विकासन्युज

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए । रोजगारी प्रवर्द्धनका रूपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे । मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रूपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे । कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताइन् । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् । नगरप्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गरे । सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ थियो । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र यहाँको रोजगारीको अवस्था बुझ्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकको भनाइ थियो । कैलालीको धनगढीमा आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा हालसम्म ३७ निजी क्षेत्रका परामर्श कक्ष रहेका छन् । मेलामा रोजगारी सिर्जनाका लागि दुई हजार ६ सय ६४ जनाको माग रहेको छ भने हालसम्म करिब पाँच हजार व्यक्तिको निवेदन परेको आयोजकले बताएको छ । मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकका रुपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् । मेलामा वभिन्न कार्यशाला सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशाला सञ्चालन हुनेछन् ।

कर्णालीको पुलमा अड्किएका खच्चडको उद्धार

अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । ‘पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो’, उनले भने–’बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।’ पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।

सेयर बजार सामान्य घट्यो, कारोबार ५ अर्बमाथि

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.५९ अंक घटेको छ । नेप्से घटेसँगै नेप्से २०७३.१९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम भने बढेको छ । आज ३१३ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज ९७ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने ३ को स्थिर रह्यो । आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९२ प्रतिशत अर्थात् १५५ अंकले बढेको छ । त्यस्तै व्यापार समूह सबैभन्दा धेरै १.५४ प्रतिशत अर्थात् ४७ अंकले घटेको छ । इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावरको ९.२, सयपत्री हाइड्रोपावरको ८.९, जानाकी फाइनान्सको ८.२ प्रतिशत मूल्य बढेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, सिटी होटल, पोखरा फाइनान्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी अगाडि रहेका छन् ।

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका उप-अनुसन्धान निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको अभियोगमा हेमन्त चौधरीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीमाथि नक्कली प्रमाणपत्रधारीको आरोपमा कारबाहीको माग राखेर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको बताउँदै चौधरीलाई कैद र जरिवाना सजायको माग गरिएको छ । अख्तियारले गरेको अनुसन्धानमा चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलेको छ। चौधरीले सेवा प्रवेशका साथै बढुवाका लागिसमेत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ।

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आईतबार काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् । डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरु समेत रहेका छन् । यो नेपालमा नै पहिलो पटक ग्लोबल आइएमई बैंकले सुरुवात गरेको हो । ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो सुरुवात भएको बताए । डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रुपमा विकास गर्न खोजेको बताए । डिजिटल युनिभर्समा बैंकका सबै डिडिटल कारोबारलाई डिजिटल लाउन्जको रुपमा सुरुवात गरिएको जानकारी दिए । डिजिटल युनिभर्समा एटिएस, क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको जानकारी दिए । बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा मानिएको छ । डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्राको सुरुवात भएको उनको भनाई छ । आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकुल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नेछ ।

किन दुई दिनपछि धकेलियो प्रतिनिधि सभा बैठक ?

काठमाडौं । संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको बताएको छ । आइतबार बिहान ११ बजेगरी बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरेर जेठ २९ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजित रकमको सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको थियो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सम्बन्धित मन्त्रालयले विनियोजित रकम उल्लेखित पुस्तक मन्त्रालयहरुले सचिवालयमा उपलब्ध गराउन नसकेका कारण बैठक स्थगित गर्नुपरेको बताए । उनले केही मन्त्रालयहरुले ढिलोगरी पुस्तक उपलब्ध गराएका र केही मन्त्रालयहरुको पुस्तक पाउनै बाँकी रहेको बताए । सांसदहरुले खर्च कटौतीको प्रश्ताव राख्नका लागि पनि पुस्तक अध्ययन गर्नैपर्ने भएकाले पनि अध्ययन गर्ने समय दिन बैठक दुई दिनलाई पछि सारिएको उनको भनाई छ । ‘विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुका लागि जुन विनियोजित रकम छ, त्यसलाई शिर्षकगत छलफल पनि भनिन्छ, त्यो कार्यसूचिमा समावेश थियो । आजको कार्यसूचिमा ४ वटा मन्त्रालयको विनियोजनमाथि छलफल थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय र शहरी विकास मन्त्रालयको प्राप्त भइसकेको छ’, उनले भने । प्रवक्ता गिरीले हालसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय र शहरी विकास मन्त्रालयको मात्रै पुस्तक प्राप्त भएको जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई दियो एम्बुलेन्स र शव वाहन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने उनले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उनले चर्चा गरे । प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गरे । नेपाल प्रहरीमा स्रोत र साधनको कमि ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने विचार व्यक्त गरे । कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्वाचस उनले व्यक्त गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल-भारत सम्बन्धले विकासमा नयाँ युगको सुरुवात हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल-भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल-भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए । दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे । सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताए । समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको जानकारी दिए । सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताए । नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तिर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोवल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिवद्ध रहेको जानकारी दिए ।