प्रदीप पौडेल र बालेनबीच भेटघाट, ढल तथा सडक व्यवस्थापन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको संकल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए । भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो । बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको संकल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोवीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ । भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामि नीति तथा कार्यक्रम र प्राथमिकताहरुका बारेमा पनि छलफल भएको थियो । टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए । त्यस्तै, काठमाडौं महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुई बिच छलफल भएको छ । ‘हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधासम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,’ पौडेलले भने ।
सीईओ श्रेष्ठलाई प्रश्न : कम्पनीले पुँजी वृद्धि कसरी गर्दैछ ?
गत बैशाखमा राष्ट्रिय बीमा कम्पनको प्रमुख कार्यकारी अधिृकत (सीईओ)का रुपमा नियुक्त भएका डा. शिवहरि श्रेष्ठ परिचित नाम हो । यसअघि राष्ट्रिय बीमा संस्थानको प्रशासक समेत भएर काम गरिसकेका डा. श्रेष्ठले नेपाल खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धकका रुपमा र नेपाल औद्योगिक विकास निगममा पनि नेतृत्व गरिसकेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ समेत भएर काम गरिसकेका उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनै सीईओ श्रेष्ठसँग वर्तमान बीमा, व्यसाय, कम्पनीको पुँजी वृद्धिको योजना र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीको पुँजी साढे २ अर्ब रुपैयाँ हुनु पर्ने नीति बनाएको छ, राष्ट्रिय बीमा कम्पनीको पुँजी वृद्धिको योजना के–कस्तो छ ? राष्ट्रिय बीमा कम्पनीले सर्वप्रथम प्रथम मापदण्ड अनुसार चुक्ता पुँजी पुर्याउने विषयमा नयाँ क्यापिटल प्लान तयार गरिरहेको छ । केही समयपछि सो मापदण्ड पुर्याइनेछ । हामीले समावधिभित्र पुँजी पुर्याउने तयारी गरिरहेका छौं । कम्पनीले नयाँ-नयाँ पोलिसीहरू अनुसार सेवा प्रदान गरिरहेको छ भने स्वीकृत क्षेत्रहरूमा लगानी गर्नका लागि लगानी नीति तथा कार्य विधि २०८० तयार गरिरहेको छ । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर पर्यो । यो संकटबाट माथि उठ्न तपाईंको कम्पनीले कस्ता किसिमका अभ्यास गरिरहेको छ ? विश्व अथतन्त्र संकुचन भई सोको असर नेपाली अर्थतन्त्र र बीमा क्षेत्रमा समेत पर्याे । यस कम्पनीको व्यवसायमा पनि केही संकुचन आएको अवस्था छ । तर, केही नयाँ बीमाका प्रडक्टहरू ल्याई बीमा व्यवसायको दायरा र कम्पनीको व्यवसाय वृद्धि नै प्रमुख लक्ष्यका साथ अघि बढिरहेको छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंक र बीमा एक अर्काका परिपूरक हुन् । बैंकले लगानी गरेमा विभिन्न परियोजनाहरू अगाडि बढ्ने हो र त्यसैको बीमा गर्ने हो । तर, बैंकहरूले सोचेअनुसार लगानी गर्न सकिरहेका छैनन् । यो समस्याले प्रत्यक्ष रूपमा बीमा कम्पनीमा असर परेको छ । बैंकप्रति बढी