विकासन्युज

सरकारले पेट्रोल र डिजेलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ रुपैयाँले बढेर आएको छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुनेछ ।

जीवनभर बैंकिङ गरे, बुढेसकालमा हिरासत पुगे

काठमाडौं । जीवनको महत्वपूर्ण तीन दशक नेपाली बैंकिङ क्षेत्रमा योगदान गरे । मुलुकको सबैभन्दा पुरानो बैंक ‘नेपाल बैंक’मार्फत् नेपालीलाई बैंकिङ सेवा दिए । बैंकको नाम नसुनेकालाई बैंकिङ सिकाए । पैसा बचत गर्न नजान्नेलाई निक्षेप राख्न सुझाए । इन्ट्री लेवलदेखि बैंकको चिफ म्यानेजरसम्म पुगे । अथक संघर्ष र मिहिनेतपछि ३१ वर्षमा स-सम्मान बैंकबाट अवकाश पाए । बैंकिङ क्षेत्रमा ठूलो योगदान गरेको भन्दै दोसल्ला र खादासहित बैंकबाट विदा भए । उनलाई अझैं बैंकिङ भोक मरेन । सर्वसाधारणलाई वित्तीय साक्षरता र वित्तीय पहुँच बढाउनुपर्छ भन्ने हुटहुटी उनको मनमा खेलिरह्यो । अरु कुनै बैंकमा काम गर्ने अवस्था थिएन । परिणामतः उनले रोजे सहकारी । बैंकबाट अवकास हुनु पाँच वर्षअघि अर्थात् २०५६ सालमा ललितपुरको पुल्चोकमा स्थापना भएको थियो लालिगुराँस बहुउद्देश्यीय सहकारी । उनले सोही सहकारीमार्फत् जनतालाई बैंकिङ सेवा सिकाउने र आफू पनि व्यस्त हुने विकल्प खोजे । र, उनी बने लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य । उनी अर्थात् अमरदास श्रेष्ठ । अमरदास श्रेष्ठ । नेपाल बैंकबाट अवकास भएपछि उनी सक्रिय रुपमा सहकारीमा लागे । बैंकिङ करिअरमा कमाएको पैसा र पेन्सनलाई बचतका रूपमा सोही सहकारीमा राखे । सहकारीमा आकर्षक ब्याज थियो, बचत रकम बढ्दै गयो । जति बचत बढ्यो, उनको भूमिका र जिम्मेवारी पनि फेरिन थाल्यो । उनको चाहना थियो, आफ्नो बचतको पैसा बढाउने र सर्वसाधारणलाई पनि बैंकिङ सेवा सिकाउने । सोही संकल्पका साथ उनी वि.सं. २०६१ सालमा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सचिव बने । उनी सो सहकारीको सचिव मात्रै बनेनन् जहाँ-जहाँ सुरेन्द्र भण्डारीले लगानी गछर्न्, त्यसको सेयर साझेदार पनि बने । २०६४ सालमा सो सहकारीको उपाध्यक्ष बने । ८ वर्ष उपाध्यक्षको जिम्मेवारीमा बसे । वि.सं २०७४ सालमा सो सहकारीको अध्यक्ष बने । उनलाई नजिकबाट चिन्ने सहकारीकर्मीहरू भन्छन्, ‘श्रेष्ठ नाम मात्रैका अध्यक्ष थिए, सहकारीको साँचो सुरेन्द्र भण्डारीको हातमा थियो ।’ ‘जसो-जसो पण्डित बाजे, उसै-उसै स्वाहा’ भनेजस्तो लालिगुराँस सहकारीमा पनि त्यस्तै भयो । सहकारीका सीईओ भण्डारीले जे भन्यो, त्यस्तै गर्थे अध्यक्ष श्रेष्ठ । जहाँ भण्डारीले लगानी गरे त्यहाँ उनको पनि केही लगानी हुन्थ्यो । उनीहरूको साझेदारीमा  लालिगुराँस कलेज पनि खुल्याे । जुन कलेजको भण्डारी अध्यक्ष हुन् भने अमरदास सञ्चालक समिति सदस्य हुन् । ‘मौरीको संगत गरे फूलबारीतिर, झिँगाको संगत गरे फोहोरतिर’ भनेजस्तै भयो अमरदास श्रेष्ठलाई पनि । भण्डारीकै संगतले वृद्धभत्ता खानु पर्ने ७६ वर्षको उमेरमा हातमा हतकडी लाग्यो । न्यानो ओछ्यानमा बस्नु पर्ने उमेरमा चिसो भुइँमा रात बिताउनु पर्ने बाध्यता आइलाग्यो । अमृत कुमार अर्याल । अमरदास मात्रै होइनन्, अमरदासका सहकर्मी अमृत कुमार अर्यालको हालत पनि त्यस्तै भयो । उनीहरू दुवै जनाले नेपाल बैंकमा सँगै काम गरे । सँगै बैंकबाट अवकास पाए । अमृतले पनि नेपाल बैंकमा ३१ वर्ष काम गरे । उनी पनि बैंकको विभिन्न शाखामा लामो समय काम गरे । कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भए । अमरदासकै सल्लाहमा पेन्सनबाट आएको रकम सोही लालिगुराँस सहकारीमा राखे । २०६५ सालमा सोही संस्थाको सञ्चालक बने । पछि उनी संस्थाको कोषाध्यक्ष बने । अमरदास र अमृतलाई आफ्नो काबुमा लिएर सुरेन्द्रले बचतकर्ताको बचत दुरुपयोग गरे । नेपाल बैंकमा अमृत र अमरदाससँग काम गरेका एक बैंकरले अनुभव सुनाउँदै भने, ‘उनीहरू जनताको पैसा ठग्ने क्यारेक्टर (चरित्र)को थिएनन्, अरुको लहैलहमा लाग्दा हिरासत पुग्नुर्‍यो ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको आरोपमा लालिगुराँस सहकारीका पदाधिकारी तथा सञ्चालकलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । प्रहरीले सो सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सीईओ सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ भएकी सञ्चालक समिति सदस्य प्रधान पनि लामो समय शिक्षण पेसामा थिइन् । पछि सहकारीमा लागिन् । अन्ततः त्यही सहकारीले शिक्षण पेसा गरेर कमाएको सम्मानलाई सकाइदियो । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको बताए । लालिगुराँस सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । गत माघमा उनीहरू विरुद्द महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ध्रुब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । उनका अनुसार अब उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइनेछ । यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइनेछ । सम्बन्धित सामग्री : न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध

