डिपल एस०७ को नयाँ मूल्य ७४ लाख ९९ हजार, आइतबारदेखि बुकिङ खुला
काठमाडौं । नेपालका लागि चांगान र डिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ को ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरेको छ । इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लु वृद्धिअटोकर्पले डिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो । कम्पनीका अनुसार दुई महिनाअघि नेपालमा सार्वजनिक भएको डिपल एस०७ले छोटो समयमै नेपाली बजारबाट सुखद प्रतिक्रिया पाएको छ । यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक फिचरमार्फत दिपल एस०७ ले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ । बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित भएको बताएको छ । नेपाल बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन कम्पनी प्रतिबद्ध छ । चांगान नेपालले नयाँ डिपल एस०७ असारको अन्तसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको बताएको छ । ‘इटालीको टुरिनमा डिजाइन भएको डिपल एस०७ मा वेलकमिंग सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनी स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचर रहेका छन्’, कम्पनीले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले डिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाउँछ । यसबाहेक ड्राइभिंगलाई नयाँ उचाइमा पुर्याउन यसमा रियर ह्विल ड्राइभ रहेको छ ।’ दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने कम्पनीको भनाई छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङका अध्यक्ष सीबी लामा कारागार चलान
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार पठाइएका छन् । जिल्ला अदालत काठमाडौंले कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ । लामालाई १८ जेठमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले चितवनबाट पक्राउ गरेको थियो । लामाले कान्तिपुर सेभिङमा ८५२ जना सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ।
रिकन्डिसन अटो व्यवसायी संघको नेतृत्वमा कोइरालाको निरन्तरता, चिमोरिया प्यानलै पराजित
काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ । जेठ २६ गते शनिबार काठमाडौंमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुनअध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचनमा कोइरालाको प्यानल पुरै बिजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो । घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह-कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् । निर्वाचित कार्यसमिति सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन् । निर्वाचन अघि सम्पन्न उद्घाटन सत्रको शुभारम्भ बागमती प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकार अटो व्यवसायीका समस्याहरू हाल गर्न र व्यावसायिक वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । उनले संघसँग नेपालको यातायात क्षेत्र र अटो व्यवसायको सेवालाई थप प्रभावकारी पार्न सहकार्य गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए । देशभरका १४५ रिकन्डिसन अटो व्यवसायीहरू आबद्ध रहेको सो संस्थाको अधिवेशन उद्घाटन सत्रमा अटो व्यवसायी तथा अधिवक्ता रुद्र प्रसाद ढुङ्गेलद्वारा लिखित पुस्तक ‘सवारी तथा यातायात कानुन’ समेत लोकार्पण गरिएको थियो । लेखक तथा अधिवक्ता ढुङ्गेल हिजो सम्पन्न अधिवेशनमा निर्वाचन समिति प्रमुखको भूमिकामा समेत रहेका थिए । मन्त्री लम्सालले सो पुस्तकले यातायात क्षेत्रमा विद्यमान कानुनबारे आम नागरिकलाई सु-सूचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्ने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए । उनको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज साँझ शपथ लिने कार्यक्रम छ । सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
सवा अर्ब लगानीमा ग्राण्ड सेन्ट्रल होटल सञ्चालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ
काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)को एकल लगानीमा सञ्चालनमा आउन लागेको उक्त होटलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालिनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ । विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यताप्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिईएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । यस्तै कम्पनीलाई दिईएको उक्त रेटिङ कम्पनीका लगानीकर्ताहरुको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिईएको प्राथमिकतालगायतलाई पनि आधारमा लिएर दिईएको बताईएको छ । उक्त होटललाई एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले एकल लगानीमा निर्माण गर्दै आएका छन् । उनको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आईरहेको छ । उक्त होटलले प्रतिष्ठित विदेशी चेन होटल विंडहामसँगको सहकार्यमा रमाडा ब्राण्डलाई भित्र्याएको छ । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु सञ्चालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले उक्त रेटिङ पाएको बताईएको छ । इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटलले यसअघि नै विन्डहाम होटल्स एण्ड रिसोर्टसँग इटहरीमा ‘विंडहाम होटल बाइ रमाडा’ सञ्चालनका लागि फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । उक्त सम्झौतापत्रमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केटिङ प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका हुन् । यस्तै होटलको कुल लगानी १ अर्ब ७ करोडमा निर्माण भइरहेको सो होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६ को सुरुवातमै पूर्ण सञ्चालनमा आईसक्ने बताईएको छ । अर्थात होटलको वित्तीय र भौतिक प्रगतिसँगै आगामी योजना हेरेरै इन्फोमेरिक्सले होटललाई उक्त रेटिङ दिएको बताईएको छ । यस्तै होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकहरुलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भईरहेकाले पनि होटललाई उक्त रेटिङ दिईएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।
