विकासन्युज

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा

काठमाडौं । कालीकोटको मान्मामा प्रभु बैंकको ३०५ औं शाखा सञ्चालनमा आएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं.०१ मा स्थित मान्मामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

मनकामना केबलकार ५० दिन बन्द हुने

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘ एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए । स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताए । मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरु चुकेको बताए । उर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसावले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हाँसिल गर्न नसकिने बताए । ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताए । बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको जानकारी दिए । ‘बजेट कुन प्रकारले बन्यो, अहिले पूरै हाउस बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो, अर्थमन्त्रीजीले, मन्त्रीजीहरुले जनताका प्रतिनिधिहरुलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुशी पार्न सूचिहरु माग्नुभयो, उभ्याउनु भयो । हामीले यहाँ जति छलफल गरेपनि संशोधन हुँदैन, परिवर्तन हुँदैन भन्नेकुरा सबैलाई थाहा छ’, उनले भने । उनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए । विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा उर्जाको उत्पादन गर्न आवश्यक रहेको जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषले तिलगंगाका घरटहरा हटाउने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने भएको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिए पनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले आइतबार १५ दिने सूचना जारी गरेको हो । काठमाडौं महानगरपालिका-८ तिलगंगा (बी १३) आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना भत्काई लैजान कोषले १५ दिने सूचना निकालेको हो । तोकिएको अवधिभित्र ती संरचना नहटाए कानुनअनुसार कोष आफैंले हटाई खाली गराउने सूचनामा उल्लेख छ । पशुपति क्षेत्र विकास कोषको स्वीकृत गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले जनाएको छ । अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले पुनः १५ दिने सूचना निकालेको हो ।

अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाए : डा. अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरुको इन्ट्रेस्टमा बनाएको उनको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै सरकारले बजेट विनियोजन गरेको जिकिर पनि गरे । उनले बजेट जसरी विनियोजन गरेपनि मन्त्रीहरुलाई कानून नलाग्ने छुट संविधानले नै दिएको दाबी समेत गरे । सांसद सिंहले भने, ‘नियम, कानून मन्त्रीलाई लाग्दैन । यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ । यो २७५ जनाको यो बजट बन्छ बन्नु दिवास्वप्न हो । किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामी जस्ता निर्धा सांसदलाई उहाँहरुले देख्नु हुन्न ।’ सांसद सिंहले अर्थमन्त्री पुनले बजेट विनियोजनको क्रममा निर्धा सांसदहरुलाई बेवास्ता गरेको गुनासो पनि गरे ।

श्रीमान-श्रीमती मिलेर सहकारीको पौने ३ अर्ब ठगी, काँग्रेसको आडमा फरार अध्यक्ष पक्राउ

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापासहित चार जना सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेकाे हाे । पक्राउ पर्नेमा अध्यक्ष थापा सहित सन्जना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । राजकर्णिकार थापाकी श्रीमति हुन् । कृषि विकास बहुउद्देश्यीय सहकारीले बचकर्ताको २ अर्ब ८२ करोड २७ लाख रुपैयाँ बढी बचत अपचलन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जानकारी दिएको छ । सरकारले २०८० माघमा समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीका २ हजार ५३१ जनाले बचत फिर्ताका लागि उजुरी दिएका छन् । काँग्रेस पार्टीका नेता समेत रहेका थापाले राजनीतिक शक्तिका कारण बचतकर्ताको बचत फिर्ता गर्न आनकानी गरेको आरोप बचतकर्ताको छ । सहकारीमा लामो समयदेखि समस्या भएपनि उनले बचतकर्ताको बचत फिर्ता गर्न सकेका थिएनन् । बचतकर्ताका अनुसार सहकारीले पछिल्लो समय ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको थिएन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पनि सहकारीलाई समस्याग्रस्त घोषणा गरेपनि अहिलेसम्म बचत फिर्ताका लागि कुनै पहल अगाडि बढाउन सकेको छैन । अन्ततः प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले आफ्नो श्रीमती सन्जना राजकर्णिकारलाई व्यवस्थापक बनाएर नियतवस सहकारीका बचतकर्ताको बचत ठगेको आरोप बचतकर्ताको छ । उनीविरुद्द पनि प्रहरीमा उजुरी परेको छ । सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि यस सहकारीको नाम उल्लेख गरिएको छ । अर्बौंको सम्पत्ति बिक्री गरेर सञ्चालक फरार भएपछि समस्याग्रस्त घोषणा, मिलेभगतमा सरकार

तलब वृद्धिको माग गर्दै संसद्का कार्मचारी धर्नामा

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीले तलब वृद्धिको माग गर्दै धर्ना दिएका छन् । आइतबार संघीय संसद् सचिवालय कर्मचारी युनियनको अगुवाइमा उनीहरूले तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै १० बजेदेखि ११ बजेसम्म महासचिवको कार्यकक्षमा धर्ना दिएका हुन् । यसअघि देखि नै आन्दोलनमा रहेका कर्मचारीको यो दोस्रो चरणको आन्दोनल हो । असार ७ गतेसम्म माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको चेतावनी छ ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आइतबारका लागि एक लाख ४२ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।