काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताए । मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरु चुकेको बताए ।
उर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसावले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हाँसिल गर्न नसकिने बताए । ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताए । बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको जानकारी दिए ।
‘बजेट कुन प्रकारले बन्यो, अहिले पूरै हाउस बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो, अर्थमन्त्रीजीले, मन्त्रीजीहरुले जनताका प्रतिनिधिहरुलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुशी पार्न सूचिहरु माग्नुभयो, उभ्याउनु भयो । हामीले यहाँ जति छलफल गरेपनि संशोधन हुँदैन, परिवर्तन हुँदैन भन्नेकुरा सबैलाई थाहा छ’, उनले भने ।
उनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए । विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा उर्जाको उत्पादन गर्न आवश्यक रहेको जानकारी दिए ।