विकासन्युज

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै २ लाख १ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । उक्त संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापक सेयर गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष खरिद आवेदन पेस गर्न सक्नेछन् । उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

टीकापुरमा असल करदातालाई सम्मान

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेमा पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशंकर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल, पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी छन् । यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ । सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताए । ‘पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ,’ उनले भने, ‘ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ ।’ यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भने, ‘समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।’ नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिए । ‘पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनुपर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ,’ उनले भने, ‘कर संकलन भएर देश चलेको छ, यसैले करदाता सम्मानको हकदार हुनुहुन्छ ।’

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीका नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

प्रतिकित्ता ७ सय रुपैयाँमा महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ निर्धारण गरिएको छ । बिक्रीमा राखिएको उक्त संस्थापक सेयर जुनसुकै व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । खरिद आवेदन दिन इच्छुकले ३५ दिनको अवधिभित्र काठमाडौं ठमेलस्थित संस्थाको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ ।

सूर्यज्योति लाइफको बोनस सेयर सूचीकृत

काठमाडौं । सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाबाट ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले ५६ लाख ५२ हजार ४५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दीपेश केसीले बताए। कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो । विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताए । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताए । पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताए । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् । गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ । बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको ७० लाख र बेनी नगरपाकिलाको ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो । ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताए । यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले ७६ लाख २१ हजार १ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न महासंघको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले २ सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले १ सय ८४ मत प्राप्त गरे । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरूमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । महाधिवेशनमा ४ सय ४६ प्रतिनिधि रहेका थिए ।

एसईई पूरक परीक्षा साउन २३ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएका थिए । यद्यपि, शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उनले जानकारी दिए । साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । गत बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेबाट सञ्चालन गर्ने जनाएको हो ।