समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट
काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकलाई क्यापिटल हस्पिटलको सेवामा छुट हुने भएको छ । फाइनान्सले मंगलबार क्यापिटल हस्पिटल बागबजार, काठमाडौंसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले यही असार १२ गतेदेखि २०८३ असार ११ गते सम्म समृद्धि मोबाइल बैकिङ र डेबिट कार्ड प्रयोग गरि क्यापिटल हस्पिटल बागबजार, काठमाडौं स्वस्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा छुट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । फाइनान्सका सम्पूर्ण सेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटलबाट अर्थोपेडिक (अपरेशन र प्रक्रिया शुल्क)मा १० प्रतिशत, स्त्री रोग (अपरेशन/प्रक्रिया शुल्क) मा १० प्रतिशत सामान्य शल्यक्रिया (अपरेशन र प्रक्रिया शुल्क) मा १० प्रतिशत, अल्ट्रा साउन्डमा १५ प्रतिशत, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५ प्रतिशत, एक्स–रे मा २० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा १० प्रतिशत, बेड चार्जमा १० प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ ।
कोशी सरकारविरुद्ध दायर रिट खारेज
काठमाडौं । कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले खारेज गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । रिट खारेज भएपछि हिक्मत कार्की नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारले नै वैधानिकता पाएको छ । सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले केदार कार्कीको माग अस्वीकार गर्दै रिट खारेज हुने फैसला सुनाएको हो । फैसलाको लिखित पाठ भने आउन बाँकी छ ।
मनप्रिय मनाङ
गण्डकी । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर । कठिन भू-बनोटबीच पनि मनाङ आफैमा चित्रमय लाग्छ । हिमालले घेरिएको मनाङ जो कोहीको मनप्रिय गन्तव्य हो । यो प्रकृति र संस्कृतिको अनुमप थलो हो । जोखिम झेलेर यात्रा पार गर्ने पर्यटक त्यहाँ पुग्दा भने फुरुङ्ग हुन्छन् । गाह्रोसाह्रो बिर्सिदिन्छन् । मस्र्याङ्दीको सुसाहट, झरनाको छङ्छङ् र सिरसिरे हावाको स्पर्शमा रमाउँछन् । बेँशीसहर-चामे सडक छेउछाउका बुङ्ग, अक्टोपसआदि झरना हेरेर उनीहरु रोमाञ्चित बन्छन् । मनाङ पुग्न भीमकाय पहाड, भीरपाखा, खोल्सा र खोँच छिचोलेर अघि बढ्नुपर्छ । पदयात्रा र मोटरयात्रामा मनाङ पुग्न सकिन्छ । त्यहाँको हुम्डे विमानस्थल भने अहिले बन्द छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङ पदयात्राका लागि लोकप्रिय गन्तव्य मानिन्छ । एक दशकअघि मोटर पुगेपछि सडकमार्गबाट मनाङ जाने घुम्न जाने पर्यटक पनि उत्तिकै छन् । मनाङ पुग्ने अधिकांशको सपना संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हुन्छ । तर त्यो सबैका लागि सम्भव हुँदैन । आँटिला र स्वस्थ व्यक्तिले मात्र थोरङ भञ्ज्याङ पार गर्न सक्छन् । मनाङ ङिस्याङ गाउँपालिका-९ मा पर्ने तिलिचो ताल सामुद्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । पाँच हजार चार सय १४ मिटरको उचाइमा रहेको थोरङ भञ्ज्याङ विश्वभरका पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हो । थोरङ भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मुस्ताङको मुक्तिनाथ क्षेत्र पुग्छन् । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीको पवित्र धार्मिकस्थल हो । मनाङ ङिस्याङ-१ भ्राताङमा भेटिएका पर्यटक पथप्रदर्शक अनिल लामा अमेरिकामा बस्ने नेपाली परिवारका सदस्यलाई लिएर थोरङ भञ्ज्याङ जाँदै थिए । सदरमुकाम चामेबाट पदयात्रा सुरु गरेको उनले सुनाए । चामे समुद्री सतहदेखि दुई हजार आठ सय ३१ मिटर उचाइमा अवस्थित छ । अग्ला पहाडको खोँच र मर्स्याङ्दी नदीको किनारमा रहेको चामेबजारमा एक रात बिताएर उनीहरु मनाङ गाउँतिर जाँदै थिए । ‘तिलिचो ताल र थोरङ भञ्ज्याङ पार गर्ने हो, छ-सात दिन जति लाग्ला’, उनले भने, ‘पहिलो दिन पिसाङ, दोस्रो दिन मनाङ गाउँ र तेस्रो दिन तिलिचो आधार शिविरमा बास बसेर बल्ल तिलिचो ताल पुग्ने योजना छ ।’ तिलिचोबाट फर्केर श्रीखर्क हुँदै थोरङ भञ्ज्याङ जाने तालिका रहेको लामाले सुनाए । तिलिचोबाट दुई दिनमा थोरङ भञ्ज्याङ पुग्न सकिन्छ । थोरङ भञ्ज्याङ जान नसक्नेहरु श्रीखर्कबाट खाङ्सार हुँदै मनाङ गाउँ फर्कन्छन् । बेँशीसहरबाट मोटरयात्रामा सिधैँ खाङ्सार पुगेर त्यहाँदेखि दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिने लामाले बताए । चामेबाट पदयात्रामा जाँदा भने चार दिन लाग्ने उनको भनाइ छ । चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले पदयात्रीले लिने विश्रामको अवधिले तिलिचो र थोरङ भञ्ज्याङ जान लाग्ने समयको निर्धारण गर्ने बताउँछन् । ‘प्रायः विदेशीहरु चामेबाट पदयात्रा सुरु गर्छन्, चाररपाँच दिन लगाएर तिलिचो पुग्छन्, नेपालीहरु भने अलि छिट्टै पुग्छन्’, उनले भने । पहिलो पटक पुग्ने पर्यटकले तिलिचोलाई ‘स्वर्गको टुक्रा’ पनि भन्ने गरेको उनले सुनाए । ‘तिलिचोलाई चारैतिरबाट हिमालले घेरेको छ, भगवान् शिवले तपस्या गरेको किंबदन्ती रहेकाले धार्मिक हिसाबले पनि यो तालको महत्व छ’, फुर्वाले भने, ‘तिलिचोसँगै गङ्गापूर्ण, ग्रीन लेक, काजिन्सारालगायतका तालतलैयाले मनाङको सौन्दर्य बढाएका छन् ।’ कतिपय तालको अझै पहिचान नै हुन नसकेको उनले बताए । तिलिचो र थोरङ भञ्ज्याङबाट अन्नपूर्ण-२, अन्नपूर्ण-४, लमजुङ, मनास्लु, गङ्गापूर्णलगायत कैयौँ हिमशृङ्खलाकौ एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ । चामे होटल व्यवस्थापन उपसमितिका अध्यक्ष फुर्वाले पाँच हजार एक सय छ मिटर उचाइको लार्के भञ्ज्याङ पनि पर्यटकको रोजाइमा पर्ने गरेको बताए । गोरखाको मनास्लु संरक्षण क्षेत्रबाट लार्के भञ्ज्याङ काटेर पदयात्री पर्यटकहरु मनाङ छिर्ने गरेको उनको भनाइ छ । ‘मनाङको धारापानीबाट तिल्चे, भीमथाङहुँदै लार्के भञ्ज्याङ पार परेर मनास्लु क्षेत्र पनि पुग्न सकिन्छ’, उनले भने । पाँच हजार तीन सय २० मिटर उचाइमा अवस्थित काङ्ला भञ्ज्याङले पनि मनाङ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । काङ्ला भञ्ज्याङ काटेर मनाङकै पर्यटकीय गाउँ नार पुग्न सकिन्छ । अध्यक्ष फुर्वाले सडक आएपछि अन्नपूर्ण चक्रीय पदमार्गको साख भने गुम्दै गएको बताए । ‘विशेष गरी पदयात्राका लागि विदेशी पर्यटकको रोजाइमा मनाङ पर्ने गर्छ, तर पछिल्लो समय सडक निर्माणका क्रममा पदमार्ग नासिएका छन्, कतै छोटिएका छन्’, उनले भने, ‘मनाङको पर्यटनलाई चलायमान बनाइराख्न र विदेशी पर्यटकलाई आकर्षित गर्न वैकल्पिक पदमार्ग बनाउनुपर्छ ।’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पदमार्ग सङ्कटमा पर्दा लमजुङ र मनाङका पर्यटन व्यावसायी नै विस्थापित हुने अवस्था आएको बताए । ‘पदयात्रा पर्यटनमा आधारित व्यवसायी पलायन भइरहेका छन्, कति त बस्ती नै विस्थापित भएँ’, उनले भने, ‘पुराना पदमार्ग नासिँदा सडकको धुलो र हिलो सहँदै पदयात्रा गर्न पर्यटक बाध्य छन्, यस विषयमा सम्बद्ध सबै पक्ष संवेदनशील र जिम्मेवार हुनुपर्छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखसम्म मनाङमा उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रने गरेको बताए । ‘दुई वटा मुख्य याममा मनाङका गन्तव्यस्थल पर्यटकले भरिभराउ हुन्छन्, वर्षात् र जाडोयाममा पनि फाटफुट रुपमा स्वदेशी तथा विदेशी पर्यटक मनाङ घुम्न आइरहन्छन्’, उनले भने । प्रमुख भुजेलका अनुसार सन् २०२३ मा २२ हजारभन्दा बढी विदेशी पर्यटकले मनाङ भ्रमण गरेका थिए । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको उनको भनाइ छ । हमास(इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको प्रमुख भुजेलले बताए । आन्तरिक पर्यटकको भने यकिन तथ्यांक ‘एक्याप’सँग पनि छैन । भारतीय र नेपाली पर्यटक मोटरबाइक लिएरै मनाङ पुग्ने गरेका छन् । विकट भूगोल र जोखिमपूर्ण सडकका कारण पनि वर्षात्का बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गर्छ । कतिपय होटल तथा रेष्टुराँ अहिले बन्द भइसकेका छन् । ‘अफसिजन’मा पर्यटकीय गतिविधि कम हुने भएकाले कतिपय होटल तथा रेष्टुराँ सञ्चालकहरु व्यवसाय नै बन्द गरेर काठमाडौं, पोखरालगायत ठाउँमा जाने गरेका छन् । प्रमुख भुजेलले मनाङमा तीन सयभन्दा बढी होटल सञ्चालनमा रहेको जानकारी दिए । ‘पर्यटकस्तीय होटल, रेष्टुराँ, चिया-खाजाघर छन्, यहाँ आउने पर्यटकको सुविधालाई हेरेर व्यवसायीले विभिन्न सेवा पनि थपिरहेका छन्’, उनले भने, ‘एक्यापले पनि पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यस्थलको प्रवर्द्धनलगायतमा स्थानीय बासिन्दालाई सघाउँदै आएको छ ।’ रोमाञ्चक र साहसिक पदयात्रा रुचाउनेलाई मनाङ उत्कृष्ट गन्तव्य रहेको प्रमुख भुजेलले बताए । मनोरम प्रकृति, संस्कृति, बौद्ध परम्परा, हिमाली जनजीवन आदि मनाङका पहिचान र आकर्षण हुन् । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किमि मोटरयात्रा लमजुङ सदरमुकाम बेँशीसहर पुग्न सकिन्छ । बेँशीसहरबाट छ घण्टाको मोटरयात्रामा मनाङको चामे र चामेदेखि मनाङ गाउँसम्म साढे दुई घण्टामा पुग्न सकिन्छ । मनाङ गाउँबाट भने खाङ्सारसम्म आधा घण्टामै पुग्न सकिन्छ । खाङ्सारबाट अघि सडक पुगेको छैन । चामेबाट भ्राताङ, पिसाङ, हुम्डे हुँदै मनाङ गाउँ जोडिन्छ । मनाङ गाउँबाट नजिकै गङ्गापूर्ण हिमताल अवस्थित छ । पिसाङमा ग्रीन लेकपर्छ । काजिन्सारा ताल पुग्न भने चामेबाट दुई दिनको पदयात्रा गर्नुपर्छ । मनाङको मुख्य आयस्रोतको क्षेत्र पर्यटन रहेको भन्दै पर्यटकीय गन्तव्यस्थलको पहिचान र प्रवर्द्धनका लागि सक्दो पहल लिने गाउँपालिका अध्यक्ष घलेले बताए । मनाङ जोड्ने सडक स्तरोन्नति गर्न सके बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक मनाङ भित्र्याउन सकिने उनको बुझाइ छ । ‘पर्यटकीय याममा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मनाङ भित्रने गरेका छन्’, अध्यक्ष घलेले भने, ‘पहिले विदेशी पर्यटक बढी आउथे, पछिल्लो समय आन्तरिक पर्यटकको पनि आवागमन बढेको छ ।’ रासस
मौद्रिक नीतिमा मोह, कर्जामा कमिसन
काठमाडौं । अहिले अधिकांशले मौद्रिक नीति कस्तो आउँदैछ भनेर चासो दिन थालेका छन् । तर, मौद्रिक नीति सार्वजनिक हुनु अगाडि नेपाल राष्ट्र बैंक धेरै बोल्दैन । अधिकांशले मौद्रिक नीतिमा धेरै अपेक्षा गरेको देखिन्छ । कसका के अपेक्षा छन् भनेर राष्ट्र बैंकले सुझावका रूपमा संकलन गरिरहेको छ । सबैले आआफ्नो क्षेत्रबाट सुझाव तथा माग गरिराख्नु भएको छ । तथ्य तथ्याङ्क, वर्तमान अवस्थाका आधारमा राष्ट्र बैंकले मौद्रिक नीति तयार पार्छ । देशको मूल्यवृद्धि उच्च छ भने मौद्रिक नीति कडा आउँछ भने मूल्यवृद्धि सहज वा भएका बेला केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याउनु स्वाभाविक हो । केन्द्रीय बैंक तथ्याङ्कभन्दा बाहिर नगई सन्तुलन भएर मौद्रिक नीति ल्याउँछ । राष्ट्र बैंकका गभर्नरले लचिलो मौद्रिक नीति ल्याउँछु भन्नु भएको छ भनेर यस विषयलाई सहज रूपमा नलिनु होला । वर्तमान अवस्था र तथ्याङ्कलाई अध्ययन गरेर राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउँछ भनेर सहज रूपमा अनुमान गर्न सक्नुहुन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिसँगै फाइनान्सियल सेक्टर पोलिसी पनि ल्याउँछ । र, अधिकांशको चासो त्यतातिर देखिन्छ । कोभिड महामारीमा धेरै महत्वपूर्ण काम गर्दा अवस्था सहज अवस्था बन्यो । त्यसैले कोभिडकालमा ल्याइएको जस्तो मौद्रिक नीतिको अपेक्षा आफूहरूले नगरेको निजी क्षेत्रले स्पष्ट रूपमा भनिरहेको छ । अर्थात् कोभिडको समयमा जुन अपेक्षा गरिएको थियो, त्यो अपेक्षा अहिले नरहेको निजी क्षेत्रले भनिरहेको छ । तर, व्यक्तिगत समस्यालाई सामान्यीकरण गरेको देखिन्छ । आफू अनुकुल गर्न खोजिरहेका छन् । व्यक्तिले आक्रामक रूपमा कर्जा लिएका छन् । त्यसबाट कसरी निस्किने भनेर विभिन्न उपाय खोजिरहेका छन् । त्यो सकसबाट बाहिर निस्किन राज्य, राष्ट्र बैंकले सहयोग गर्छ कि भनेर आशा राखिएको छ । र, ती आशालाई अन्तिममा राष्ट्र बैंकको मौद्रिक नीतिमा ठोक्काउन खोजेको महसुस हामीहरूलाई भइरहेको छ । मौद्रिक नीतिका आफ्नै सीमा छन् । त्यसैले धेरै हात फैलाउन वा हाँगा फिजाउन सक्दैन । सीमाभित्र रहेर राष्ट्र बैंकले काम गर्छ । यो विषय सबैले बुझिदिनुपर्छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा दैनिक दुईटा कार्यक्रममा भइरहेका छन् । ती कार्यक्रममा कतिपय साथीभाईहरूले यो–यो वस्तुमा लोन टू भ्यालू रेसियो बढाइदिनुपर्याे भनेर माग गर्नुहुन्छ । अहिलेको लोन टू भ्यालू रेसियो हुँदा त धेरै आत्तिनु भएको छ । अझै योभन्दा बढाउँदा अर्काे वर्ष साँचो बुझाउन आउनुहुन्छ । राष्ट्र बैंकले कसैलाई ऋणमा डुबाउने गरी नीति ल्याउँदैन । व्यक्तिलाई उद्यमी बनाउने हो । व्यवसाय धान्ने वातावरण वा नीति बनाइदिने हो । साथै सुधारका कार्यक्रम पनि ल्याउँछौं । वर्किङ क्यापिटल गाइडलाइन पनि सुधार नीतिका रूपमा अघि सारिएको हो । सुरुवातमा धेरै विरोध भयो । तर, पछिल्लो समय पचाइसक्नु भएको छ । सकारात्मक प्रभाव परेको देखिन्छ । वर्किङ क्यापिटल गाइडलाइनले ऋणीलाई ऋण लिन कुनै बाधा–अड्चन हुने छैन भनेर विभिन्न सार्वजनिक फोरमहरूमा भनिरहेको छु । यदि कहीँकतै समस्या देखियो भने सिधैं राष्ट्र बैंकमा गुनासो वा सुझावका रूपमा पेस गर्दा हुन्छ । ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले छुट्टै डिभिजन नै खडा गरेको छ । आगामी आर्थिक वर्षदेखि मार्केट कण्डक्सन (बजार संचालन) को काम पनि गर्ने योजनामा छ । अब संस्थाको नियमन मात्रै नभएर ग्राहक संरक्षणसँग सम्बन्धित विषयमा पनि सुपरीवेक्षण राष्ट्र बैंकले गर्नेछ । एक जना ठूलो व्यवसायी म कहाँ आएर वर्किङ क्यापिटलका कारण मेरो व्यवसाय रोकियो, बैंकले पनि विभिन्न कुराहरू गर्न थालेको छ भनेर गुनासो गर्न थाल्नुभयो । त्यसपछि म आफैंले विगत ५ वर्षको फाइनान्सियल विवरण अध्ययन गर्दा पर्मानेन्ट वर्किङ क्यापिटल रिक्वायरमेन्ट धेरै ठूलो देखियो । रेगुलर बस्नुपर्ने स्टक प्रशस्त छ । त्यसका लागि ३ देखि १० वर्षको वर्किङ क्यापिटल लिन सकिने व्यवस्था छ । त्यसैले विरोधका लागि विरोध नगर्न आग्रह छ । व्यवहारिक हिसाबमा समस्या परेको छ भने राष्ट्र बैंकको ढोका खुला छ । बैंकबाट कर्जा लिँदा कमिसन खाने गरेको सार्वजनिक कार्यक्रममा एक जना इन्जिनियर र विकास बैंकका अध्यक्षले गुनासो गर्नुभयो । यो राष्ट्र बैंकका लागि पटक्कै स्वीकार्य छैन । यस्ता विषय हाम्रो कानमा परेपछि चुप लागेर बस्दैनौं । राष्ट्र बैंकका लागि योभन्दा ठूलो विषय केही हुन सक्दैन । दुवै जनाले कुन व्यक्ति र कुन बैंक हो, त्यसको प्रमाण दिनुपर्छ । होइन भने बिना प्रमाण र बिना आधारका विषय सार्वजनिक फोरममा गरेर केही अर्थ हुँदैन । राष्ट्र बैंकले सयौं जनालाई कारबाही गरेको छ । ग्राहकसँग खाता लिंक भएकै संकेतका आधारमा राष्ट्र बैंकले कारवाही गरेको हो । तर, तपाईहरू सार्वजनिक कार्यक्रममा कर्जा लिँदा कमिसन लिएको प्रमाण देखाउँछु भनिराख्नु भएको छ । केन्द्रीय बैंकका लागि यो विषय गम्भीर हो । योभन्दा ठूलो आक्षेप बैंकका लागि अरू केही हुँदैन । कुन व्यक्ति र कुन बैंकले कमिसन लिएको हो त्यसको सबै प्रमाण केन्द्रीय बैंकलाई दिनुपर्छ । होइन भने सार्वजनिक कार्यक्रममा बोल्न पाए भन्दैमा जे पायो त्यही बोल्न मिल्दैन । नेपालको अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्र जरूरी छ । भलै विकसित अर्थतन्त्रमा यस्ता विषयले अर्थ नराख्न सक्छ । प्राथमिकता प्राप्त क्षेत्र जलविद्युतमा १० प्रतिशत कर्जा अनिवार्य नगरेको भए यति धेरै पीपीए हुने थिएनन् । हाल ३३ सय मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । आगामी वर्ष ४५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य छ । अब अरूण तेस्रोबाट पनि बिजुली उत्पादन भएपछि क्षमता अझै व्यापक बन्छ । बैंकहरू जहाँ कम जोखिम छ त्यहाँ बढी कर्जा दिन रुचाउनुहुन्छ । आयात गर्ने, आयातको फाइनान्सिङ गर्ने, सामान बेच्ने र कर्जा तिर्नेलाई कर्जा दिन बैंकहरू सहज मान्नुहुन्छ । तर, राज्यको उद्देश्य आयात गर्ने मात्रै होइन । आन्तरिक उत्पादन बढाउने र रोजगारी श्रृजना गर्नु पनि हो । त्यसका लागि बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ । २०८४ सालसम्म कृषिमा १५ प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्नुपर्छ । त्यसपछि कृषिमा ३ खर्ब बराबरको आयात रोकिन्छ । साना उद्यमीलाई पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरू अर्थतन्त्रका खम्बा हुन् । १५ प्रतिशत साना उद्यममा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गतर्फ ३० लाख ग्राहकहरू छन् । जसमध्ये अधिकांश महिला छन् । उहाँहरूले ससानो ऋण विपन्न वर्ग क्षेत्रका माध्यमबाट पाउनु भएको हो । व्यक्तिगत जीवन परिवर्तन गर्न र जीवन निर्वाहका लागि ठूलो योगदान पुर्याएको छ । कहिलेकाहीँ काम गर्ने शिलशिलामा केही समस्या आउँछन् । जसले काम गर्छ उसका बारेमा धेरे कुराहरू आउनु स्वभाविक हुन्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन । काम गर्दैगर्दा समस्या आयो भने डराउनु हुँदैन । समस्या र चुनौती व्यवस्थापकका लागि कच्चा पदार्थ जस्तै हुन् । ती समस्या र चुनौतीसँग जुधेर समाधान गर्न अग्रसर हुनुपर्छ । त्यसैले हाम्रो अर्थतन्त्रमा विपन्न वर्ग तथा प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा आवश्यक छ । बजार सोही अनुसार परिपक्व हुनुपर्छ । बैंकहरू स्वनियमन र अनुशासित हुनुपर्छ । आफ्नो पोर्टफोलियो विविधिकरण, व्यवस्थापन, सन्तुलित र राष्ट्रिय आवश्यकता अनुसार परिचालन गर्नुपर्छ । वित्तीय प्रणालीमा नियमन भएन भने सहकारीको जस्तै स्थिती हुन्छ । त्यसैले नियमन हुँदैमा आत्तिनु पर्दैन । तर, ती नियमन बजारमैत्री, बैंकिङमैत्री छन् कि छैनन् भन्ने विषय महत्वपूर्ण हो । नियमन हुँदा नै बैंकिङ प्रणाली जोगिएको छ, रिजनेबल बनाएको छ, विश्वास जगाएको छ । तापनि बैंकहरूमाथि शंका गरिरहेका छन् । त्यसकारण नियमन आवश्यक छ, राष्ट्र बैंकले सोही अनुसार काम गरिरहेको छ ।
धनराजको घोषणा- मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिन्छु
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने घाेषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने बताए । भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने उनले जिकिर गरे । उनले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए । कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको उनकाे भनाइ छ । उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताए ।
सिटिजन्स बैंक र सितल चौतारी होटल म्यानेजमेन्टबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच समझदारी भएको छ । बैंक र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाएको छ ।
जागिर छोडेर किताब रोजेपछि…
काठमाडौं । किताबै किताबको चाङ्गबाट उनी बाहिर निस्किए । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क थिए । हातमा थान पुस्तक समाउँदै भने, ‘यो चाहीँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु ।’ वैशाख महिनाको कुरा हो । जमलस्थित मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनको पुस्तक पसलमा जापानकी विदेशमन्त्री योको कामीकावाकोले नेपाली लेखकका पुस्तक खरिद गरेका थिए । यति मात्रै होइन, छोटो समयमा महर्जनले विदेशमन्त्रीसँग नेपाली लेखक र पुस्तकको महत्वबारे सुनाउने मौका पाएका थिए । महर्जनका अनुसार पुस्तक पसल खोलेर कमाएको ठूलो धन भनेको सम्बन्ध नै हो । धेरैले उनलाई व्यङ्ग्य गर्दै भन्ने पनि गर्छन्, ‘पसल चलेपछि धनि भयौँ ।’ तर, उनी धनको भन्दा सम्बन्धको महत्व प्राथमिकतामा राख्नछन् । यसअघि पुस्तक पसलमा तत्कालीन पाकिस्तानका प्रधानमन्त्री बेनजिर भुट्टोले दुई घन्टा पसलमै किताबहरुसँग बिताएको उनले सम्झन्छन् । अझै पसलमा बसेर पाठक घन्टौँ समय बिताएको उनलाई निकै मनपर्छ । हुन त साँघुरो पसल छ । पाठकले सोचे जस्तो पढ्ने वातावरण मण्डला बुक्स प्वाइन्टमा पाउन सकेका छैनन् । तर, आएका पाठक देखेर हार्दिकता भाव व्यक्ति गर्न भने माधव निकै सिपालु छन् । ‘म पाठकलाई पूजा गर्छु’, उनी भन्छन्, ‘सकेसम्म पसलमा टिकाइरहन पाएहुन्थ्यो भन्ने लाग्छ ।’ किताब व्यापारसँग उहाँको साइनो पुरानो छ । लगभग पाँच दशक पुरानो । बिहानै नित्यकर्म गरेर उनी पुस्तक पसलमा आउँछन् । पुस्तकका पाना हेर्दै केही समय पसलमै बिताउँछन् । त्यो भन्दा पनि रमाइलो उनलाई पुस्तक पसलमा आएका पाठकसँग किताबकै बारेमा गफिन मनपर्छ । ‘पाठकले कस्ता पुस्तक खोज्दैछन्, ध्यान दिएर मनोविज्ञान बुझ्ने कोसिस गर्छु’, उनले भने,’अनि उनीहरुकै रुचि मनन गरेर पुस्तक बिक्रीका लागि ल्याउने गर्छु ।’ किसानको छोरो किताबमा रुचि कीर्तिपुर पागांमा जन्मिएका ७४ वर्षे महर्जनको किताब पसलसँगको इतिहास रोचक छ । सामान्यतया बाउबाजेले जे गर्छन् त्यही पुस्ताले पछ्याउने परम्परा छ । किसानको छोरो किसान हुने भएजस्तै महर्जनको परिवार किसानीमै बित्यो । किताब व्यापारले जीवन धानिएला भन्ने उनको पुस्ताले परिकल्पनासमेत गर्न सकेको थिएन । तर, महर्जन भने यो कल्पनालाई सत्यमा परिणत गर्न निकै मेहनत गर्नुपरेको बताउँछन् । पढ्ने र लेख्ने संस्कार थिएन । तर, महर्जनको बाजे भने खेती गर्दै धार्मिकग्रन्थ पढ्न रुचि राख्थे । महाभारत, गीता, रामायणजस्ता धार्मिकग्रन्थ साँझ बिहान पढ्ने बानी थियो । महर्जन बाल्यकाल सम्झदै भन्छन्, ‘बाजेलाई ग्रन्थ पुर्याउने काम म गर्थें, ग्रन्थको सुगन्धले निकै तान्थ्यो ।’ बाजेले ग्रन्थ पढेको हेर्दाहेर्दै महर्जनलाई किताबप्रति मोह बढेको हुनसक्ने उनी बताउँछन् । सन्तानमा जेठो भएकाले महर्जनलाई कलिलै उमेरमा ३२ जनाको संयुक्त परिवार पाल्नुपर्ने जिम्मेवारी आयो । क्याम्पस पढ्दै जागिर खाने निधो गरे । सरकारी जागिर खाने पनि धेरै पटक प्रयास गरे । राष्ट्र बैंक, बालाजु औद्योगिक क्षेत्रमा समेत जागिर खान भरपुर मेहनत गरे । कतै अन्तरवार्तामा फालिने कतै वैकल्पिकमा पर्ने । सरकारी जागिर खान नपाएको पीडा उनले मनमै लुकाए र व्यवसायमा जोड दिन थाले । ‘एउटा बाटो थुनिए अरु थुप्रै बाटा खुल्छन्’, उनी विगत सम्झदै भन्छन्, ‘किताब व्यापारले मलाई आत्मसन्तुष्टि दिएको छ, र धन पनि ।’ बालाजु औद्योगिक क्षेत्रमा जागिर राम्रै थियो । खान, लगाउन र परिवार पाल्न पुग्थ्यो । तर, पनि महर्जनको मन भने बेचैन रह्यो । केही अपुग जस्तो । किताबसँगै रमाउन मन पराउने हुँदा उनले यसै क्षेत्रमा केही गर्ने मनसाय बनाए । ‘किताब पढ्ने र पाना पल्टाउने बानीले जागिरमा मन लागेन’, उनी भन्छन्,’त्यसपछि राम्रै जागिर छोडेर किताब पसलमा काम खोज्न पुगेँ ।’ महर्जन प्रोफेसर प्रसन्न मानसिंह प्रधानको घरमा पढ्दै बसन्तपुरको नेपाल बुक सेलर्स पसलमा पहिलोपटक जागिर पाए । किताब पसलमा बस्दा उनी किताब बेच्ने र पढ्ने दुवै काम गर्थे । उनका अनुसार त्यतिबेला अङ्ग्रेजी पाठक बढी थिए । पचासदेखि ७५ पैसामा अङ्ग्रेजी पुस्तक पाउने गर्थे । अङ्ग्रेजी सिक्न र बुझाउन अत्यन्त सरल शैलीका अङ्ग्रेजी पुस्तक बजारमा बिक्रीमा राखिएको थियो । ‘मलाई याद भएसम्म अमेरिकी दूतावासले अङ्ग्रेजी सिकाउन यस्तो नीति ल्याएको हुनुपर्छ’, उनी सम्झन्छन्, ‘सस्तो मूल्य र रोचक विषय भएकाले पाठकको घुइँचो नै लाग्थ्यो ।’ उनले अङ्ग्रेजी बोल्न त्यही पसलमा किताब बेच्दै गर्दा सिकेको बताउँछन् । उक्त पुस्तक पसलमा केदारभक्त माथेमा, प्रदीप गिरी, गणेशराज शर्मालगायत व्यक्तित्व उनको पसलमा किताब खोज्न आउनुहुन्थ्यो । लोकराज बराल, कृष्ण हाछिथ्यु, अभि सुवेदी, अरुण गुप्तो, डा हर्क गुरुङलगायत वौद्धिक वर्गका मान्छे उनको पसलका नियमित ग्राहक हुन् । उनका अनुसार केही पाठकले त ‘माधव तिमिले पसलको भाडा त तिर्न सकेका छौँ नि ? भन्दै दुःखसुख पनि सोध्ने गर्छन् ।’ ‘पाठकले मेरो स्थितिबारे मायाले सोध्दा अझै आत्मविश्वास बढ्दै जान्थ्यो’, उनी भन्छन् । पुस्तक पसलमा किताब बेच्दै पढ्दै गर्दा उनले आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्ने हिम्मत जुटाए । किसानले किताब पसलमा काम गर्छ भन्दा उतिबेला छिमेकीले गिज्याउने गरेको क्षण उनी अझै सम्झिन्छन् । समाज वा परिवारमा भइरहेको कामभन्दा अलि फरक मार्ग रोज्न खोज्दा अवश्य पनि चुनौती सामना गर्नुपर्ने महर्जन बताउँछन् । तर, यस्तो चुनौतीसँग हार खानु भने हुँदैन भन्नेमा उनीको अनुभव छ । सन् १९७६ उनले घन्टा घर नजिकै किताब पसल खोले । उनका अनुसार उतिबेला किताब पढ्न र किन्न आउनेहरु दिनमा दुई/चार जना मात्रै हुन्थे । सन् १९९० मा स्थापना मण्डला बुक प्वाइन्टस् नामाकरण गरेका हुन् । उनी विगत सम्झदै भन्छन्, ‘किसानको छोरोले किताब समाएर राम्रै गरेको जस्तो लाग्छ ।’ डिजिटल पाठकले चुनौती महर्जनको पुस्ता किताबको अक्षर मात्रै होइन, सुगन्ध लिँदै पढ्दै आयो । डिजिटल प्रविधिको युगले सुविधा सम्पन्न बनाए पनि केही मौलिकता मारेको उनी बताउँछन् । किताबी दुनियाकै कुरा गर्ने हो भने पनि अनलाइनमै किताब पढ्ने पाठक बढेका छन् । यद्यपि उनी भन्छन्, ‘डिजिटल युगले किताबको अक्षर हेर्नमै सीमित हुन्छन् । पुस्तक पढ्ने भनेको अक्षर मात्रै पढ्ने होइन्, किताब र पाठकबीचको आत्मियता स्पर्शबाट सुरु हुन्छ । त्यसका पाना पल्टाउँदाका आवाजसँग जोडिएको हुन्छ र सुग्दा सुगन्धसँग मिसिएको हुन्छ । किताबको मिठास महसुस गर्न किताब नै हातमा समाउनुपर्छ भन्ने उहाँको बुझाइ छ ।’ महर्जनले पाँच दशकअघि खोलेको पुस्तक पसल सूचना प्रविधिको तीव्र विकाससम्म आइपुग्दा पाठक र बजारमा समेत परिवर्तन आएको छ । विगतमा जस्तो पाठक पुस्तकमै धाउने परम्परा विस्तारै हराउँदैछ । यद्यपि, पढ्ने र पढाउने संस्कार भने उर्भर हुँदै गएको उनी बताउँछन् । डिजिटल पाठक बढे पनि किताबको पाना समाएर सुगन्धसहित पढ्ने सुविधा डिजिटल किताबबाट नहुने उनको अनुभव छ । कोभिड महामारीको बेला ई–बुक शिक्षा सजिलो र सरल बन्नु स्वभाविक हो । तर, किताब नै पढेर चित्त बुझाउने पाठकको पनि कमी नभएको उनी बताउँछन् । एक त पढ्ने विद्यार्थी विदेशिएका छन् । कोभिडपछि खस्किएको किताब व्यापार अझै पनि उस्किन नसकेको उनी बताउँछन् । सन् १९९० देखि अहिलेसम्म सरकारले पुस्तकमा भन्सार लगाउन पटकपटक प्रयास गरेको छ । यसले गर्दा डर र त्रास सिर्जना भइरहने उनी बताउँछन् । किताब जस्तो विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । ज्ञानको भण्डारमा सहजता ल्याउनुपर्छ भन्ने महर्जनको मान्तया छ । सरकाले नै पढ्ने संस्कृति सहज बनाउन नीति ल्याउनुपर्ने उनको बुझाइ छ । डिजिटल प्रभावले एकातिर पुस्तक प्रचार गर्न सजिलो भएको छ भने अर्कोतिर अनलाइन माध्यम अपनाएर व्यापार बढ्न थालेको छ । यद्यपि महर्जन असल पाठन संस्कृति पुस्तक नै किनेर पढ्न उपयुक्त हुने तर्क राख्नछन् । किताब छुने बानी लागेका पाठकलाई डिजिटलले चित्त बुझ्दैन । रासस
यती ग्रुपभित्र सम्पत्ति विवाद उत्कर्षमा, धोकाधडी र निधनपछि मुद्दा अदालतमा
काठमाडौं । पर्यटकको भारी बोके । लामो समय भान्से बने । हिमाली क्षेत्रलाई व्यवसायको खम्बाका रूपमा उभ्याए । विदेशी पर्यटक ल्याएर विश्वका अग्ला हिमाल चढ्न सिकाए । एयरलाइन्स, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू सञ्चालनमा ल्याए । दर्जनौं कम्पनी खडा गरे । अर्बाैंको साम्राज्य बनाए । नेपाली पर्यटनका पर्याय बने । यो सम्झिँदा धेरैको मानसपटलमा एउटै नाम आउँछ स्वर्गीय आङछिरिङ शेर्पा। वि.सं २०७५ साल फागुन १५ गते हेलिकोप्टर दुर्घटनमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सदाका लागि अस्ताए । कुनै विदेशी व्यक्ति घुम्नका लागि नेपाली भूमिमा पाइला टेकेदेखि फिर्ता हुँदासम्म कुनै पनि कम्पनीमा आँखा लगाउनु नपर्ने गरी पर्यटन क्षेत्रमा आङछिरिङले ‘इकोसिस्टम’ बनाएका थिए । पर्यटन क्षेत्रसँग सम्बन्धित साना-ठूला सबै सेवा उपलब्ध हुने गरी आङछिरिङले एकल प्रणाली लागु गरेर पूर्वाधार खडा गरेका थिए । आङछिरिङको निधनपछि उनले खडा गरेको अर्बाैंको साम्राज्य ल्हाक्पा सोनाम शेर्पाले सम्हाल्दै आएका छन् । तर, दर्जनौं कम्पनीको अर्बौको पोर्टफोलियो सम्हाल्दै आएका ल्हाक्पा सोनामले आफ्नो परिवारभित्रको विवाद भने सम्हाल्न सकेनन् । परिवारमा विवाद स्वर्गीय आङछिरिङ शेर्पाका ४ दाजुभाई र ७ जना दिदीबहिनी हुन् । जेठो फूर्वा ग्याल्जेन शेर्पा, माइलो ल्हाक्पा सोनाम शेर्पा, साइलो आङ छिरिङ शेर्पा र कान्छो आङ तेण्डी शेर्पा भन्ने आङ टेन्डी शेर्पा हुन् । उनीहरूका बुवा पासाङ नुरु शेर्पा र आमा पेम्वा दिक्की शेर्पा हुन् । बुवा पासाङ नुरुको वि.