निर्भरता नहुनका लागि बीमा क्षेत्रले स–साना किसिमका माइक्रोइन्स्योरेन्स प्रडक्ट ल्याउनुपर्छ र ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के-के छन् ? बीमामा अवसर नै अवसर छन् । नयाँ प्रडक्ट ल्याउन सकेमा धेरै व्यवसाय विस्तार गर्न सकिने ठाउँहरू छन् । अहिले जलवायु पविर्तनले गर्दा चुनौतीहरु थपिएका छन् र अवसरहरू पनि थपिएका छन् । जस्तै, साइबर सेक्युरिटी, स्वास्थ्य बीमा, माइक्रोइन्स्योरेन्स तथा क्रप्स एण्ड क्याटल इन्स्योरेन्स आदि रहेका छन् । अहिले बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमाका समस्याहरू धेरै छन् । सर्वसाधारणामा बीमाको चेतनाको स्तर कमी हुनु, दाबी भुक्तानी सरल नहुनु, बीमा गर्दा प्रिमियमलाई बढी बयान गरिनु । तर, दाबी लिनपर्छ भन्ने विषय कम महत्वमा रहनु हो । बीमा कम्पनीहरूको संरक्षण र प्रवद्र्धनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? नेपाल बीमा प्राधिकरण त बीमाको अभिवावक नै हो । प्राधिकरणले अभिवावकत्व निभाउँदै आएको छ र खेल्नुपर्ने भूमिका निभाएको पनि छ ।
पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार
काठमाडौं । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढ्दा कारोबार पाँच अर्ब ८९ करोड रुपैयाँ नाघेको थियो । नेप्से परिसूचक बिहीबार नौ दशमलव ३२ अंकले घट्दा कारोबार करिब रु ६ अर्ब ५० करोड नजिक पुगेको हो । नेप्से परिसूचक आज ०.४३ प्रतिशतले घटेर दुई हजार एक सय १२.२९ को बिन्दुमा कायम भएको छ । तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता सेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो । आजको कारोबारमा विकास बैंक समूह १.३ र वित्त समूह २.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान १.३ प्रतिशतले घटेका छन् । त्यस्तै, बैंकिङ ०.४३, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.१५, जलविद्युत् ०.५९ र लगानी ०.६४ प्रतिशतले घटेको छ । जीवन बीमा समूहको उपसूचक ०.५१, लघुवित्तको ०.३८, म्युचुअल फण्डको ०.११, निर्जीवन बीमाको ०.८२ र अन्य समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर सेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता सेयर किनबेच भएको छ ।
डिएभी कलेजमा ७ औँ अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न
काठमाडौं । ललितपुरस्थित डिएभी कलेजमा तीन दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन, काठमाडौं च्याप्टर–२.० को सातौँ एपिसोड भव्यताका साथ सम्पन्न भएको छ । जेठ २६ देखि २८ गते सम्म सञ्चालित सम्मेलनको विषयवस्तु ‘दिगो भविष्यका लागि कृषि, जैविक, वातावरण र जीवन विज्ञानमा विश्वव्यापी दृष्टिकोण’ रहेको थियो । हाइब्रिड मोडमा सञ्चालित कन्फ्रेन्समा विश्वका १४ देशका अनुसन्धानकर्ताहरू भौतिक र भर्चुअल रुपमा जोडिएका थिए । नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले यस्तो आशाजनक अवसरमा मुख्य अतिथिका रूपमा सहभागी हुन पाउनु ठूलो सम्मान र खुशीको कुरा भएको उल्लेख गरे । उनले विज्ञान र प्रविधि क्षेत्रका शिक्षाविद्हरूको उत्साह र सहभागिताको प्रशंसा गर्दै सम्मेलनले भावी पुस्ताको सुरक्षा र वर्तमान पुस्ताको आवश्यकता सँग सम्वन्धित प्रस्तुत भएका वैज्ञानिक समाधानका उपायहरूको प्रसंशा गरे । डिएभी कलेजका अध्यक्ष अनिल केडियाले कलेज परिसरमा बिज्ञान विषयका विद्वानहरूलाई स्वागत गर्दै दिगो भविष्यका लागि कृषि, जीवविज्ञान, वातावरण र जीवन विज्ञानको क्षेत्रमा काठमाडौँ विज्ञान सम्मेलन कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे । त्यसैगरी, विश्वव्यापी कृषि र वन्यजन्तु सेसनका लागि प्रस्तुत गरिएका अनुसन्धान पत्रहरूले कृत्रिम बुद्धिमत्ता र डिजिटल कृषि, नानो–सामग्रीको भूमिका, ग्लोबल मिलेट्स (श्री अन्न) कृषि र पशु चिकित्सा विज्ञान र कृषि–व्यवसाय व्यवस्थापन र मार्केटिङ प्रविधि लगायतका मुद्दाहरूलाई उठाएका थिए । उक्त सम्मेलन भारतको उत्तर प्रदेशको गाजियाबादस्थित कृषि प्रविधि विकास समाज (एटिडिएस) संयोजकत्वमा र नेपालको ललितपुरस्थित डिएभि कलेज (त्रिभुवन विश्वविद्यालय) को सहायतामा आयोजना गरिएको हो । यस सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय र कलेजहरूसहित कुल १४ वटा सरकारी निकाय, विश्वविद्यालय र अनुसन्धान एकाइहरू सह–आयोजकका भुमिकामा थिए । त्यसैगरी, भारतका विभिन्न राज्यहरूबाट समान सङ्ख्यामा आएका सहयोगी संस्थानहरूले सम्मेलनलाई विश्वभर पु-याउन सहयोग गरे । सबै प्रतिनिधिहरूले अनुसन्धानको उद्देश्य, परिकल्पना, विधि, परिणाम र निहितार्थ स्पष्ट रूपमा उल्लेख गर्दै सैद्धान्तिक दृष्टिकोण देखि वैचारिक र अनुभवजन्य अनुसन्धान पत्रहरू प्रस्तुत गरे । यस अनुसन्धान यात्रामा, पाँचवटा जर्नल प्रकाशन गृहहरू पनि संलग्न थिए । यसबाहेक सम्मेलनमा धेरै मौखिक र पोस्टर प्रस्तुत गरियो । सम्मेलनमा १६१७ अबधारणा प्रस्तुत गरिएका थिए । करिब १००० जनाको उपस्थिति थियो । ६५० जना भौतिक रुपमै उपस्थित थिए भने बाँकी भर्चुअल रुपमा जोडिएका थिए । मौखिक प्रस्तुतिका लागी मात्र ३६५ जनाको भौतिक उपस्थिति र ३८० जनाको भर्चुअल उपस्थिति थियो भने पोस्टर प्रतुतिका लागी २८० जना भौतिक र ४१० जना भर्चुअल रुपमा उपस्थित थिए । मौखिक र पोस्टरका विषयवस्तुहरु मुलतः सोईल साइन्स्, एग्रोनोमी, जेनेटिक्स्, प्लान्ट् ब्रिडीङ्ग, माइक्रोबायलोजी, केमेस्ट्री र वायोटेक्नोलोजी संग सम्बन्धित थिए । उक्त सम्मेलनको आयोजक कमिटीका अध्यक्ष प्रा.डा.ए.पी. गर्ग, सचिव डा. जोगिन्दर सिंह र डा. एस.पी. विष्ट, कार्यकारी अध्यक्ष र सहसंयोजक, डिएभी कलेजका प्रोग्राम कोर्डिनेटर शशि भुषण चर्तुवेदी सहसंयोजकको भूमिकामा थिए । उक्त सम्मेलनका क्रममा कुल २४ विधाका ग्लोबल इन्टरनेशनल कन्फरेन्स अवार्ड (एटिडिएस, २०२४) द्वारा योग्य प्रतिनिधिहरूलाई सम्मान समेत प्रदान गरिएको थियो । लाइफटाइम र स्थायी उपलब्धिदेखि विभिन्न तह र तप्काका वैज्ञानिकहरू, लेखकहरू र शिक्षकहरूलाई ज्ञानका विभिन्न क्षेत्रहरूमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । विज्ञान र प्रविधिको ज्ञान प्रवाहका लागि लगभग एक सय अग्रणी शिक्षाविद्, प्राध्यापक, विशेषज्ञ, संस्थापक र प्रबन्धकहरू थिए । यसबाहेक सह–संयोजकका रूपमा ३० जना र व्यवस्थापन तथा क्वेरी कमिटीका २० जना व्यक्तिको सहभागिता रहेको थियो । आयोजक कमिटीका अध्यक्ष प्रा.डा. अम्मर गर्गले कार्यक्रमलाई भव्य, सभ्य एंव दिव्य रुपमा सम्पन्न गर्न विभिन्न भुमिका र जिम्मेवारीमा रहेका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै सम्मेलन औपचारिक रुपमा समापन गरेका थिए । कार्यक्रमलाई सफलतापूर्वक सम्पन गर्न रिचा चौधरी, सुदीप अधिकारी, श्रीलता वाग्ले, अन्जना चौधरी र सीमा अधिकारीको उल्लेख्य भूमिका रहेको थियो ।
‘सरकारी मापदण्डका कारणका निर्माण व्यवसायीले विभिन्न समस्या झेल्दै आएका छन्’
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले जनाएको छ । निर्माण कार्यका लागि अत्यावश्यक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन उद्योगहरूको नवीकरण सम्बन्धी विषय आर्थिक वर्ष ०८१/८२ को बजेटमा सम्बोधन नभएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १ गतेबाट आन्दोलन शुरु गर्दैछ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रोशन दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै क्रसर तथा खानी व्यवसायीहरूको समस्यालाई महासंघले महसुस गरेको उल्लेख गरेका छन् । ‘तत्कालीन कानुन अनुसार अनुमति पत्र लिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन उद्योगहरूले त्यसपछिका मितिमा जारी भएका सरकारी मापदण्डका कारण विभिन्न समस्या झेल्दै आएको र त्यसको मार निर्माण व्यवसायीहरूले पनि खेप्नु परेको तथ्यलाई निर्माण उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने यस महासंघले पनि गम्भीर रुपमा लिएको छ’, विज्ञप्तिमा लेखिएको छ । यस्तो आन्दोलनबाट सार्वजनिक खरिद नियमावलीको तेहाै संशोधन पश्चात् म्याद थप भई सुचारु हुन लागेका एवं अन्य सम्पूर्ण आयोजनाहरूको कार्यान्वयन एवं सम्पादनमा गम्भीर असर पर्ने नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा असार एकबाट आन्दोलन थाल्दा मुलुकको समग्र अर्थतन्त्र नै अत्यन्त शिथिल रहेको वर्तमान अवस्थामा निर्माण कार्यहरू ठप्प भई निर्माण उद्योग र समस्त निर्माण व्यवसायीहरूलाई अझ मार पर्ने विज्ञप्तिमा जनाइएको छ । तत्कालका लागि आन्दोलनमा पुर्नविचार गर्दै सरकारसँगको वार्ता र संवादबाटै समस्याको निकास खोज्न र सम्बन्धित् व्यवसायीहरूलाई तत्काल वार्तामा बोलाउन समेत नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकार समक्ष अनुरोध गरेको छ । साथै निर्माण कार्यहरू आर्थिक वर्षको समाप्तीमा सम्पन्न गर्ने गरी आवश्यक वातावरण बनाइदिन समेत महासंघले विज्ञप्ति मार्फत् नेपाल सरकार समक्ष माग गरेको छ ।
ऊर्जा सुरक्षा र दिगोपनामा जलविद्युत् तथा सौर्य ऊर्जाको एकीकृत विकासमा जोड
काठमाडौं । जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा पानीको अभाव हुन थालेको जलविद्युत्मा भएको पूर्ण निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाका स्रोतहरु जस्तै सोलार पिभीमा आधारित विद्युत उत्पादनलाई जोड दिनुपर्ने एक अध्ययनले देखाएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र जर्मन सहयोग नियोग जिआइजेडद्वारा सञ्चालित आर्थिक विकासको लागि सौर्य प्रविधि प्रवर्द्धन कार्यक्रमको सहयोगमा ‘नेपालको ऊर्जा सम्मिश्रणमा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकास’ विषयमा गरिएको अध्ययन प्रतिवेदनमा नेपालमा जलविद्युत तथा सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेकाले यसलाई समपूरक रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । अध्ययन प्रतिवेदनको अन्तिम निष्कर्षहरूलाई सम्बन्धित सम्पूर्ण सरोकारवालासमक्ष प्रस्तुत गर्ने उद्देश्यले यहाँ आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले अध्ययन प्रतिवेदनले नेपाललको ऊर्जा क्षेत्रको समग्र विश्लेषण गरी आगामी दिनमा ऊर्जा सुरक्षा र निर्यातका लागि जलविद्युत्सँगै सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको विकास र विस्तारमा जोड दिइने बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जलविद्युत्मा निर्भर विद्युत प्रणालीले सुक्खा याममा आवश्यक आपूर्ति गर्न नसक्ने हुँदा सौर्य ऊर्जालाई पनि सँगसँगै विकास गर्नुपर्नेमा जोड दिँदै पछिल्लो समय सोलार प्यानलको मूल्यमा भएको गिरावटका कारण यसको लागत कम हुँदा दिगो, स्वच्छ र दिगो ऊर्जा क्षेत्रको विकास गर्न नीतिगत र लगानीको वातावरण निर्माण गर्नुपर्ने बताए । नेपालले पेरिस सम्झौतामा प्रतिबद्धता जनाएबमोजिम सन् २०४५ सम्ममा खुद शून्य उत्सर्जनको लक्ष्य हासिल गर्नका लागि जलविद्युतबाहेकका नवीकरणीय ऊर्जाको विकास गर्नुपर्नेछ भने सन् २०३० सम्ममा २० प्रतिशत ऊर्जाको खपत नवीकरणीय स्रोतबाट गर्ने आवधिक योजनामा उल्लेख छ । नेपालले दोस्रो राष्ट्रिय निर्धारित योगदान (२०२०) को प्रतिवेदनले २०३० सम्ममा पाँच हजार मेगावाट क्षमता बराबर नवीकरणीय ऊर्जाबाट विद्युत उत्पादन गर्ने लक्ष्य तय गरेको छ । कोप-२८ मा गरिएको संकल्प प्रस्तावमा समेत नेपालले पेट्रोलियम पदार्थको प्रयोगमा न्यूनीकरण गर्ने तथा नवीकरणीय ऊर्जाको लगानीलाई वृद्धि गर्ने भन्ने प्रतिबद्धता जनाएको सन्दर्भमा जलविद्युत् तथा सौर्य ऊर्जाको सम्मिश्रणमा जोड दिनु आवश्यक भएको कार्यकारी निर्देशक ढकाल बताउँछन् । सौर्य ऊर्जा र जलविद्युत्लाई एकीकृत रूपमा विकास गर्ने हो भने दिउँसोको समयमा सौर्य विद्युत्लाई उपभोग गर्ने तथा पानीलाई जलाशयमा सञ्चित गरी विद्युत् माग उच्च भएको समयमा सञ्चित पानीको प्रयोग गरी थप विद्युत आपूर्ति गर्न सकिने छ । यदि सोलार पिभीको विकासलाई विस्तार गर्ने हो भने जलविद्युत्को जलाशयमा थप पानी सञ्चित गर्न सकिने र सुक्खा मौसममा आवश्यकतानुसार दैनिक विद्युत्को मागबमोजिम आपूर्ति व्यवस्थापन गर्न सकिने हुँदा भारतबाट महँगो शुल्कमा हुने विद्युतको आयातमा न्यूनीकरण गर्न मद्दत पुग्ने अध्ययनको निष्कर्ष छ । वर्षायामको समयमा पर्याप्त विद्युत् उत्पादन हुने तर सुक्खा मौसममा विद्युत उत्पादन घट्न गई पर्याप्त विद्युत्को अभाव हुने हुँदा यस्तो मौसमी उतारचढावलाई न्यूनीकरण गर्न र कुल उर्जाको लागतहरूलाई कम गर्नका लागि सौर्य विद्युत भरपर्दो विकल्प हुनसक्ने बताइएको छ । कुल जडित क्षमताको करिब ९५ प्रतिशत विद्युत् जलविद्युतबाट उत्पादन भएको छ । सुक्खायाममा सौर्य ऊर्जाको उत्पादन