जेनजीका माग पूरा नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था मजबुत
काठमाडौं । जेनजीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान माईतीघर मण्डलामा जेनजीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् । उनीहरू जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् । प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । जेनजीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरू बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
महासंघको खबरदारी : निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार अघि नबढोस्
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन् । बिहीबार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताए । रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गरे । जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए । मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको जिकिर गरे । अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेन जीहरुको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने बताए । अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरिरहेको बताए । उनले भने, ‘जेन जी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट हामीले सरकार पाएका छौँ । अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको छ । मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित भएको छ । प्राकृतिक प्रकोपको पनि सामना गरिरहेका छौँ । निर्माण क्षेत्रलाई व्यवस्थित गर्न तल्लिनका साथ अघि बढेका छौँ । निर्माण क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरुको संलग्नता विगतमा जुन हुने गर्दथ्यो, त्यसबाट हामीले आपराधिक गतिविधिहरु गर्ने र उहाँहरु जसरी निर्माण क्षेत्रमा हाबी हुनुभएको थियो ।’ कुनैपनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरु साना प्याकेजहरु बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीहरुलाई सहभागिता जनाउने र स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउनसके निर्माणको गति अघि बढ्नसक्ने जिकिर गरे । सडकबाट बनेको सरकारबाट निर्माण व्यवसायीहरुले ६ महिनाभित्र निर्वाचन गराउने मात्रै अपेक्षा नगरेको स्पष्ट पारे । मुलुकमा भएको बेथिति, भ्रष्टाचारलाई अन्त्य गरेर आम जनतालाई सन्देश दिन सक्नुपर्ने उल्लेख गरे । जनतालाई सुखद् अनुभुति दिन नसके अहिलेको सरकार पनि विगतको भन्दा फरक नहुने जिकिर गरे ।
बाढीपहिरोका कारण तीन प्रदेशका ९ राजमार्ग अवरुद्ध
काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ । यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए । वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका वडा नं ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सर्यो एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेको बहुप्रतीक्षितत केन्द्रीय कमिटी बैठक दुई दिन पर सर्ने भएको छ । यस अघि असोज २७ मा सुरु हुने भनिएको उक्त बैठक असोज २९ का लागि सारिएको हो । अध्यक्ष केपि शर्मा ओलीसँग उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक भेटमा ओलीले उक्त जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी गराए । अध्यक्षको कार्यव्यस्तताका कारण बैठक सरेको बुधवारको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । अर्का एक केन्द्रीय सदस्यका अनुसार बैठकको तयारी नपुगेकाले बैठक सारिएको हो । बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखन समेत नसकिएकोले पनि बैठक दुई दिन सार्नु परेको उनले जानकारी दिए ।
इप्पानका ७ माग : क्षतिग्रस्त आयोजनालाई संकट ग्रस्त घोषणा गर्नुपर्ने, आईपीओ खोल्न दिनुपर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनर्निर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए । २०८० जेठ ३२ र असार १ गते, २०८१ असार/साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त आयोजनाहरू सबैलाई मध्येनजर गरी विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमतिपत्रको अवधि, कर्जा पुर्नतालिकीकरण, लङटम फाइनान्सिङ र भन्सार महसुलमा छुट लगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने पनि अध्यक्ष कार्कीले बताए । भेटमा ऊर्जामन्त्री कुलमान घिसिङले बाढी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने बताए । उनले वन सँग सम्बन्धित ऊर्जा आयोजनाका समस्याहरू समाधानका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराएका थिए । यहि असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् । त्यसैगरी निर्माणाधीन ५२० मेगावाट क्षमताका १७ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । यस्ता छन् इप्पानले राखेका माग १. बाढी प्रभावित आयोजनाको पुनः निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक मेसिनरी उपकरणहरू १ प्रतिशत भन्सार शुल्कमा आयातको व्यवस्था गर्नुपर्ने । २. बाढी बाट क्षति पुगेका निर्माणाधीन आयोजनाको आरसीओडी म्याद ३ वर्ष र अनुमतिपत्रको अवधि ५ वर्ष थप गर्नुपर्ने । ३. बाढी प्रभावित आयोजनाको कर्जा पुर्नतालिकीकरण र पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने । ४. बाढी प्रभावित आयोजनाको रोकिएको आईपीओ र हकप्रद शेयर छिटो निस्कासनको व्यवस्था गर्नुपर्ने । ५. प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत आयोजनालाई संकट ग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने । ६. बाढी प्रभावित आयोजनालाई लङटम फाइनान्सिङको व्यवस्था गर्नुपर्ने । ७. आर्थिक वर्ष २०८२/८३-२०८४/८५ भित्र विद्युत उत्पादन नगरे स्वतः टेक एण्ड पे पीपीएमा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने ।
