१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा बैशाखसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।
विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)
काठमाडौं । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको छ । त्रिभुवन विमानस्थल संकटकालीन योजना अन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दार सम्बद्ध विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यासमा सोमबार त्रिभुवन विमानस्थल परिसरमा विमान आगलागी पश्चात् नमूना उद्धार अभ्यास गरिएको हो । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको छ । यो अभ्यासका क्रममा विमानस्थल वारपारका आकाशमा काला धुवाका साथ दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्र बनेका छन् । तस्बिर : सौगात पुडासैनी
सुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड
काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ । जीहोको एई६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई८ मोडल हाल उपलब्ध रहेको कम्पनीले बताएको छ । यस क्याम्पमा भने कम्पनीले एई६ प्लस र एई६ प्लस एलआरलाई लक्ष्यित गर्दै आकर्षक अफर ल्याएको जनाएको छ । क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ‘दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरका साथ उपलब्ध छन् । जीहो एई६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ’, कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ, ‘यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको छ । एई६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज १६० किलोमिटर रहेको छ ।’ कम्पनीका अनुसार यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटर भन्दा फरक रहेको जानकारी कम्पनीले दिएको छ । यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, ६ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन् । जीहोका यी मोडलहरुमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी दिइएको कम्पनीले बताएको छ ।
नेप्सेमा हरियाली, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा
काठमाडौं । आज साताको दोस्रो काराेबार दिन सेयर बजार परिसूचक नेप्से ०.४२ प्रतिशतले बढेको छ । साेमबार नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३१४ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज १७९ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ९ को स्थिर रह्यो । आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूहको सेयर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो । त्यस्तै हिजो सबैभन्दा धेरै बढेको होटल तथा पर्यटन समूह आज ०.९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै म्युचअल फण्ड ३.७४ प्रतिशतले घटेको छ । सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सेञ्चुरी बैंक ऋण प्रकरण : तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
काठमाडौं । प्रहरीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई काठमाडाैंकाे विभिन्न ठाउँबाट पक्राउ गरेकाे हाे । सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । यसअघि साेही प्रकरणमा मनाेज न्याैपाने र तुलसी गाैतमसहित १० जना बैंकर पक्राउ भएका थिए । यसअघि गौतम र न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए । बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेञ्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपान र तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गाैतमसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । पछि उनीहरु हाजिरी जमानीमा छुटेका थिए। सो विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ । अहिले सीआईबीले सञ्चालकलाई पक्राउ गरेको हो । सम्बन्धित सामग्री : निर्णयकर्तालाई उन्मुक्ति, फाइल बोक्ने हातमा हतकडी
दुई देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनहरुलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ग्लोबल आइएमई बैंकमा आवद्ध हुनेलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजार छुट
काठमाडौं । गुरु ट्राभल्स लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडबीच व्यवसायिक सहकार्य भएको छ । ट्राभल कम्पनी, गुरू ट्राभल्स तथा ग्लोबलआइएमई बैंकबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेल तथा गुरू ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र सोमबार आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । सहमतिपत्रमा उल्लेख भए बमोजिम ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा ५ सय बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । कार्यक्रममा ग्लोबल आइएमई बैंकको नक्साल शाखा प्रबन्धक पवन कुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । गुरू ट्राभल्सका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत उनलेले व्यक्त गरे ।
सीजी फुड्सले क्रिकेट संघलाई ६० लाख सहयोग गर्ने
काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो । नेपालले २०२७ को आइसिसि यु १९ विश्वकप क्रिकेट बंगलादेशसँग मिलेर आयोजना गर्दैछ । सोही विश्वकपलाई मध्यनजर गरी सीजी फुड्स नेपाल लिमिटेडले नेपाली क्रिकेटको उत्थानका लागि सहयोग गर्न लागेको लिमिटेडले जनाएको छ । पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषण गरेको छ । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । साथै लिमिटेडले वाइवाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य र नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेज’ ल्याएको पनि आयोजकले जनाएको छ । वाइ वाइको यस विशेष प्याकेजले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन मिल्ने बताएको छ ।