सरकारले यसअघि सम्झौता अनुसार कम्पनीलाई प्रतिकिलोवाट घण्टा ८.२६ सेन्ट तिर्ने बताएको थियो । अडानी ग्रुप कोलम्बोमा ७० करोड डलर लगानीको श्रीलंकाको सबैभन्दा ठूलो बन्दरगाहको टर्मिनल परियोजना निर्माणमा पनि संलग्न छ । सन् २०२२ मा आर्थिक संकटका बेला तीव्र ऊर्जा संकट र इन्धन अभावको सामना गरिरहेको श्रीलंकाले अहिले आयातित इन्धनको महँगीबाट बच्न नवीकरणीय ऊर्जा आयोजनाहरू तीव्र गतिमा सम्पन्न गर्ने प्रयास गरिरहेको छ । तसर्थ, श्रीलंकाको ऊर्जा आवश्यकताहरू पूरा गर्न यो परियोजना धेरै विशेष छ । एजेन्सी
चिडियाखानाको जग्गा अतिक्रमणमा
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ । चिडियाखानाको घेरबार गर्ने काम आधा सकिएको छ । करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार उक्त प्राकृतिक चिडियाखानाको जग्गा अतिक्रमणमा परेको छ । केही स्थानीयले जग्गा अतिक्रमण गरेको उनले बताए । ‘यसबाट चिडियाखानाको घेरबार गर्ने काम प्रभावित भएको छ,’ उनले भने, ‘सरोकारवाला निकायसँग समन्वय गरेर काम अघि बढाउने योजना बनाएका छौँ ।’ चिडियाखाना १ अर्ब सात करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । विसं २०७९ असोजदेखि चिडियाखाना निर्माण थालिएको हो । चिडियाखाना ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले प्रस्तावित चिडियाखानाको अतिक्रमित जग्गा रेखांकन गरी हटाउने प्रक्रिया अघि बढाइने बताए । शुक्रबार बसेको सर्वपक्षीय बैठकले चिडियाखाना रहेको जग्गा अतिक्रमण हटाउन सूचना जारी गरिएको छ । ‘चिडियाखानाको सीमांकन गर्न सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध गरिएको छ ।’ चिडियाखाना निर्माण गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।
भद्रपुरका किसानलाई विद्युत महसुलमा अनुदान
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत् महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत् मिटर भएका करिब १ हजार ७ सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताए । ‘स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको दिगो प्रयोग अभ्यासलाई प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य छ,’ उनले भने । कृषि विकास अधिकृत सुमन विमलीका अनुसार किसानले कृषिजन्य बाली उत्पादन गर्दा हुन आउने विद्युत महसुलको आधा रकम भुक्तानी गर्ने गरिएको छ । उनले योग्य किसानलाई लक्षित गरी अनुदान वितरण गरिरहेको बताए । राज्यले चिया खेतीलाई उद्योगअन्तर्गत राखेकामा किसानले गुनासो गर्ने गरेको कृषि विकास अधिकृत विमलीले बताए । चिया खेतीलाई कृषितर्फ राखे किसानले थप राहत महसुस गर्ने उनको भनाइ छ ।
नाट्टा अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका नवनिर्वाचित अध्यक्ष थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका थिए । नाट्टाको ५७औं वार्षिक साधारणसभा एवं निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा युविका भण्डारी विजयी भएकी छन् । सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौड्यालले जानकारी दिए । यस्तै सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी भएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष थपलियाले सरकारको आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न आफूले पहल गर्ने बताए । उनले हवाई क्षेत्रमा भ्याट लगाउँदा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसक्ने उल्लेख यसलाई खारेज गर्न सरकारसँग माग गरे । अध्यक्ष थपलियाले भैरहवा र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।