बढी हुने गर्दछ भने जलविद्युतक उत्पादन कम हुने हुँदा सौर्य ऊर्जा र जलविद्युत्लाई एकीकृत रूपमा विकास गर्ने हो भने दिउँसोको समयमा सौर्य विद्युतलाई उपभोग गर्ने र पानीलाई जलाशयमा सञ्चित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । नेपालले सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको क्षमता वृद्धि गर्न सकेको खण्डमा व्यापार असन्तुलनलाई घटाउन सकिनेछ । नेपालले अहिले पनि अधिकतम विद्युत् महँगोमा खरिद गर्ने (औसत मूल्य प्रतियुनिट रु १०.४८ देखि रु ३२ सम्म) र सस्तोमा बिक्री गर्ने (औसत मूल्य प्रतियुनिट रु ७.०२) अवस्था रहँदै आएको छ । सुक्खायाममा सहज विद्युत आपूर्तिका लागि भारतसँग निर्भर हुनुपर्ने बाध्यताको अन्त्यका लागि ऊर्जा सम्मिश्रणमा जानुको विकल्प नरहेको अध्ययन टोलीका प्रमुख डा. शालिग्राम पोखरेल बताउँछन् । सौर्य ऊर्जा आयोजनाहरूलाई जलाशययुक्त जलविद्युत आयोजनाहरूसँग संयुक्त रूपमा विकास गर्नसकेको खण्डमा सुक्खायाममा भारतबाट हुने विद्युत आयातलाई तत्काल घटाउन सकिने उनको भनाइ छ ।
व्यावसायिकरूपमा सञ्चालनमा आयो बन्दीपुर केबलकार
डुम्रे । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केबलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केबलकार मार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको कार्यकारी अधिकृत किरण पोख्रेलले बताए । पोख्रेलले भने, ‘वैशाख १ गते शुभ मुहूर्त तथा वास्तुपूजा गरी आंशिक रुपमा सञ्चालनमा ल्याएका थियौँ । आजदेखि व्यावसायिक रुपमा सञ्चालन गर्न लागेका हौँ ।’ टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब एक वर्ष अघिदेखि नै केबलकारको सम्पूर्ण मेकानिकल सामग्रीको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टियुभी’ प्रमाणपत्र प्राप्त भएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केवलकार सञ्चालनका लागि खुल्ला गरिएको हो’, उनले भने । ‘केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने छ । यसले पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छौँ’, अध्यक्ष शर्माले भने । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् । प्रति घण्टा पाँच यात्रु बोक्न सक्ने क्षमता रहेको यस केवलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।
लघुवित्त पीडितले गरे देशव्यापी आन्दोलन घोषणा
काठमाडौं । आगामी असार १६ गतेदेखि लघुवित्त पीडितहरूले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । पीडितहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै वित्तीय संस्थाविरुद्ध अन्दोलनको घोषणा गरेका हुन् । पीडितहरूले लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति गठन गरेका छन् । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि देशव्यापी आन्दोलन गरिने बताए । वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन गर्न बाध्य भएको ज्ञवालीको भनाइ थियो । समितले कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरेको छ । शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई समितिको चेतावनी छ ।