प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने

पाटन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानअनुसार आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र भए पनि स्रोतको अभावले समस्या भएको बताए । उनले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिए । ‘सबै अस्पताललाई बागमती प्रदेश सरकारले औषधि, खोप, तालिम, गोष्ठीलगायत सहयोग गर्नेछ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछौँ, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरूको जीवन बीमा र बजेट व्यवस्था गरिएको छ, कसरी राम्रो गर्न सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालयले काम गरिरहेको छ ।’ उनले उत्पादनसँग जोडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याको सिकार बनिरहेकाले न्यूनीकरण गर्न मनोसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको जानकारी गराए । उनले समुदायसँग मिलेर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनेलगायत कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेको बताए । अनुभवले आर्जन गरेको सीपलाई पुस्तान्तरण गर्न महिला स्वयंसेविकालाई उनको आग्रह थियो । निराश नभई क्रियाशील रहन उनले अनुरोध गरे । ‘आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुको सुरक्षामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान प्राप्त गर्न सफल भएको छ,’ उनले भने । जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले ललितपुरको हकमा पाटन अस्पतालले मात्रै बिरामीको चाप थेग्न नसकेकाले प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूको क्षमता र सेवा सुविधा वृद्धि गर्नुपर्ने बताए । महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले सरकारले उपलब्ध गराएको सेवा सुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘निःस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ, आगामी दिनमा पनि गाउँटोलमा सेवा पु(याउनु हुनेछ भन्ने विश्वास छ,’ अध्यक्ष केसीले भने । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले संविधानले शिक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भए पनि संघ र प्रदेशका कार्यालयले गरेका कामका बारेमा जानकारी नहुने गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने विषयमा महिला स्वास्थ स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन र जनचेतना फैलाउन गरेको योगदानको प्रशंसा गरे । उनले बागमती गाउँपालिकाले स्वयंसेविकाको हितलाई ध्यान दिइ संघ र प्रदेशको अलावा थप सुविधा उपलब्ध गराइरहेको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले महिला स्वयंसेविकाहरूले बाल मृत्युदर, मातृ मृत्युदर घटाउन पु(याएको योगदानका कारण नेपालले सहस्राब्दी विकास लक्ष्य हासिलको पुरस्कार प्राप्त गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले छ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गरेका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रमाणपत्रसहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको हो । सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्य पूरा गर्न र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्य अनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५र४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका रूपमा परिणत गरेको थियो ।

तराईमा सुक्खा मौसमले दूध उत्पादनमा कमी

मकवानपुर । सुक्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध संकलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध संकलन गर्दै आएको थियो । सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो । हाल दैनिक ६ हजार लिटर दूध संकलन गर्ने गरेको छ । संकलित दूध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक ४ हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ । मधेस प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ । आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब १२ हजार कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक १ करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिए । आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ । लालमोहन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाइहरु आयोजनाले हेटौँडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ । हेटौँडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दूध विकास बोर्ड हेटौँडालाई धुलो दूध उत्पादन गर्न दुई देखि तीन दिनको अन्तरमा दुई हजार लिटर दूध पठाउने गरेको छ । बोर्डलाई दूध नपठाइएको दिनमा दुई हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागी खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिए । तराईमा बर्सात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ ।

नेपाल आइडल विजेता करण परियारलाई केपी ओलीले दिए सारंगी उपहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलका विजेता करण परियारलाई सारंगी उपहार दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले करणलाई बधाई दिँदै सारंगी उपहार दिएका हुन् । एमालेले नेपाल आइडल सिजन-५ का विजेता परियार र उप-विजेताहरूलाई बधाई तथा शुभकामना दिन आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएका झालाई अदालतले अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो । झालाई शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएपछि झा फरार भएका थिए ।

सूर्य नेपालले दियो तनहुँको शुक्लागण्डकी नगरपालिकालाई दमकल

काठमाडौं । सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका तनहुँलाई दमकल हस्तान्तरण गरेको छ । आइतबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त दमकल हस्तान्तरण गरेको हो । शुक्लागण्डकी नगरपालिको अनुरोधमा कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत दमकल हस्तान्तरण गरिएको  हाे । शुक्लागण्डकी नगरपालिकाका मयेर कृष्णराज पडिंतले दमकलबाट शुक्लागण्डकी नगरपालिका र यस वरपरका पालिका तथा, सिंगो तनहुँ जिल्ला र आसपासको क्षेत्रहरु समेत लाभान्वित हुने धारणा व्यक्त गरे । सूर्य नेपालका फ्याक्ट्री प्रमुख बाबुराम कार्कीले दमकलबाट शुक्लागण्डकी नगरपालिका लगायत यस आसपासका क्षेत्रले उचित लाभ लिनसक्ने बताए । उनले भविष्यमा समेत शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न सूर्य नेपाल सकारात्मक रहेको जानकारी गराए । कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाकाे टिम, सूर्य नेपाल तनुहँका प्रतिनिधि, विशेष प्रहरी बलका प्रमुख एसपी केदार खनाल लगायतको उपस्थिति थियो ।

