पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन होटल व्यवसायीको माग

<p>काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग सम्बोधनका लागि आग्रह गरेको छ । त्यसक्रममा उनीहरूले बढ्दै गएको होटल संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग सम्बोधनका लागि आग्रह गरेको छ ।

त्यसक्रममा उनीहरूले बढ्दै गएको होटल संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन र अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्ग विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकारलाई आग्रह गरेका थिए ।

व्यवसायीको मागबारे उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताए ।

उनले व्यवसायीहरूले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने आश्वासन दिए ।

नेपालमा आउने भारतीय पर्यटकहरूबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरूमा मन्त्रालय सकारात्मक रहेको मन्त्री पौडेलले बताए ।

उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए ।

प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरू सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो ।

Share News