काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको अभियोगमा हेमन्त चौधरीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
उप–अनुसन्धान निर्देशक पदमा कार्यरत चौधरीमाथि नक्कली प्रमाणपत्रधारीको आरोपमा कारबाहीको माग राखेर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको बताउँदै चौधरीलाई कैद र जरिवाना सजायको माग गरिएको छ ।
अख्तियारले गरेको अनुसन्धानमा चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुलेको छ।
चौधरीले सेवा प्रवेशका साथै बढुवाका लागिसमेत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ।