ठेउलेखोलाको बाढीले सडक बगायो, कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा करिडोर अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन बाटोमै रोकिएका बताए । वर्षा रोकिएपछि आयोजनाले खुलाउने प्रयास गर्ने उनले बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुर्याएको छ । खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।
रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २७ गतेदेखि प्रतिकित्ता ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको जनाएको छ । लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। साउन १० गते बैंकिङ समयपछि यो आईपीओ निष्कासन बन्द हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बुधबार बस्दैछ । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।
नेशनल फण्डको हकप्रद सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि हकप्रद सेयर बिक्री खुला गरेकाे छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद सेयर बिक्री खुला गरेकाे हो । कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद बिक्री खुला गरेकाे छ । कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद सेयर खरिद गर्न इच्छुकले साउन २२ गते कार्यालय समयभित्र ललितपुर कुपण्डोलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम बुझाउनु सक्नेछन् ।
यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
काठमाडौं । देशभरि साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, गुल्मी, म्याग्दी, लमजुङ लगायतका जिल्लामा रहेका खोला र नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यस्तै, दोलखा र महोत्तरीमा पनि पानी परिरहेको छ । कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकोले त्यहाँ उच्च सतर्कता अपनाउन महाशााखले अनुरोध गरेको छ । यस्तै लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले खुदी खोला लगायत यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । आज पनि बागमती र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशमा कही भारी र कही अति भारी वर्षा हुने पूर्वानुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारले बढायो नुनको मूल्य, अब प्याकेटको कति पर्छ ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २३ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नुन एक किलोको १७ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै भानु नुन एक किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ ।
काठमाडौंमा अर्को ठूलो सहकारी ठगी, अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ
काठमाडौं । काठमाडौंमा फेरि अर्को सहकारीमा ठगी भएको छ । सहकारीका सञ्चालकले बचतकर्ताको बचत रकम अपचलन गरेर ठगी गरेका हुन् । ललितपुर महानगरपालिका वडा नं. २० मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई पक्राउ गरेको हो । सो सहकारीका सञ्चालकले सर्वसाधारणलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्ताहरुलाई हानी पु¥याई बचत कर्ताहरूको निक्षेप अपचलन गरी हाल सम्म ७ करोड १३ लाख ८६हजार ठगी गरेको बुझिएको छ । बचतकर्ताले २०८० चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएकोमा उक्त मिति देखि सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार रहेकोमा यस कार्यालयबाट खटिएको टोलीले २०८१ असार १७ गते बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उक्त सहकारीका अध्यक्ष समेत ३ जना संचालकलाई पक्राउ गरेको काठमाडौं प्रहरी अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवा रहेका छन् । अध्यक्ष महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रुपमा ४ वर्ष काम गरेको र २०७० सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रुपमा कार्यरत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनेजानेका, आफुले भनेको कुरा मान्ने मानिसहरू राखी बचतकर्ताको रकम आफुखुसी लगानी गर्दै आएको बुझिएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनी २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार प्रतिवादी देखिएको बुझिएको छ । यस्तै, संस्थाका उपाध्यक्ष मलिका महर्जन २०७६ सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेको देखिएको छ भने अर्पण कवा २०७६ सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको सचिव पदमा कार्यरत रहेको बुझिएको छ । हाल उनी इवामुरा कलेज, भक्तपुरमा प्रशासन शाखामा कार्यरत रहेको भन्ने बुझिएको छ । सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कुल १२ सय बचतकर्ता र बचतकर्ताको ४५ करोड बचत रहेको बुझिएको छ ।
डेंगु संक्रमणको जोखिम रोक्न बाँकेमा उच्च सतर्कता
नेपालगन्ज ।भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेंगु संक्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ । बाँकेका डेंगु रोग सम्पर्क व्यक्ति दुर्गा गौतमले बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ४ सय ५ जना डेंगुका संक्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताए । जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा ५, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा ९, खजुरा गाउँपालिकामा ४, जानकी गाउँपालिकामा ५, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा ५ जना डेंगुका बिरामी छन् । ‘बिरामीको संख्या बढ्दै गएको र अस्पताल आउने बिरामीको संख्या पनि बढ्दै गएकाले डेंगुको संक्रमण बढदो देखिएको छ,’ गौतमले भने । जिल्लामा डेंगु संक्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको डेंगु रोग सम्पर्कव्यक्ति गौतमले बताए । उनले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक भएको बताए । उनले डेंगुको संक्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो ६ महिनायता मात्रै नेपालगञ्जमा १ हजार २ सय ६८ जना डेंगु रोगबाट संक्रमित भएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेंगु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिएका छन् । डेंगुको विषाणुद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।