किन दुई दिनपछि धकेलियो प्रतिनिधि सभा बैठक ?

<p>काठमाडौं । संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको बताएको छ । आइतबार बिहान ११ बजेगरी बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरेर जेठ २९ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजित रकमको [&hellip;]</p>

काठमाडौं । संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको बताएको छ ।

आइतबार बिहान ११ बजेगरी बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरेर जेठ २९ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजित रकमको सम्बन्धमा छलफल गर्ने कार्यसूचि रहेको थियो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सम्बन्धित मन्त्रालयले विनियोजित रकम उल्लेखित पुस्तक मन्त्रालयहरुले सचिवालयमा उपलब्ध गराउन नसकेका कारण बैठक स्थगित गर्नुपरेको बताए ।

उनले केही मन्त्रालयहरुले ढिलोगरी पुस्तक उपलब्ध गराएका र केही मन्त्रालयहरुको पुस्तक पाउनै बाँकी रहेको बताए । सांसदहरुले खर्च कटौतीको प्रश्ताव राख्नका लागि पनि पुस्तक अध्ययन गर्नैपर्ने भएकाले पनि अध्ययन गर्ने समय दिन बैठक दुई दिनलाई पछि सारिएको उनको भनाई छ ।

‘विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुका लागि जुन विनियोजित रकम छ, त्यसलाई शिर्षकगत छलफल पनि भनिन्छ, त्यो कार्यसूचिमा समावेश थियो । आजको कार्यसूचिमा ४ वटा मन्त्रालयको विनियोजनमाथि छलफल थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय र शहरी विकास मन्त्रालयको प्राप्त भइसकेको छ’, उनले भने ।

प्रवक्ता गिरीले हालसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, रक्षा मन्त्रालय र शहरी विकास मन्त्रालयको मात्रै पुस्तक प्राप्त भएको जानकारी दिए ।

Share News