विकासन्युज

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्डिङ क्याम्पियन: ‘ढुक ढुक हैन, ढुक्क होऔँ’

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो । ‘जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सृजना गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । प्रसिद्ध कलाकार मनोज गजुरेललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिसकेको कम्पनीले यो ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उनलाई नै अनुबन्ध गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ । जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।

नेशनल लघुवित्त ११औं वर्षमा प्रवेश, २१ अर्बको लगानी

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले मंगलबारबाट आफ्नो कारोबार शुरू गरेको दशौं वर्ष पुरा गरी एघारौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिई वार्षिक उत्सव मनाईएको थियो । संस्थाले यस अबधि सम्म ७४ जिल्लाका १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २७ हजार घर परिवारमा आफ्नो सेवा विस्तार गरी उनीहरूलाई २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव ६ अर्ब रुपैयाँ बचत परिचालन गरेको छ । गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, डिजिटल बैकिंङ (मोवाईल बैकिङ, एस.एम.एस. बैकिङ, टयावलेट बैकिङ) सेवा उपलव्ध गराउदै आएको साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिदै आएकोमा अवका दिनमा पनि यी कुरालाई उच्च प्राथमिकतामा राखी अगाडी वढने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । संसद्मा दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने बताइएको छ । कांग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ ।

एसईईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

नवलपुर । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसईईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वल्र्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् । त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य माध्यमिक विद्यालय र प्राविधिक धारको जनता माध्यमिक विद्यालय अरुणखोला छन् ।सनराइजले सात विद्यार्थी, वल्र्ड लाइटले ६ विद्यार्थी, रत्नराज्यले ८ विद्यार्थी तथा जनता माविले २२ विद्यार्थी एसइईमा सहभागी गराएकामा सबै विद्यार्थी ‘अनुत्तीर्ण’ भएका एकाइ प्रमुख शर्माले जानकारी दिए । त्यसैगरी विनयी त्रिवेणीमा एक/एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । उनका अनुसार विनयी त्रिवेणीको संस्थागततर्फ दाउन्नेको अहिंसावादी महाबौद्ध अनाथ माध्यमिक विद्यालय तथा सामुदायिकतर्फ कुदापानीको भवानी माध्यमिक विद्यालयले एसइईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । अहिंसावादी विद्यालयबाट चार र भवानी माविबाट १० विद्यार्थी एसइईमा सहभागी भएका थिए । जिल्लाको गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार दमारको बालज्योति माध्यमिक विद्यालय र श्रीमद् रामानुज बेद विद्याश्रमको नतिजा शून्य आएको हो । बालज्योतिबाट ११ एवं बेद विद्याश्रमबाट तीन जना विद्यार्थी एसईईमा सहभागी थिए । गैँडाकोटको दमारमा रहेको विद्यालय जिल्लाकै बिकट ठाउँको विद्यालयको रूपमा रहेको उनले बताए । हुप्सेकोटको जनता माध्यमिक विद्यालय गुहेरी र जनकल्याण राष्ट्रिय माध्यमिक विद्यालय शङ्खदेवको नतिजा शून्य आएको छ । ती दुवै सामुदायिक विद्यालय हुन् । जनता माविबाट १५ जना विद्यार्थी र जनकल्याणबाट १८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । जिल्लाको बुलिङटारबाट एसईईमा सहभागी भएका विद्यालयमध्ये गोरखकाली माध्यमिक विद्यालय अर्खला र जनजागृति माध्यमिक विद्यालय ढाडबेँसीको नतिजा शून्य आएको छ । नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात र जनजागृतिबाट चार विद्यार्थी एसइईमा सामेल भएका एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार जिल्लाबाट सहभागी भएका प्रविधिक धारतर्फका आठवटा सामुदायिक विद्यालयमध्ये दुईवटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन् । रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय मुकुन्दपुर र डेढगाउँ माध्यमिक विद्यालयबाट एसईईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए । जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार पाँच सय २३ विद्यार्थी एसईईमा सहभागी भएकामध्ये एक हजार आठ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ उत्तीर्ण विद्यार्थी ४० प्रतिशत रहेका जनाउँदै एकाइ प्रमुख शर्माले सामुदायिक विद्यालयबाट दुई हजार ६ सय ७० विद्यार्थी ‘अनुत्तीर्ण’ भएका जानकारी दिए । संस्थागततर्फ ५२ विद्यालयका एक हजार चार सय चार विद्यालय एसईईमा सहभागी भएकामध्ये नौ सय ८७ विद्यार्थी उत्तीर्ण भएका शमाएको भनाइ छ । संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० रहेको रहेको जनाउँदै उनले संस्थागत विद्यालयबाट चार सय १७ विद्यार्थी एसईईमा ‘अनुत्तीर्ण’ भएका बताए । जिल्लामा अनुत्तीर्ण भएका तीन हजार ८७ विद्यार्थी साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल भएर उत्तीर्ण भए कक्षा ११ मा अध्ययन गर्न पाउने एकाइ प्रमुख शर्माले जानकारी दिए । जिल्लाका एक सय ३९ विद्यालयबाट एसईईमा सहभागी भएका पाँच हजार नौ सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय ४० विद्यार्थी उत्तीर्ण भएका उनले बताए । जिल्लामा एसइईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत ४७ दशमलब ९२ रहेको उनको भनाइ छ ।

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो। संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नपर्ने संस्थाले जनाएको छ । लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्न सक्नेछन । संस्थाका अनुसार तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको नवीकरण शुल्क बुझाउन खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिज् हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका खातावालाहरूलाई आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो । डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाहरूले आगामी साउन १५ गतेभित्र एनएमबि बैंक वा एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट वा आइएमई पे, खल्ती, कनेक्ट आईपीएस र प्रभु पेमार्फत भुक्तानी गर्न सक्नेछन् । कम्पनीका अनुसार समयमा सञ्चालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुनेछ ।

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए। योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताए । उनले भने, ‘यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ ।’ कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताए । हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उनको भनाइ छ । ‘म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सोअनुसार स्रोत परिचालित पनि भएन, उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ,’ योजना प्रमुख मगरले भने । म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उनले बताए । ‘नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ, हालकै निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ,’ उनले भने, ‘छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्ने नै हो ।’ सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीन वटाको समेत काम सुरु गरिएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उनले बताए । नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । करिब रु १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । दाउन्ने क्षेत्रमा समेत वर्षाका कारण सडक चिप्लो हुँदा सडक अवरुद्ध हुने गरेको छ । तर दाउन्नेभन्दा अहिले चोरमारा, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा रातो माटोका कारण सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम रहेको योजना प्रमुख मगरले बताए । रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उनले बताए । । बेस तयार भएको काम सके यात्रुलाई छ(सात किलोमिटर थप यात्रामा सहज हुने उनले बताए । रासस

ठेउलेखोलाको बाढीले सडक बगायो, कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा करिडोर अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन बाटोमै रोकिएका बताए । वर्षा रोकिएपछि आयोजनाले खुलाउने प्रयास गर्ने उनले बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ । खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।