विकासन्युज

ज्येष्ठ सदस्यको रूपमा प्रतिनिधिसभाको पहिलो बैठक सांसद केसीले चलाउने

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गर्ने भएका छन् । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनले प्रारम्भिक बैठक सञ्चालन गर्ने जिम्मेवारी पाउने भएका हुन् ।  अभिलेखअनुसार सांसद केसीको उमेर ७७ वर्ष रहेको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । नेपालको संविधानको धारा १९ को ५ ले उपस्थित सदस्यहरूमध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार केसीले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । उनी प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन् । पहिलो बैठकमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशनसम्बन्धी पत्र वाचन, सभामुख तथा उपसभामुख चयन प्रक्रियाको सुरुआत र आवश्यक प्रारम्भिक कार्यसूची तय गरिनेछ । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यकै अध्यक्षतामा बैठक सञ्चालन हुने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई संसदीय प्रक्रियाको औपचारिक सुरुआतका रूपमा लिइन्छ । सभामुख निर्वाचित भएपछि भने प्रतिनिधिसभाको नियमित अध्यक्षता सभामुखले नै गर्नेछन्।

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

काठमाडौं । अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ ।      अध्यागमन विभागले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एन्फाबाट सञ्चालित राष्ट्रिय महिला र पुरुष लिग फुटबल प्रतियोगितामा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई मात्र समावेश गराउन आग्रह गरेको हो ।      एन्फाबाट सञ्चालन भएको राष्ट्रिय महिला र पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ । तसर्थ कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ विज्ञप्तिमा उल्लेख गरेको छ ।  विभागले यस विषयमा आजैदेखि अनुगमन प्रारम्भ गरेको समेत जनाएको छ । स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरीत कुनै पनि खेलमा सहभागी भएको पाएमा तत्काल कारबाही अगाडि बढाइने विज्ञप्तिमा जनाएको छ ।      

सेयर बजार ६४.६७ अंक बढ्यो, २१.२२ अर्बको करोबार

काठमाडौं । साताको अन्तिम दिन पुँजी बजारमा दोहोरो अंकको बढोत्तरीसँगै कारोबार रकममा उच्च वृद्धि भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२९ प्रतिशत अर्थात् ६४.६७ अंक बढेर २ हजार ८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।  दिनभर बजारमा उतारचढाव हुँदा २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेका अनुसार दिनभर कारोबारमा आएका कम्पनीहरूमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । तर, विभिन्न २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।  नेप्सेका अनुसार बिहीबार बैंकिङ समूह ३.१६ प्रतिशत, विकास बैंक समूह ३.९५ प्रतिशत, फाइनान्स समूह १.९४ प्रतिशत, होटल तथा पर्यटन समूह १.७५ प्रतिशत, जलविद्युत समूह २.२९ प्रतिशत, लगानी समूह १.७७ प्रतिशत, जीवन बीमा समूह २.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.८९ प्रतिशत, लघुवित्त समूह १.२४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०४ प्रतिशत, निर्जीवन बीमा समूह १.८० प्रतिशत, अन्य समूह १.९७ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशत बढेको छ ।  बिहीबार कर्पाेरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, होटेल फरेस्ट इनको सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ ।  नेप्सेका अनुसार ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँ, आँखु खोला जलविद्युत कम्पनीको ५९ करोड ५७ लाख रुपैयाँ, अपर तामाकोशीको ५९ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

फोनपोइन्ट र श्रीएयरलाइन्सबीच सहकार्य, क्यासब्याक अफर र दैनिक उडान टिकट जित्ने अवसर

काठमाडौं । फोनपोइन्टले श्रीएयरलाइन्ससँग सहकार्य गर्दै नेपालभरका प्रयोगकर्ताका लागि आन्तरिक हवाई यात्रा थप किफायती र लाभदायक बनाउने उद्देश्यले विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । सहकार्यअन्तर्गत प्रयोगकर्ताले ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यससँगै फोनपोइन्टले १५ जना भाग्यशाली विजेतालाई काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं उडान टिकट जित्ने अवसर प्रदान गर्ने लक्की ड्र योजना पनि सुरु गरेको छ । कम्पनीका अनुसार विजेता प्रत्येक दिन चयन गरिनेछन्, जसले प्रयोगकर्तालाई निःशुल्क हवाई यात्रा जित्ने अवसर प्रदान गर्नेछ । उक्त अफर फोनपोइन्ट, इसेवा तथा फोनपे एपमार्फत सहज रूपमा पहुँचयोग्य रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले एपभित्रैबाट सहभागी भई अफरको लाभ लिन सक्नेछन् । यस पहलले दैनिक डिजिटल कारोबारलाई पुरस्कारमा रूपान्तरण गर्दै प्रयोगकर्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने लक्ष्य राखिएको बताइएको छ । फोनपोइन्ट एपमार्फत अफर रिडिम गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यस सहकार्यले फोनपोइन्टलाई नेपालकै डिजिटल रिवार्ड्स प्लेटफर्मका रूपमा थप मजबुत बनाउँदै प्रयोगकर्तालाई उच्च मूल्य, सुविधा तथा स्मरणीय यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

‘भ्लगर’माथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।  कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका- ६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ पक्राउ परेका हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अब विदेश पुगेपछि पनि नेपाली नम्बर सक्रिय, नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोगकर्ताले अब विश्वका ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका छन् । कम्पनीले ती देशका ८९ वटा दूरसञ्चार सेवा प्रदायकसँग सम्झौता गरेसँगै सेवा विस्तार गरिएको जनाएको छ । नेपाल टेलिकमका अनुसार चालु आर्थिक वर्षको साउन महिनापछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता भएको छ । साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकसँग पनि रोमिङ सेवा विस्तारका लागि सहकार्य गरिएको छ । यसअघि नै अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लिच्टेन्सटाइन, लक्जेम्बर्ग लगायत विभिन्न देशमा रोमिङ सेवा उपलब्ध रहेको थियो । अहिले मलेसिया, मकाउ, माल्टा, मौरिसस, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, फिलिपिन्स, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्विडेन, स्विजरल्यान्ड, थाइल्यान्ड, युएई, युके, युएसए, उज्वेकिस्तान, भियतनाम लगायत देशमा समेत सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ । रोमिङ सेवा अन्तर्गत भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीलाई लक्षित गर्दै उपलब्ध गराएका सेवामध्ये रोमिङ सेवा निकै उपयोगी रहेको जनाएको छ । आगामी दिनमा थप देशमा पनि सेवा विस्तार गरिने कम्पनीको योजना छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ । भारतमा भने मोबाइलबाट *१४१५# डायल गरी मेनुमा गएर ‘रोमिङ’ विकल्प छनोट गर्नुपर्ने हुन्छ । पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सञ्चालनका लागि मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्ने नेपाल टेलिकमले जनाएको छ । नेपालमै रहँदा *१४१५# डायल गरेर रोमिङ सेवा सक्रिय गर्न सकिनेछ । विदेश पुगेपछि सेवा सक्रिय नगरेको अवस्थामा इमेलमार्फत अनुरोध गरेर पनि सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि नेपाल टेलिकमको वेबसाइटबाट फाराम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा पासपोर्टको प्रतिलिपिसहित इमेल गर्नुपर्ने हुन्छ । प्राप्त अनुरोधलाई कम्पनीको रोमिङ सपोर्ट टोलीले प्रमाणीकरण गरेपछि सेवा सक्रिय गरिने जनाइएको छ । रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ । भारत बाहेक अन्य देशमा नेटवर्क स्वतः कनेक्ट हुने व्यवस्था भए पनि भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने हुन्छ । अन्य देशमा स्वतः कनेक्ट नभए मोबाइलको नेटवर्क सेटिङमा गएर आफूले सेवा प्रदायक छनोट गर्न सकिने कम्पनीले जनाएको छ । रोमिङ सेवासम्बन्धी थप जानकारी वा गुनासोका लागि नेपाल टेलिकमको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।    

स्नातकोत्तर तहमा छात्रवृत्तिमा पढ्ने अवसर, पोखरा विश्वविद्यालयले माग्यो आवेदन

काठमाडौं । पोखरा विश्वविद्यालयले  छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन आह्वान गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय अन्तगर्तका आंगिक स्कुल तथा सम्बन्धन प्राप्त कलेजहरूको स्तानोकोत्तर तहका ‘मार्च इन्टेक २०२६’ कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन मागेको हो ।  विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार पोखरा विश्वविद्यालय छात्रवृत्ति सम्बन्धी नियमावली, २०६५ अनुसार योग्य उम्मेदवार छनोट गरिनेछ । न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले प्रवेश परीक्षाका लागि अनलाइनमार्फत दरखास्त फाराम भर्न सक्नेछन् । विश्वविद्यालयले मास्टर अफ कम्प्युटर इन्जिनियरिङ कार्यक्रम तर्फ ६ जना, मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स तर्फ तीन जना, मास्टर अफ साइन्स इन स्ट्रक्चरल इन्जिनियरिङ तर्फ चार जना, मास्टर अफ साइन्स इन कन्ट्रक्सन म्यानेजमेन्ट तर्फ १५ जना, मास्टर अफ साइन्स इन ट्रान्सपोटेशन इन्जिनियरिङ तर्फ ९ जना, मास्टर अफ साइन्स इन इन्भारोमेन्टल साइन्स इन एण्ड  म्यानेजमेन्ट तर्फ तीन र मास्टर अफ साइन्स इन्टरडिसीप्लायनरी वाटर रिसोर्स म्यानेजमेन्ट तर्फ तीन जना गरी ४३ जना विद्यार्थीले छात्रवृति पाउने छन् ।             विद्यार्थीहरूले अनलाइनमार्फत बिहीबार अर्थात् चैत्र ५ गतेदेखि २०८३ वैशाख ७ गते बेलुका १२ बजेसम्म आवेदन दिन सक्ने छन् । छात्रवृत्ति छनोटका लागि प्रवेश परीक्षा भने वैशाख १३ गते आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने परीक्षा पोखरा महानगरपालिका ३० ढुङ्गेपाटनस्थित स्कुल अफ इन्जिनियरिङ्ग तथा ललितपुर महानगरपालिका ९ च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ । छात्रवृत्ति सम्बन्धी कार्यक्रम, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइट र छात्रवृत्ति शाखाको पोर्टलमा उपलब्ध छ भने थप जानकारीका लागि विज्ञान तथा प्रविधि संकायको फोन नम्बर फोन गरेर पनि बुझ न सकिने जनाइएको छ ।    

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई दियो प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।  आयोगले बिहीवार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।  सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुनशमशेर जबराले प्रमाणपत्र वितरण गरेका हुन् । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए ।  समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ सिट जितेका थिए ।  प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिइएको थियो ।