स्टार्टअप व्यवसाय प्रर्वद्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् । प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना र स्टार्टअफ व्यवसाय प्रवद्र्धनका लागि नयाँ व्यवस्था गरिएको बताएका हुन् । त्यसबारे यसअघि सैद्धान्तिक छलफलमा समेत पर्याप्त जवाफ दिइसकेको उनको भनाइ थियो । गत साता संसद बैठकमा मन्त्री पुनले लगानी प्रर्वद्धनका लागि केही लचिलो नीति प्रस्ताव गरिएकाले लगानीकर्ताको मनोबल गिराउने अभिव्यक्ति नदिन सांसदहरुलाई आग्रह गरेका थिए । कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भएको अवस्थामा सम्बन्धित कम्पनीले आफ्नो सम्पत्ति तथा दायित्व निःसर्ग वा बिक्री गरेको मानिने प्रष्ट गरे । कम्पनीको स्वामित्व ५० प्रतिशतभन्दा बढी परिवर्तन भएको र पुराना सेयरधनी कायमै रहेको अवस्थामा नयाँ लगानीकर्तामार्फत थप पुँजी लगानी गरी ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भए पनि दफा ५७ आकर्षित नहुने व्यवस्था जानकारी दिए । उनले साविक आयकर ऐन २०५८ को दफा ५७ को व्यवस्थाले लगानी संकुचन गरेकाले संशोधन गर्न निजी क्षेत्रका छातान संस्थाले पटकपटक माग गर्दै आएको र यसपटकसमेत सोही माग गरेको जानकारी संसदलाई गराए । विद्यमान ऐनको अवस्थाले लगानी आप्रवाह निरुत्साहित गरेकाले संशोधन गर्नुपर्ने निजी क्षेत्रको माग सम्बोध नगरिएको उल्लेख गरे । ‘भेन्चर क्यापिटल’ र ‘प्राइभेट इक्विटी’ फण्डमार्फत आउने पुँजीलाई विद्यमान व्यवस्थाल निरुत्साहित गरेको गुनासो निजी क्षेत्रले राख्दै आएकामा सबै जानकार रहेको पनि बताए । ‘आयकर ऐन २०५८ को दफा ५७ मा गरिएको संशोधनबारेमा कम्पनी ऐनको व्यवस्थामा कम्पनीको ५० प्रतिशतभन्दा बढी नियन्त्रण र परिवर्तन हुँदा कम्पनीलाई निःसर्ग अथवा बिक्री सरह मान्नुपर्ने र सोहीअनुसानर कम्पनीको दायित्व र सम्पत्तिको मूल्याङ्कन गरी आय भएमा कर तिर्नुपर्ने र नोक्सानी भएमा सार्न नपाउने व्यवसथा साविकको आयकर ऐन २०५८ को दफा ५७ मा रहेको थियो’, उनले भने, ‘लामो समयदेखि निजी क्षेत्रले यो दफाले लगानी आप्रवाहलाई निरुत्साहित गरेकोले संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएको अवस्था थियो । चालु आर्थिक वर्षमा समेत निजी क्षेत्रका छाता संगठनबाट यो व्यवस्थामा संशोधन हुनुपर्ने सुझावहरु प्राप्त भए । खास गरी साना स्टार्टअप कम्पनीमा लगानी गर्ने ‘भेन्चर क्यापिटल’ र ‘प्राइभेट इक्विटी फण्ड’ मार्फत आउने पुँजीलाई यसले निरुत्साहित गरेको छ भन्ने गुनासोहरु थिए ।’ साना कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न नसकी नयाँ साझेदार वा लगानीकर्ता खोज्ने तर लगानी गर्दा साविकको कम्पनीको बिक्री सरहको व्यवहार गर्नुपर्ने व्यवस्थाले लगानीकर्ता आकर्षित नभएको भनाइ निजी क्षेत्रको रही आएको उनले स्मरण गरे । नयाँ आर्थिक ऐनमा उक्त दफामा केही खुकुलो गरी साविकको सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रहने व्यवस्था मात्र गरिएको जवाफ मन्त्री पुनले दिए । ‘सेयरवाला पनि यथावत र साझेदारको संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन । यति मात्रै गरिएको हो’, उनले भने, ‘पहिला जुन कमपनीको जे अवस्था थियो त्यसलाई कायमै राखी यदि नयाँ पुँजी वृद्धि गरिएको छ, साझेदार थपिएको छ भने त्यस्तो अवस्थामा मात्रै हो । उनले नयाँ व्यवस्थाबाट विचलन वा अनुचित काम हुन्छ कि भन्ने चिन्तालाई सरकारले ध्यान दिने प्रतिबद्धता जनाए । सेयरको खरिद बिक्रीलाई नभई कम्पनीको सेयर वृद्धिलाई मात्र सहुलियत दिने उद्देश्यले ल्याइएको व्यवस्थाबारे शंका नगर्न आग्रह गरे । ‘नयाँ साझेदार मात्र थपिन्छ र पुँजी वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा यो व्यवस्था गरिएको हो’, उनले भने, ‘यसरी सेयर खरिद–बिक्री हुँदैन र नयाँ साझेदार थप्ने पुँजी वृद्धि गर्ने मात्र कुरा हो । यसले खास गरी स्टार्टअपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा हो र यही स्पिरिटबाटै यो व्यवस्था विधेयकमा प्रस्तुत गरिएको छ ।’ मन्त्री पुनले कम्पनीको पुँजी वृद्धि गर्दा विभिन्न निकायहरुको अनुमति लिनैपर्ने व्यवस्था गरिएको जानकारी दिए । ‘खासर गरी सेयर संरचना गर्दा नियामक निकायहरको स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वीकृतिका लागि आन्तरिक राजश्व कार्यालयको राय मागिएको हुन्छ । यो सबै सन्दर्भमा संशोधित व्यवस्था कुनै दुरुपयोग हुने सम्भवना रहँदैन’, मन्त्री पुनले भने, ‘सम्बन्धित नियामक निकायँग समेत समन्वय गरी आन्तरिक राजश्व कार्यालयको सहमति लिनुपर्ने हुन्छ, मैले यो कुरा सैद्धान्तिक छलफलका क्रममा पनि राखेको छु ।’ उनले विनियोजन सँग सम्बन्धित कानूनहरुलाई वैज्ञानिक, पारदर्शी र लगानीमैत्री बनाउन आर्थिक विधेयकमा केही व्यवस्था थप एवं सामान्य वपरिवर्तन गर्न प्रस्ताव गरएको बताए । फरक प्रसंगमा मन्त्री पुनले सरकारको पेट्रोलियम पदार्थको खपत कम गरी जलविद्युतसहित नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे । पेट्रोलियम पदार्थको प्रयोग निरुत्साहित गर्न यसै वर्षदेखि हरित करको सुरुअत गर्ने व्यवस्था गरिएको जानकारी उनले दिए ।