सं.२०३४ र आमा पेम्वा दिक्कीको वि.सं.२०७० सालमा निधन भयो । साथै, जेठो दाजु फूर्वा ग्याल्जेनको वि.सं. २०३० र कान्छो भाई आङ टेण्डीको वि.सं. २०५५ कार्तिक ७ गते निधन भयो । फूर्वा ग्याल्जेनको अंशहक खाने पत्नी र छोराहरूमध्ये पेलु शेर्पा, पासङ रिङजी शेर्पा, आङछिरिङको अंशहक खाने पत्नी, छोराहरू चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा र नोर्बु छिरिङ शेर्पा र आङ टेण्डीको अंशहक खाने पत्नी, छोराहरू फुरदिकी शेर्पा, लाक्पा गेलु शेर्पा र दावा जाङवु शेर्पा हुन् । बुवाआमा, जेठोदाई फूर्वा ग्याल्जेन र कान्छोभाई आङ टेण्डीको निधनपछि परिवारको जिम्मेवारी आङछिरिङ शेर्पाले सम्हाल्दै आएका थिए । तर, उनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ल्हाक्पा सोनामले जिम्मेवारी सम्हाले । अर्बौको साम्राज्य खडा गरेको शेर्पा परिवारमा अंशबण्डा भएको छैन । बुवा पासाङ नुरुको निधनपछि घर व्यवहार, खेतीपाती, व्यापार, व्यवसाय चारै दाजुभाईले आपसी सरसल्लाहमा गर्दै आएका थिए । तर, चार दाजुभाईमध्ये तीनजनाको निधनपछि घर मूली माइलो भाई ल्हाक्पा सोनामले सम्हाल्दै आएका हुन् । ‘लाक्पा सोनाम शेर्पाले तीन दाजुभाईको मृत्युपछि परिवारका सबै सदस्यहरूलाई समान रूपमा आर्थिक गर्जो टार्दै राम्रै व्यवहार गरिरहनु भएका थियो । तर, सासुआमा पेम्वा दिक्कीको निधनपछि विस्तारै व्यवहारमा परिवर्तन हुन थाल्यो,’ बुहारी फुरदिकी शेर्पाले भनिन्, ‘अंशभाग माग गर्दा एक/दुई वर्ष पर्ख, परिवार धेरै ठूलो भइसक्यो, चारै भाईको अंशबण्डा गरिदिन्छु भनेर आश्वासन दिनुभयो । तर, ४/५ वर्ष बित्दासमेत अंशबण्डा गर्न ईन्कार गर्नुभयो ।’ फुरदिकी शेर्पा आङ टेन्डी शेर्पाकी श्रीमती हुन् । उनै फुरदिकी शेर्पा, छोरा दावा जाङवु शेर्पाले काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेका छन् । उनीहरूले ल्हाक्पा सोनाम शेर्पा, पेलु शेर्पा, पासाङ रिङजी शेर्पा, चन्दा शेर्पा, नावाङ पासाङ शेर्पा, नोर्बु छिरिङ शेर्पा विरुद्ध मुद्दा दायर गरेका हुन् । आफ्नो सम्पत्ति थाहा छैन मुद्दा दायर गर्ने वादी फुरदिकी शेर्पाले आफ्नो सम्पत्ति कहाँ, कति, कस्को नाममा रहेको छ भनेर जानकारी नभएको बताएकी छन् । तर, चारै जना दाजुभाईले पैतृक सम्पत्ति तथा सो सम्पत्तिबाट विभिन्न जिल्लामा कम्पनी खडा गरेको र ती कम्पनीको नाममा घरजग्गाहरू समेत रहेको उनको दाबी छ । उनका अनुसार सोलुखुम्बु र काठमाण्डौं लगायत विभिन्न जिल्लामा चल-अचल सम्पत्ति छ । फिराद पत्रमा यती एयरलाइन्स प्रालिको काठमाडौंको सिनामंगल, बानेश्वर-१०, नेपलगञ्ज र ललितपुर, माउण्टेन रिसोर्ट अफ नेपालको लुक्ला, नाम्चेबजार, फकडिङ, थामे, मुस्ताङ, माझगाँउ, विरेथानी, मनजो, घन्द्रुक, धामपुस आदी स्थानमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा रहेको उल्लेख छ । काठमाडौंको बसुन्धारामा थामसेर्कु ट्रेकिङ प्रालि र लैनचौर उत्तरढोका तथा दरवार महलमा थमसर्कु डेभलपर्स कम्पनी सञ्चालनमा रहेको छ । वादी फुरदुकीका अनुसार यति एडभान्चर प्रालिको वालुवाटर र तारा एयर प्रालिको सिनामंगलमा आफ्नै घरजग्गामा कार्यालय सञ्चालनमा छन् । तर, कस्को नाममा कति सेयर छ भन्ने बारे आफूहरूलाई जानकारी नभएको उनले बताएकी छन् । ‘पिताको देहान्तपछि तिमीहरुको नाममा पनि सेयर खरिद गर्ने र नामसारी गरी दिने भनी बेलाबेलामा कागजमा सही छाप गराउनुभयो । तर, हाम्रो नाममा सेयर भए पनि के कति छ केही जानकारी छैन,’ वादी फुरदुकी शेर्पाले भनेकी छिन्, ‘मूल अंशियार तथा मुल अंशियारका पत्नी, छोराछोरीको नाममा उल्लेखित कम्पनीहरू बाहेक अरू पनि धेरै कम्पनीमा सेयर छ, पछि फेला पारेको बखत पेश गर्ने नै छौं ।’ साथै कम्पनीहरूको दर्ता प्रमाणपत्र, सेयर लगत लगायतको प्रमाण कागज विपक्षीहरुसँग भएको र आफूहरूसँग नभएकाले कम्पनी रजिष्ट्रारको कार्यालयबाट उपलब्ध गराइपाउँ भनेर माग गरेकी छन् । बादीहरूले मुलुकी देवानी संहिता, २०७४ को दफा २०५, २०६, २०९, २११ बमोजिम आफ्नो अंशहक छुट्याईं पाउँ भन्दै अदालतमा फिरादपत्र दर्ता गरेका हुन् ।