उच्च अदालत जनकपुरधाममा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट
जनकपुर । उच्च अदालत जनकपुरधामले तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट भएको जनाएको हो । अदालतबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा अदालतलाई तोकेको लक्ष्यभन्दा एक सय ६४ दशमलव ५७ प्रतिशतले बढी मुद्दा फर्छ्यौट मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । उच्च अदालतलाई ती हजार सात सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकामा लक्ष्यभन्दा एक हजार पाँच सय ३७ मुद्दा बढी फर्छ्यौट भएका उनले बताए। ‘उच्च अदालतले पहिलोपटक यति धेरै सङ्ख्यामा मुद्दा फर्छ्यौट गरेको हो । यो देशभरि नै उच्च हो भन्ने हाम्रो अनुमान छ । हामीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिसहित न्यायसम्पादनको काम गरेका छौँ’, मुख्य न्यायाधीश पौडेलले भने । उच्च अदालतमा पुराना तथा नयाँ गरी दुई हजार एक सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले बताए ।
सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५ प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटल अन्तर्गत देशभर रहेका शाखामा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ तथा इन्टरनेस्नल बिजनेस प्रमुख जितबहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे । आरुष लाइफस्टाइल हस्पिटलका शाखाहरू कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगरमा छन् ।
डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका हुन् । ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । गत असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
महँगो निक्षेप सस्तैमा राष्ट्र बैंकमा थुपार्नुपर्छ, पुँजी कोष व्यवस्थापनमा समस्या छ
काठमाडौं । बैंकरहरूले सडकबाट ऋण तिर्दिन भन्ने समूहका कारण बैंकहरूको नाफामा गिरावट आएको बताएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा बैंकरहरूको मनोबल घटेको र महँगो ब्याजमा निक्षेप संकलन गरेर सस्तो ब्याजमा राष्ट्र बैंकमा राख्नु परेको बताएका हुन् । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले अहिले बैंकिङ क्षेत्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए । सरकारबाट समस्या समाधानका लागि उचित पहल हुनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ । ‘बैंकिङ क्षेत्र अप्ठ्यारोमा छ, केहीले सडकबाट ऋण तिर्दिन भन्न थालेका छन्, बैंकको नाफा घटेर करिब ८ प्रतिशत हाराहारीमा खुम्चिएको छ, बाफिया विधेयकमा भएका व्यवस्थाले संस्थागत लगानीकर्ता पनि उत्साहित छैनन्,’ उनले भने, ‘खराब कर्जा बढेको छ, बैंकिङ प्रणालीमा ६ खर्ब बराबर तरलता छ तर, लगानी गर्नसक्ने अवस्था छैन । बैंकको मनोबल निकै घटेको छ ।” उनका अनुसार बैंकहरूले महँगो ब्याजदरमा निक्षेप उठाएर सस्तोदरमा राष्ट्र बैंकमा थुपार्नुपर्ने अवस्था छ । निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने रकम भुक्तानी भएको अवस्थामा र विभिन्न क्षेत्रका दिइएको अनुदानको रकम सरकारले भुक्तानी गरेमा बैंकिङ क्षेत्रलाई सहज हुने उनले बताए । बैंकर्स सङ्घका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाको पुँजी कोष व्यवस्थापनमा समस्या देखिएको बताए । पुँजी कोषसम्बन्धी व्यवस्थालाई सहज बनाउन जोखिमभार घटाउनुपर्ने र केही लचिलो बनाउनुपर्ने उनको सुझाव छ । बैंक हकप्रद सेयर जारी गर्नसक्ने अवस्थामा नरहेको पनि उनले उल्लेख गरे । बाफिया विधेयकमा राखिएका व्यवस्था संशोधन नभई पारित भएर आएमा त्यसले थप समस्या पर्ने उनले बताए । चार वर्षभित्र पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने विद्यमान व्यवस्थालाई संशोधन गरेर हरेक वर्ष ‘फुल अडिट’ गर्नुपर्ने व्यवस्था ल्याइनुपर्ने, समयमा करारोपण हुनुपर्ने, राजस्व न्यायाधीकरण र सर्वोच्च अदालतमा रहेका मुद्दा फिर्ता लिन चाहेमा सरकारले त्यसका लागि केही छुटको व्यवस्था गर्नुपर्ने, विद्युतीय भुक्तानी गर्दा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्नुपर्ने, विभिन्न खालका विकास बण्ड तथा अन्तर्राष्ट्रिय बण्डलाई प्रोत्साहनको नीति लिनुपर्ने, आयकरको दर घटाउनुपर्नेलगायत सुझाव बैंकरहरूले दिएका छन् ।
राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गर्दिनँ, बाफिया संशोधन छिट्टै पारित हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले हस्तक्षेप नगर्ने बताएका छन् । मंगलबार बैंकरहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेप नगर्ने बताएका हुन् । बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट केही सहज व्यवस्था अपेक्षा गरिरहेको अवस्थामा राष्ट्र बैंकले सुझबुझपूर्ण तरिकाले मौद्रिक नीति ल्याउने विश्वास गरेको उनले बताए । ‘राष्ट्र बैंक स्वायत्त संस्था हो, म उसको क्षेत्राधिकारमा हस्तक्षेप गर्न हुँदैन भन्ने विश्वास राख्छु तर राष्ट्र बैंकले तपाईंहरूका जायज माग सम्बोधन गर्नेछ भन्ने नै लाग्छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भनेर विभिन्न अभियान चलाइनु गैरकानुनी क्रियाकलाप रहेको उनले बताए । साथै अर्थमन्त्री पौडेलले बैंकका कर्मचारीको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट समितिमा दफावार छलफलका लागि गएको र त्यसलाई चाँडै विवादरहित कानुनका रूपमा ल्याइने उनले विश्वास दिलाए । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन बाँकी रहेको भन्ने विषयमा आफूले अध्ययन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने उनले बताए । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानीबारे बाहिर एकथरी तथ्याङ्क प्रचार भएको र त्यसको वास्तविक तथ्याङ्क फरक रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी हुन नसक्नु र खराब कर्जा बढ्नु चिन्ताको विषय रहेको अर्थमन्त्री पौडेलले धारणा राखे । राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले स्थिर सरकार बनेसँगै समस्या समाधान हुँदै जाने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले स्थिर सरकार बनेकाले अब सम्पूर्ण ध्यान देशमा रहेका समस्या समाधानमा केन्द्रीत हुने र सोहीअनुसार बजारमा सकारात्मक सन्देश सम्प्रेषण गर्न बैंकरहरूसँग आग्रह गरे । ‘अर्थतन्त्र बिग्रनुमा विश्वव्यापी परिघटना र केही आन्तरिक कारण होलान् तर राजनीतिक अस्थिरता प्रमुख कारण हो । हाम्रो शासन प्रणालीअनुसार बन्नसक्ने सबैभन्दा स्थिर सरकार यहि हो, यो बलियो र टिकाउ सरकार हो, यसले निकास दिन्छ भन्ने सोच राख्नुहोला । तपाईंहरू विश्वास बोकेर फर्किनुस्, सरकारसँगै छ,’ उनले भने । अर्थतन्त्र सुधारका लागि नीतिगत रूपमा गर्नुपर्ने हस्तक्षेपका लागि सरकारले आवश्यक कदम चाल्ने पनि उनले स्पष्ट पारे । अहिलेको मुख्य चुनौती आममानिस र निजी क्षेत्रमा परेको निरासा चिर्नु रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । ‘अहिलेको चुनौती मनोबल बढाउने नै हो । कसैले पनि व्यवसाय विस्तार गर्नेबारे सोचिरहेको छैनन् । ठूलो लगानी गर्नेभन्दा पनि कसरी चल्ने र साँवाब्याज कसरी तिर्ने भन्नेतर्फ धेरैको सोच छ, यस्तो अवस्थामा सरकारले हरेक क्षेत्रको अभिभावकत्व ग्रहण गर्छ । अर्थतन्त्रका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधानका लागि सँगै प्रयास गर्न र प्रत्येक समस्यामा सँगै बसेर छलफल गर्न तयार छु,’ उनले भने ।
आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।
नवीकरणीय ऊर्जाका स्रोत प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् । परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग पनि भेट परिसङ्घको टोलीले मंगलबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरेको थियो । मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए । यस क्षेत्रको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिकाबारे लिखित रूपमै सुझाव उपलब्ध गराउन उहाँले निजी क्षेत्रलाई आग्रह गरे । परिसङ्घअन्तर्गतको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका महासचिव दीपक गौतमले देश विकासका लागि नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाल नवीकरण ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरे । परिसङ्घले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालसँग पनि भेटगरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रका प्राथमिकताबारे ध्यानाकर्षित गराएको छ ।
एनएमबी बैंकले ८.९९ प्रतिशतमा ईभी कर्जा दिने
काठमाडौं । एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधनहरू (ईभी) कर्जा दिने भएको छ । बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ईभी गाडी खरिद गर्न कर्जा दिने भएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्नेछन् ।