एमाले अध्यक्ष ओलीले आज भक्तपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा सूर्यविनायक नगरपालिकाको गुण्डुमा उक्त कार्यक्रम सम्पन्न हुने एमाले भक्तपुरले जानकारी दिएको छ । कार्यक्रमको नाम ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ राखिएको एमाले भक्तपुरका अध्यक्ष किरण थापाले जानकारी दिए । यस कार्यक्रमको प्रमुख उद्देश्य पछिल्लो समय मुलुकमा विकसित असामान्य राजनीतिक परिस्थिति र त्यसको सन्दर्भमा एमाले नेता तथा कार्यकर्ताहरूले लिने रणनीतिक भूमिका स्पष्ट पार्नु रहेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री समेत रहेका थापाले बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेशस्तरीय नेता, जिल्ला र वडा कमिटीका पदाधिकारीहरू, जनसंगठनका प्रतिनिधिहरू तथा सर्वसाधारणको सहभागिता रहने छ। भक्तपुर जिल्ला एमालेका अनुसार यो कार्यक्रम पार्टीको नीति, दृष्टिकोण र कार्यदिशा सर्वसाधारणसम्म पुर्याउने एक महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ। यस विशेष कार्यक्रममा ओलीको सम्बोधनसँगै पार्टीको आगामी राजनीतिक यात्रा र संगठनात्मक रणनीतिहरू थप स्पष्ट हुने विश्वास लिइएको थापाले बताए ।
इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति, बन्धक र कैदीहरू मुक्त हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति गाजामा जारी दुई वर्ष लामो युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई मुक्त गर्ने शान्ति योजनाको पहिलो चरणमा सहमत भएको घोषणा गरेका छन् । ‘सबै बन्धकहरू छिट्टै मुक्त गरिनेछन् । यो एक बलियो, स्थायी र अनन्त शान्तितर्फको पहिलो कदम हो । सबै पक्षहरूलाई न्यायपूर्ण व्यवहार गरिनेछ,’ ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखे । यस प्रारम्भिक सम्झौताको इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेको छ । कतारी प्रधानमन्त्रीका प्रवक्ता माजिद अल अन्सारीले एक्स (पूरानो ट्वीटर) मा लेखेका छन् कि गाजा युद्धविराम सम्झौताका पहिलो चरण लागू गर्ने सबै सर्त र संयन्त्रमा सहमति भएको छ । जसले युद्ध रोक्ने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने र सहयोग सामाग्री गाजामा प्रवेश गर्न दिनेछ । थप विवरण पछि घोषणा गरिने उनले बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई धन्यवाद दिँदै एक्समा लेखेका छन्, ‘योजनाको पहिलो चरण अनुमोदनसँगै हाम्रा सबै बन्धकहरू घर ल्याइनेछन् । यो इजरायलका लागि कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय हो ।’ रोयटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले शनिबारदेखि बन्धक मुक्त गर्ने प्रक्रिया सुरु हुने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘बन्धकहरू सम्भवतः सोमबारसम्म मुक्त हुने अपेक्षा छ ।’ हमासले पनि छुट्टै वक्तव्य जारी गर्दै विवरण पुष्टि गरेको छ । ‘हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थ दाजुभाइहरूको प्रयासको उच्च प्रशंसा गर्छौं । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि कदर गर्छौं, जसले युद्धको स्थायी अन्त्य र गाजाबाट इजरायली कब्जा फिर्ता ल्याउन प्रयासरत छन्,’ वक्तव्यमा भनिएको छ । तर अझै केही विवादास्पद विषयहरूमा कुनै प्रगति भएको छैन, जस्तै राष्ट्रपति ट्रम्पले माग गरेअनुसार हमासले आफ्नो सशस्त्र संरचना विघटन गर्ने वा युद्धग्रस्त गाजाको प्रशासन कसरी सञ्चालन हुनेछ भन्ने विषय । इजिप्टमा भएको केही दिनको वार्तापछि भएको यो सम्झौताअनुसार करिब २० जना इजरायली बन्धकहरूको सट्टामा झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । ट्रम्पले यस विकासप्रति आशावादी देखिँदै केही दिनभित्रै मध्यपूर्व भ्रमण गर्ने संकेत दिएका थिए । गत महिना ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाअनुसार गाजामा शान्ति ल्याउन ‘सशस्त्रीकरण अन्त्य गर्ने प्रक्रिया’ सुरु गरिने उल्लेख थियो, जसअन्तर्गत हतियारहरू स्थायी रूपमा निष्क्रिय गरिनेछ । योजनाले गाजाको शासन ‘अस्थायी, प्राविधिक र गैरराजनीतिक प्यालेस्टिनी समितिद्वारा’ सञ्चालन गरिने प्रस्ताव गरेको छ, जसले गाजाका जनताका लागि दैनिक प्रशासनिक सेवा र नगरपालिका व्यवस्थापन हेर्नेछ । गाजा युद्ध सन् २०२३ को अक्टोबरमा सुरु भएको थियो, जब हमास अतिवादीहरूले इजरायलमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरेका थिए । त्यसपछि इजरायलको प्रतिशोधात्मक अभियानले ६७ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, गाजाको ठूलो भाग ध्वस्त पारेको छ र सम्पूर्ण मध्यपूर्वलाई संकटमा पारेको छ ।
सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० रुपैयाँले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।