विकासन्युज

३५ दिनभित्र हायर पर्चेज कर्जा चुक्ता गर्न ऋणीलाई ताकेता, तोकिएको समयमा नतिरे कारबाहीको चेतावनी

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले हायर पर्चेज कर्जा लिएका ३६ जना ऋणीलाई कर्जा चुक्ता गर्न ताकेता गरेको छ । कम्पनीले ३५ दिनभित्र साविक हुलास फिन सर्भ लिमिटेडबाट हायर पर्चेज कर्जा सुविधा लिएका ३६ जना ऋणीलाई कर्जा चुक्ता गर्न ताकेता गरेको हो । ३५ दिनभित्र ऋणीले कर्जा चुक्ता नगरेमा ऋणी तथा जमानीकर्ताको नाम कालोसूचीमा समावेश गरिनुका साथै ऋण असूल उपर गर्न धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने तथा अन्य उपयुक्त कानुनी उपचार गरिने कम्पनीले चेतावनी दिएको छ ।

प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफबीच इक्विटी लगानी सम्झौता

काठमाडौं । प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा संस्थागत विकासको वृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता सम्पन्न भएको हो । रोयल सिङ्गी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरे । गुरुपूर्णिमाका अवसरमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थिति रहको थियो  । लगानीका क्षेत्रमा नेपालमा पहिलोपटक संस्थागत रूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ। शैक्षिक प्रवद्र्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राका क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६१ मा स्थापित प्रोफेसनल एजुकेटर्स लिमिटेडको नाम प्राज्ञिक जगतमा अग्रणी एवम गरिमामय छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुलरकलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पुर्‍याउँदै आएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा आरम्भ भएको शैक्षिक यात्राले आज सुनौलो गन्तव्य पहिल्याउन सफल भएको छ । यसका लागि कम्पनीले संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थी वर्गको भविष्य सुनिश्चित हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुन जाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ । अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ ।

धनीले कसरी खेल्छन् पैसाको खेल ?

अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, ‘मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।’ यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् । वास्तवमा तिनीहरु जेलाई सुरक्षित भनिरहेका छन् त्यो नै सबैभन्दा जोखिम हुने गर्छ । खासगरी नोकरीलाई जति मायाका साथ सुरक्षित ठानेका छन्, त्यो नै सबैभन्दा जोखिम हो । हाम्रा नीति, नियम र कानुनहरुलाई हेर्यो भने हामीले सुरक्षित ठानेको जागिरमा के कति जोखिम छ थाहा पाइहाल्छौँ । सम्झनुहोस् तपाईंले सबैभन्दा सुरक्षित ठानेको निजामती सेवा वा सरकारी संस्थानका नोकरीहरु किन असुरक्षित बन्न सक्छ ? तपाईं शारीरिक वा मानसिक रुपमा अशक्त हुनु भयो भने नेपाल सरकारले के तपाईंलाई तलब दिइरहन सक्छ ? पक्कै सक्दैन । सामान्यतया ९० दिन बिनाजानकारी गयल हुनुभयो भने पत्रिकामा सूचना निकालेर नोकरीबाट बिदाइको प्रक्रिया सुरु हुनेछ । अझ निजी संस्थामा त्योभन्दा कम केही दिन वा हप्तामा नै जागिर हुनेछ । तर एउटा मध्यम परिवारका मान्छे त्यसैलाई सुरक्षित ठान्छ र ‘धनी बुबा गरिब बुबा’ पुस्तकका लेखक रोबर्ट टी कियोसाकीले भने जस्तै ‘मुसा दौड’ मा आफूलाई बाँचुन्जेल दौडाइरहन्छ । धनीहरु यसैका लागि पैसाको खेल खेल्छन् तर गरिबहरु यसलाई बुझेर व्यावसायिक प्रणाली विकास गर्नुभन्दा तलब र पदोन्नतिका लागि बढी मरिहत्ते गर्छन् । ‘द प्याराबल अफ द पाइपलाइन’ मा लेखक बर्क हेजेसले दुई पात्र पाब्लो र बु्रनोको उदाहरण प्रस्तुत गर्दै एउटा सामान्य मान्छे कसरी धनी बन्न सक्छ रु कसरी आम्दानीको प्रणाली विकास गर्न सक्छ ? र कसरी सम्पत्ति सिर्जना गर्न सक्छ ? यसले कसरी धनी बनाउन सक्छ ? भनेर प्रस्तुत गरेका छन् । खासगरी ब्रुनो र पाब्लो एउटा गाउँमा बाल्टिनमा पानी बोकेर बेच्न तल्लीन रहन्छन् तर पाब्लो हाललाई ब्रुनोले भन्दा कम आम्दानी भए तापनि सँगै गाउँदेखि खोलासम्म पाइपलाइन बिच्छ्याउन थाल्छ तर जब ‘पाइपलाइन’ ओच्छाएर सफलता मिल्छ तब दीर्घकालमा बु्रनोको भन्दा धेरै आम्दानी पाब्लोको हुन जान्छ । अर्थात् पाब्लोबाट ऊ ‘पाब्लो द पाइपलाइन विल्डर म्यान’ बन्न पुग्छ तर ब्रुनो ‘बकेट क्यारियर’ अर्थात् ‘बकेट म्यान’ नै भइरहन्छ । पाब्लो आर्थिक रुपमा स्वतन्त्र हुन पुग्छ, ऊ जाँदा वा नजाँदा, बिरामी हुँदा वा नहुँदा सबै अवस्थामा आम्दानी भइरहन्छ तर ब्रुनो आफैँले काम गर्दा मात्र आम्दानी हुन सक्ने अवस्थामा रहन्छ । सधैँ ‘टाइम फर मनी ट्र्याप’ मा परिराख्छ । धनीहरु सधैँ पाब्लो जस्तै पाइपलाइन बिच्छ्याउन रुचाउँछन् । उनीहरु जान्दछन् पाइपलाइन नै ‘लाइफलाइन’ हो । आर्थिक स्वतन्त्रताका लागि हरेकले आफ्नो आम्दानीको पाइपलाइन बनाउन आवश्यक छ । हरेक धनीसँग आफू जान चाहेको गन्तव्यको स्पष्ट मार्गचित्र हुने गर्दछ । गरिबहरु हावामा मुक्का हाने जस्तै जिन्दगीको बास्केटबलमा बिनाबास्केट ‘स्कोर’ गर्न खोज्छन्, अझ अगाडि बढेरभन्दा गोलपोष्टबिना नै फुटबलमा गोल गर्न रुचाउँछन् । यसले उनीहरुलाई उद्देश्यहीन र दिशाहीन यात्रामा बरालिदिन्छ तर धनीहरु सधैँ स्पष्ट ‘ब्लुप्रिन्ट’ बोकेर आफ्नो यात्रामा लम्कने गर्दछन् । सम्पत्तिका विषयमा हामी स्पष्ट हुन आवश्यक छ । सिक्नका लागि काम गरौँ, कमाउनका लागि होइन धनीहरुले पनि जागिर गर्नेगर्छन् तर कहिले त्यसैबाट आर्थिक स्वतन्त्रता पाउने विश्वास गर्दैनन् । केवल अनुभव, सीप, बचत र ज्ञान लिनका लागि रोजगारी गर्ने गर्छन् । उनीहरु नोकरीसँग त्यस्तो प्रेम गर्दैनन् जुन मध्यम परिवारकाले गर्ने गर्छन्, जसको भरोसामा जीविकोपार्जन र सेवानिवृत्त कुर्न सक्छन् तर धनीहरु कहिले आफ्नो समय पैसाका लागि बर्बाद गर्न तयार रहँदैनन् । उनीहरुलाई थाहा छ समय सीमित छ तर पैसा असीमित छ । १२ महिना काम गरेर केवल आठ महिनाको मात्रै पारिश्रमिक पाइन्छ, करिब ३० प्रतिशत अर्थात् चार महिनामाथिको ज्याला पहिला कर तिरेर भुक्तानी हुने महिना वारि वा पारि जान नदिने अभियानले मानिसको समृद्धि र सम्पन्नताको ढोका ढक्ढक्याउन सक्दैन । यसैले नोकरीभन्दा थप केही गर्न आवश्यक छ । छुटको ‘अफर’ धनीहरु पनि सेलमा खरिद गर्न रुचाउँछन् तर गरिबहरुले जस्तो दरबारमार्ग र महलहरुमा होइन । उनीहरुलाई थाहा छ, ती सेलहरुमा गरिएको खर्च कहिले फर्केर आउन सक्दैन । यसैले उनीहरु शेयर बजार, रियलस्टेट र प्रतिफलमुखी लगानीका क्षेत्रहरु जहाँ पैसा बनाउन सकिन्छ त्यस्तो स्थानमा सेल लाग्दा किन्न रुचाउँछन् । सबैभन्दा गम्भीर प्रश्न केहो भने ‘वारेन्ट बफेट’ले भने जस्तै तिमी आफूलाई नचाहिने वस्तु जम्मा गरेर बस्छौँ भने त्यसको बदलामा चाहिने सामान छुट्ने छ । यसैले सेलमा जानुभन्दा पहिला त्यसलाई बुझ्ने कोशिस गरौँ । पहिला आफूलाई भुक्तान गरौँ  एउटा सामान्य व्यक्ति त्यही गर्छ जो हामी गर्ने गर्छौं अर्थात् आम्दानीबाट सबैभन्दा पहिला खर्च, नपुगेमा कर्जा सापटी र त्यति गर्दा पनि पैसा नसकिएमा बल्ल आफूलाई भुक्तानी गर्ने आम मानिसको आदत हो । बेबिलानको ‘सबैभन्दा धनी मानिस’ पुस्तकमा लेखक जर्ज एस क्लासनले खाली पर्स भर्ने सातवटा  तरिका बताएका छन् । त्योमध्ये ‘सबैभन्दा पहिला आफूलाई भुक्तान गर्नूहोस्’ एक चर्चित तरिका हो । लेखक ‘हरेक बिहान १० वटा अण्डा बास्केटमा राख्नुभयो र साँझमा नौवटा मात्रै निकाल्न थाल्नुभयो भने त्यो बास्केट भरिन कति समय लाग्ला सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् धनीहरुले १०/९० को त्यो सूत्र सिकेका छन् । यसैले सबैभन्दा पहिला जुनसुकै अवस्थामा पनि १० प्रतिशत आफूलाई भुक्तान गर्छन् अनि मात्रै बाँकी खर्च गर्ने गर्छन् ।’ उनीहरु पैसालाई काममा कसरी लगाउने जान्दछन् । तर एउटा गरिब व्यक्ति आम्दानी बढेसँगै खर्च बढाउन थाल्छ, अनि खर्चलाई नियन्त्रण गर्न सक्दैन । यो नै सबैभन्दा महाभूल हो । धनको अनौपचारिक शिक्षा पढौँ स्कुल शिक्षा र भान्छाको टेबलमा हुने शिक्षाको तागत फरकफरक हुने गर्छ । राज्य र शिक्षा नीति नागरिकलाई आर्थिक स्वतन्त्रताभन्दा पैसाको दासत्व स्वीकार्न लगाउने प्रकृतिको छ । रोबर्ट टी कियोसाकीले भने जस्तै ‘९७ प्रतिशत मानिससँग भएको सम्पत्ति र तीन प्रतिशत धनीसँग भएको धनदौलत बराबर हुनुको एउटै कारण अनौपचारिक शिक्षा हो ।’ उनको तर्क छ हरेक धनी व्यक्ति र सामान्य व्यक्तिले स्कूलमा लिएको शिक्षा समान छ तर उमेर बढ्दै जाँदा सम्पत्तिको मामलामा नतिजा किन फरक आउँछ ? कारण एउटै छ ती तीन प्रतिशत सम्भ्रान्त व्यक्तिले औपचारिक शिक्षाको साथ घरमा नै थप अनौपचारिक शिक्षा पाउन सफल भए । यसैको परिणाम धनको सम्बन्धमा अनौपचारिक शिक्षा पाउनेहरुले जागिरका लागि तयार पार्ने, लोकसेवाका लागि प्रोत्साहित गर्ने र पैसाको लागि मेहनत गर्न सिकाउने सीमित शिक्षा लिएकाहरुलाई काममा लगाएर आफू आर्थिक स्वतन्त्रता पाउन सफल भए । औपचारिक शिक्षाले हाम्रो सोच यसरी डोर्यायो कि दशैँको टीका लगाउँदा र जन्मोत्सव मनाउँदासमेत आफ्ना सन्ततिलाई आशीर्वाद दिँदा ‘स्कूल जाऔँ, राम्रो नम्बर ल्याऔँ र सुरक्षित जागिर खोजौँ’ भन्ने गर्छौं हामीले कहिले स्वीकार गरेनौँ । स्कूलमा त पैसाका बारेमा सिकाइ हुँदैन, बरु सबै समस्याको जड पैसालाई देखाइन्छ । जुनकुरा धनीहरुले बुझे र आफ्ना सन्तानहरुलाई पलङको सिरानीमा पल्टँदै गर्दा सिकाउन र थाले तर कमजोर परिवारकाले थाहा नै पाउन सकेका छैनन् । धनको जादुका लागि औपचारिक मात्र नभई अनौपचारिक शिक्षा मूल कुरा हुन आइपुगेको छ । लगानीमा भिन्नता हेरौँ   धनीहरु घाँटीमाथि लगानी गर्ने गर्छन् । तालिम, शिक्षा र प्रशिक्षण दिएर आफ्नो दिमागी कसरत गरिरहन्छन् । एउटा धनसम्बन्धी सूत्रमा अभ्यस्त भएपछि फेरि नयाँ सूत्र सिक्न थाल्छन् । उनीहरुलाई के थाहा छ भने त्यो गरीब होस् वा धनी हरेक व्यक्ति पैसा आउने काम दोहोर्याएर गर्ने गर्छ । गरिबहरु मान्नुहोस् बिहान मन नभएर पनि एउटा सवारी चालक पैसाका लागि साधन लिएर सडकमा निस्कन्छ । अर्को जागिरे रातभर आफ्नो नोकरीलाई गाली गरेर पनि १० बजे कार्यालयमा पुग्न हतारिन्छ तर धनीहरु पनि पैसाका लागि एउटै काम बारम्बार गर्ने गर्छन् तर उनीहरु आफूलाई मन परेको काम गर्ने गर्छन् । यसका लागि उनीहरुमा सिक्ने क्रम तबसम्म चलिरहन्छ जबसम्म आफूमा निपूर्णता आउँदैन । उनीहरु सिक्न रमाउँछन् तर एउटा मध्यम परिवारको मानिस घाँटीभन्दा तल लगानी गर्न रुचाउँछ । आफूलाई सम्पन्न देखाउन ब्रान्डेड कपडा, जुत्ता र चस्मामा लगानी गर्छ । अझ साथी र छिमेकलाई देखाउनकै लागि ठूला घर र गाडीहरु खरिद गर्छ । कहिले फिर्ता नहुने दायित्व बनेर भरिएको पर्स रित्ताउन मात्रै लागिपर्छ । यसले प्रतिफल दिन सक्दैन जुन कुरा धनीहरुले बुझेका हुन्छन् । प्रतिफल छिटो हुन सक्छ तर छोटो बाटो असम्भव आफैँ अर्बपति बनेकाहरु हेनरी फोर्ड र थोमस एडिसनजस्ता दुई हजारभन्दा बढी सफल व्यक्तिका बारेमा २० वर्ष लगाएर अध्ययन गरी लेखिएको ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकका लेखक नेपोलियन हिलले लेखेका छन्, ‘गर्भे चिट्ठा’ नपरेका अर्बपतिहरुले कहिले छोटो बाटोबाट आफूलाई स्थापित गर्न सकेनन् र छोटो बाटोको रुचि पनि राखेनन्, जब सफलता नजिक आएको थाहा पाए तब छिटो हुने उपाय भने खोजी गरेको देखियो ।’  कैयौँ छिटो सफल पनि भए । स्वयं वारेन्ट बफेटलाई हेर्ने हो भने जीवनको आठ दशक लगानी गरेर उनले बनाएको सम्पत्ति यदि त्यसको आधा दशक मात्रै गरेर छोडिदिएका भए के आजको यो सम्पन्नता सम्भव थियो रु अवश्य थिएन । यसैले धनीहरुले कारोबारी भएरभन्दा व्यवसाय र उद्योग नै स्थापना गरी लामो समयको अन्तरालमा शेयर बेचेर धनी भएको देखिन्छ । शेयर किनेर मात्र नभई सम्पत्ति सिर्जना र त्यसको शेयर बेचेर धनी हुन जान्नु आवश्यक छ । तर गरिबहरु आजको केही दिन वा हप्तामा लगानी गरेको दोब्बर वा कैयौँ गुणा सम्पत्ति बढ्ने लोभमा लगानी गर्ने गर्छन्, त्यो लगानी र व्यवसायमा सम्भव छैन । त्यसका लागि चिट्ठा किन्नु उपयुक्त हुन्छ । यसैले बफेटले भने जस्तै ‘लामो गतिमा दगुर्ने घोडामा बाजी लगाउनेहरुले कहिले हार्नु पर्दैन’ । धनीहरुले त्यो जानेका हुन्छन् । समग्रमा धनीहरुले मानिसको दिमागमा संसार हल्लाउन आउने विचारलाई कसरी वस्तुमा परिर्वतन गर्न सकिन्छ निरन्तर सिकिरहेका हुन्छन् । नयाँ सोच विकास गर्न र विकास भएका सोचलाई धनमा बदल्न आफूलाई निरन्तर प्रशिक्षित गर्दै आएका छन् । पैसाको सिद्धान्त पढेर नभई अभ्यासबाट मात्रै सम्भव देखिन्छ । यसैले धनीहरु शून्यबाट एक हुन सम्पत्ति सिर्जनाका नयाँ खोजमा निरन्तर आफूलाई लगाइरहेको देखिन्छ । सम्पत्तिको परिभाषा फेरिएर ‘टाइम इज मनी’ को स्थानमा ‘आइडिया इज मनी’ हुन आइपुगेको छ । संसारका केही धनीलाई उदाहरणका रुपमा लिने हो भने एलन मक्सले विवाइडी इलेक्ट्रिक भेकल, जेब बेजोफले अनलाइन कारोबार अमेजन र जुर्कर वर्कले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सम्पत्ति सिर्जना गरेर विश्वमा राज गरिरहेका छन् । हाल एलन मक्स न्युरोलिङ्कमार्फत सम्पत्ति सिर्जना गर्न तल्लीन छन् । सबैभन्दा चाखलाग्दो विषय त आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), द्रुतगतिको इन्टरनेट र रोबर्टको विकास जस्ता आधुनिक प्रविधिले गर्दा हिजो पाँच/छ दशकमा जन्मने अर्बपति अहिले दुई/तीन वर्षमा सजिलै सम्भव बनेको छ, जुन अनुसन्धान र विकासमा धनीहरु निरन्तर छन् । अर्कोतिर धनीहरु सधेँ छिटोभन्दा छिटो आर्जित आय (तलब र ज्याला आदि) लाई निष्क्रिय आय (भाडा र ब्याज आदि) र पोर्टफोलियो आय (शेयर र बन्डलगायत कागजी सम्पत्ति आदि) मा रुपान्तरण गर्न सक्रिय रहने गर्छन् । उनीहरुले बुझेका हुन्छन्, आर्जित आयलाई जतिछिटो बिर्सन सकिन्छ र बाँकी दुई आयको आकार र क्षेत्र बढाउन सकिन्छ । ‘फाइनान्सियल इनडिपेन्डेन्सी’ पुस्तकमा लेखक ग्रेन्ट सबाटियरले भने जस्तै ‘जीवनमा उति चाँडो आर्थिक स्वतन्त्रता र सेवा निवृत्ति लिन सम्भव छ’ । यसैले हरेक व्यक्तिले आम्दानीको पाइपलाइन, सम्पत्ति सिर्जना र आय रुपान्तरण कला जान्न, सिक्न र आफ्ना बालबालिकालाई सिकाउन थालौँ । धनीले कसरी खेल्छन् पैसाको खेल रु पढेर मात्रै पुग्दैन अलिकता अगाडि बढेर आफ्नो जीवनमा अभ्यास गरेर हेरौँ । रासस (लेखक सेयर बजारका जानकार हुन्)

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन होटल व्यवसायीको माग

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग सम्बोधनका लागि आग्रह गरेको छ । त्यसक्रममा उनीहरूले बढ्दै गएको होटल संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन र अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकारलाई आग्रह गरेका थिए । व्यवसायीको मागबारे उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताए । उनले व्यवसायीहरूले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने आश्वासन दिए । नेपालमा आउने भारतीय पर्यटकहरूबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको मन्त्री पौडेलले बताए । उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए । प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो ।

मानव बेचबिखनमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित होउन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिए । मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित होउन् भन्दै उनले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिए । अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न निर्देशन दिएका गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्छ भने । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उनको जोड थियो । विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताए ।

हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

मकवानपुर । काठमाडौंबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो । कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–७ न्यासुरमा राति गएको पहिरो हटाई आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । यसैबीच, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए ।

बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

बंगलादेश । बंगलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलकाबीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ । तिनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।’ सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ । समूहले तत्काल ह्याकर, ‘ओएसआइएनटी’ अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् । ‘न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस्’, ह्याकरहरुले चेतावनी दिएका छन् । उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ । बंगलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए ।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाकाे दाबी पेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा मंगलबार दाबी पेस गरेका हुन् । बागमती प्रदेशमा रहेको माओवादी नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यलयले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेका थिए । सोहीअनुसार एमालेको २७ र कांग्रेसको ३७ गरी ६४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् ।