काठमाडौं । कफी पारखीलाई लक्षित गरेर नेपालमा पहिलोपटक ‘कप टेष्टर च्याम्पियनसिप २०२४’ आयोजना गरिएको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको एकदिने कप टेष्टर च्याम्पियनसिपमा कफी पारखीलाई नेपाली कफी चखाउने उद्देश्य राखिएको छ ।
नेपाली कफीलाई प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा समेत ब्राण्डिङ गर्ने उद्देश्य राखेर द वारिष्ता कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटी कफी र लेकाली कफीले सयुक्तरूपमा एकदिने आयोजना गरेको हो ।
कार्यक्रम आयोजकमधयेका विनायक मल्लले नेपाली कफीले अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार र मूल्य नपाइरहेका समयमा यसलाई ब्राण्डिङ गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘कफी क्षेत्रमा युवा सहभागिता बढाएर भविष्य सुनिश्चितता गराउन सकिन्छ ।’
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभइरहेको अवस्थामा यस्ता प्रतिस्पर्धाले थप हौसला प्रदान गर्ने मल्लको भनाइ छ ।
प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन् । कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्ताहरूदेखि कफी पारखीले सहभागीता जनाएको निमातेन्जीङ शेर्पाले बताए । पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेका बेला यस्ता खालका च्याम्पियनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ ।
२ वर्षअघि पहिलोपटक यस्तै प्रतिस्पर्धाको आयोजना गरे पनि बिचमा रोकिएको थियो। अब भने हरेक वर्ष यस्ता खाले प्रतिस्पर्धा आयोजना गर्दै जाने शेर्पाले बताए ।
प्रतिस्पर्धामा जो कोही सहभागी हुन सक्नेछन् । आयोजकले केही समयअघि सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धामा सहभागी हुनका लागि सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए ।
आवेदन दिएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइन्छ । एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ । तीमध्ये २ वटा एउटै स्वादको र अर्को केही फरक हुन्छ।
प्रतिस्पर्धीले ३ मध्ये १ कफ चाखेर फरक छुट्याउनुपर्छ । निर्णायकले त्यो सही हो या हैन भन्ने छुट्याउँछन् । सोही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ । सुरुवाती चरणमा केही सहज हुँदै गए पनि पछि केहि गाह्रो हुने आयोजकको भनाइ छ ।
प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रियस्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।
कफी क्षेत्रमा लामो समय काम गरेका निमा तेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टिमले सहकार्य गरेर इभेन्ट आयोजना गरेका हुन् । यस प्रतिस्पर्धामा अन्तर्राष्ट्रियस्तरमा हुने प्रतिस्पर्धाको मापदण्ड कायम गरिएको जनाइएको छ ।
च्याम्पियनसिपमा प्रतिस्पर्धा मात्र हैन त्यहाँ पुग्नेहरूले इच्छा अनुसार छानीछानी विभिन्न ब्राण्डका कफीको स्वाद लिन पाउनेछन् । कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्राण्डका १६ वटा कफीले स्टल राखेका छन् ।
त्यहाँ कफीको स्वादसहित कफी र त्यसमा लाग्ने मेसिन खरिदको पनि जानकारी दिन पाइनेछ ।