भारतको जीडीपी ७.२ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सन् २०२४/२५ मा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) वृद्धदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ग्रामीण क्षेत्रहरूमा बढ्दो खपत र मागको पुनरुत्थानलाई उद्धृत गर्दै आरबीआईले जीडीपी वृद्धिदर ७ प्रतिशतबाट बढेर ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । आरबीआईले देशको कुल गार्हस्थ्य उत्पादन अनुमानमा वृद्धि गरेको यो लगातार चौथो पटक हो । अर्थतन्त्रको मोर्चामा निरन्तर राम्रो तथ्यांक र मुद्रास्फीति नियन्त्रणमा रहेको कारण विश्वभरिका धेरै रेटिङ एजेन्सीहरूले चालू आर्थिक वर्षमा भारतको वृद्धिदर पनि बढाएको जनाइएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले जीडीपी पहिलो त्रैमासमा ७.३ प्रतिशत, दोस्रोमा ७.२ प्रतिशत, तेस्रोमा ७.३ प्रतिशत तथा अन्तिम त्रैमासमा ७.२ प्रतिशत हुने अनुमान गरेका थिए । एजेन्सी
बैंकका ठूला ऋणीलाई राज्यले वेवास्ता गर्यो : निर्माण व्यवसायी
काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारको पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएको बताएका छन् । शनिबार निर्माण व्यवसायी महासंघ अन्तरर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै निर्माण व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले विगत लामो समयदेखि शिथिल बनेको निर्माण उद्योगलाई चलायमान बनाउने गरी बजेट आउन सकेको बताए । निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी गर्नुपर्ने अबौं रकम समेत अहिलेसम्म नपाएको भन्दै व्यवसायीहरुले नयाँ आयोजनाहरुमा टेण्डर गर्ने अवस्था नभएको बताए । व्यवसायीहरुले सरकारले निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएकाले व्यवसायीमा थप निरासा थपिएको बताए । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको परिवेशमा सरकारले चाहेर पनि गर्न नसक्ने कुराहरु धेरै भएपनि निर्माण व्यवसायीहरुको लागि गर्नसक्ने काम पनि नगरेको गुनासो गरे । उनले अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको उल्लेख गरे । शिथिल अवस्थामा पुगेर ठूलो समस्यामा रहेका निर्माण व्यवसायीहरुसँग छलफल समेत नगरी बजेट ल्याएको जानकारी दिए । उनले अघिल्लो र वर्तमान अर्थ मन्त्रालयको नेतृत्वले निर्माण व्यवसायीलाई विभेद गरेको आरोप लगाए । पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने संस्था, मुलुकमा वार्षिक ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगलाई उपेक्षा गरिनु राम्रो नभएको बताए । निर्माण व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट करिव ३४२ अर्ब रुपैयाँमा कर्जा चलाउने उद्योगलाई वेवास्ता गरिनुले राज्यलाई बेफाइदा रहेको जानकारी दिए । उनले ५८५ अर्बको विना स्रोतका आयोजनाहरु सम्बोधन नगरी बजेट ल्याउनु हुँदैन भन्ने व्यवसायीको माग सम्बोधन नगरेको बताए । त्यस्ता आयोजनामा सरकारले व्यवस्था गरेको १५ अर्बको बजेट निर्माण व्यवसायीले गरीसकेको कामको पनि भुक्तानी दिन प्राप्त नहुने अवस्था रहेको उल्लेख गरे । रणनीतिक सडक र पुलहरुमा सरकारले प्राप्त बजेट नराखेको जानकारी दिए । बजेटमा सरकारले विगतको भन्दा भौतिक पूर्वाधार र सहरी मन्त्रालयमा १९ प्रतिशत बढी बजेट राख्दा पनि उत्साहित हुने अवस्था नभएको भन्दै त्यो बजेट खर्च गर्नको लागि नराखिएको दाबी गरे । ‘पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने संस्था, मुलुकमा वार्षिक ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याउनु भयो । निर्माण व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट करिव ३४२ अर्ब रुपैयाँमा कर्जा चलाउने उद्योगलाई वेवास्ता गरेको छ । हामीले ५८५ अर्बको बिना स्रोतका आयोजनाहरु ल्याएको छ । ती आयोजनाहरुलाई सम्बोधन नगरी बजेट ल्याउनु हुँदैन भन्दै गर्दा ती कुराको सम्बोधन सरकारले गरेन । सरकारले व्यवस्था गरेको १५ अर्बको बजेट निर्माण व्यवसायीले गरीसकेको कामको पनि भुक्तानी दिन प्राप्त हुँदैन’, उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले सरकारले निर्माण व्यवसायीले विगतमा पाउँदै गरेको करमा छुट सुविधा समेत कटौती गरिएको भन्दै असन्तुष्टि जनाए । उनले सरकारले समयमा निर्माण सम्पन्न हुँदा पनि भुक्तानी समयमा नदिएको कारण समयमा कर तिर्न नसकेको बताए । निर्माण व्यवसायीहरुलाई भ्याटमा ठूलो चक्रवादी ब्याज अरु केहीमा नभएको बताए । पूर्वअध्यक्ष शर्माले गत वर्षसम्म सरकारले ५० देखि शतप्रतिशतसम्म मिनाहा दिएको तर अहिले त्यो पनि खारेज गर्दा ५ लाख भ्याट बाँकी भएका निर्माण व्यवसायीहरुले २५ लाख तिर्नुपर्ने अवस्था आएको जानकारी दिए ।
विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, ९० देशका ३०० बढी प्रतिनिधिको जमघट काठमाडौंमा
फाइल फोटो । काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) २१ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आइडीएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडिए-१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो । उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समाप नसत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् । विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन् । यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए । सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडिएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए । उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ । बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ । गत वैशामा सम्पन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए । त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडीए बैठकबारे कुराकानी गरेका थिए । हरेक तीन वर्षमा हुने आइडीएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो । विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