पशुपति क्षेत्र विकास कोषले तिलगंगाका घरटहरा हटाउने

<p>काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने भएको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिए पनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले आइतबार १५ दिने सूचना जारी गरेको हो । काठमाडौं महानगरपालिका-८ तिलगंगा (बी १३) आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, [&hellip;]</p>

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने भएको छ ।

तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिए पनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले आइतबार १५ दिने सूचना जारी गरेको हो ।

काठमाडौं महानगरपालिका-८ तिलगंगा (बी १३) आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना भत्काई लैजान कोषले १५ दिने सूचना निकालेको हो । तोकिएको अवधिभित्र ती संरचना नहटाए कानुनअनुसार कोष आफैंले हटाई खाली गराउने सूचनामा उल्लेख छ ।

पशुपति क्षेत्र विकास कोषको स्वीकृत गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाललगायतका संरचना स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले जनाएको छ ।

अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन यसअघि २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले पुनः १५ दिने सूचना निकालेको हो ।

Share News