नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको हो । बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ। ३ मिनेटको अवधिमा १०२.४१ अंक बढेर २ हजार ६६२ अंकमा पुगेको छ । यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । साथै, ३ मिनेटका अवधिमा २७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भए विपद्‍ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस्,’ उनले भने । नत्र पानी प्रदूषण भएकै कारण हैजा, झाडापखाला, टाइफाइड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहने उनको भनाइ छ । उनले वितरण गरिने खाद्यान्न, पानी र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे ।
हमासलाई गाजा शान्ति योजना स्वीकार गर्न मनाउन टर्कीसँग ट्रम्पको आग्रह
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हमासलाई गाजा युद्ध अन्त्य गर्ने आफ्नो योजना स्वीकार गर्न मनाउन मद्दत गर्न आग्रह गरेको बताएका छन् । त्यसबेलादेखि टर्कीका अधिकारीहरूले शान्ति प्रक्रियालाई समर्थन गर्न वार्तामा संलग्न भएको उल्लेख गरे । संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा र आफूहरूको फोन संवादमा ट्रम्पलाई प्यालेस्टाइनमा समाधान कसरी प्राप्त गर्न सकिन्छ भनेर छलफल गरेको बताए । एर्दोगानले हमासले आजसम्म इजरायल भन्दा बढी रचनात्मक अडान देखाएको र इजरायलबाट यस्तै रचनात्मक व्यवहार नदेखिएको बताए । टर्कीले दुई–राज्य समाधानको आधारमा इजरायल–प्यालेस्टाइन समस्या समाधान गर्न काम गर्ने प्रतिवद्धता जनाए । एर्दोगानले गाजा प्यालेस्टिनी क्षेत्र नै रहनुपर्नेमा जोड दिँदै प्यालेस्टिनीहरूले अन्ततः गाजाको प्रशासन व्यवस्थापन गर्नु महत्वपूर्ण रहेको बताए ।
नेपाली कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । पार्टी मुख्यालयमा बस्ने उक्त बैठकमा आगामी रणनीति, आन्तरिक व्यवस्थापन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा विस्तृत छलफल हुने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बैठक यही समय हुने जानकारी दिएका छन् । उनले बैठकमा पार्टीका वरिष्ठ नेता र पदाधिकारीहरूको उपस्थिति हुने बताए । नेताहरूले यो बैठकलाई आगामी केन्द्रीय समितिको बैठक र पार्टीभित्रको संगठनात्मक संरचनाका लागि एउटा सुरुवात हुने व्याख्या गरेका छन् ।
सडक विभाग र निर्माण व्यवसायीलाई मन्त्री घिसिङको निर्देशन - ‘सडक चाँडै सञ्चालनमा ल्याउनुस्’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्याएका चौकीडाँडालगायतका सडक क्षेत्रहरूको स्थलअनुगमन गरेका छन् । मन्त्री घिसिङसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडक खण्डको अवलोकन गरेको हो । बाढीले बगाएको सो सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लासँग जोड्ने लाइफलाइन सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । सो खण्डमा अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालन गरिएको थियो। तर, यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पुनः पूर्ण रूपमा बगाएको छ । गत वर्ष क्षति पुगेको सडक स्थायी रूपमा पुनर्निर्माण गर्न केही खण्डको ठेक्का लगाइसकिएको र बाँकी केही खण्ड ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
आन्दोलनमा भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड
काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा सो रकम दाबी गरिएको हो । निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ वितरण गरिसकेका छन् । त्यस्तै, क्षतिको सर्भे प्रतिवेदन तयार गर्न २ हजार ७०६ जना सर्भेयर खटाइएको र तीमध्ये ३७४ सर्भे प्रतिवेदन प्राधिकरणमा पेश भइसकेको जानकारी प्राप्त भएको छ ।
चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो
म्याग्दी । स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिएका हुन् । 'पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुुलदेखि उल्लेरी हुुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो', उनले भने, 'प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन् ।' मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ ।
पहेँलो धातुले रातो बनायो नेप्से
काठमाडौं । दसैँको विदा हुनुभन्दा अगाडि अर्थात् गत असोज १२ गते ४४ खर्ब ५२ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ थियो, बजार पुँजीकरण अर्थात् लगानीकर्ताहरुको सेयर सम्पत्ति । तर, मंगलबार (असोज २२ गते) को बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । मंगलबार र बुधबार मात्रै लगानीकर्ताहरुले १ खर्ब ७३ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ गुमाइसकेका छन् । दुई दिनको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०३.९२ अंक घटिसकेको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंक र बुधबार ४५.३६ अंक घटेर नेप्से परिसूचक २ हजार ५५९.५९ अंकमा झरेको छ । दसैँ अगाडि अर्थात् गत असोजमा नेप्से सूचक २ हजार ६६३.५१ अंकमा थियो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भयो । गत असोज १२ गते सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३६० रुपैयाँ थियो । १० दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४६ हजार ६४० रुपैयाँ बढिसकेको छ । यसरी सुनका लगानीकर्ताहरुले तोलामै हजारौं रुपैयाँ फाइदा लिइरहँदा सेयर लगानीकर्ताहरु पनि सुनतिरै आकर्षित भइरहेका छन् । जसले गर्दा सेयर बजार घट्न पुगेको स्वयम् सेयर लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता देव गुरागाईँ पहेँलो धातुले नेप्से राताम्मे बनाएको बताउँछन् । ‘पहेँलो धातुको मूल्य एकाएक कहाँ पुगिसक्यो । तर, सेयर बजार जस्ताको त्यस्तै रह्यो । सेयर लगानीकर्ताहरू सुनमा डाइभर्ट भएका देखिन्छन् । त्यो त नतिजा पनि देखिसकेको छ । यतातिर (नेप्से) हुनुपर्नेमा उतातिर (सुन) गएर नतिजा देखिन थाल्यो । सेयर बजार सेलायो,’ उनले भने । उनका अनुसार जेनजी आन्दोलन र बाढी पहिरो बाहेक सबै माहोल राम्रो छ । पुँजी बजार सुधार सम्बन्धी प्रतिवेदनमा पनि विगतमा देखिएका अड्चनका विषय राखिएका छन् । सेयर बजारसा देखिएका अड्चन खुला हुने आँकलन गरिएको हुँदा लगानीकर्ताहरुले धैर्यता राख्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक अनिश्चितताले पनि सेयर लगानीकर्ताहरुमा निराशा छाएको छ । जे-जे हुने भनिएको छ, चुनाव लगायतमा अन्योलता छन् । साथै ठूलो अर्काे शक्ति संघर्ष हुने किसिमको माहोल पनि देखिन्छ । अब यसलाई कसरी स्पष्ट हुन्छ, आगामी दिनमा देखिएला । तर, तत्काललाई लगानी गरेर ढुक्क हुने अवस्था भने देखिँदैन,’ उनले भने, ‘बजारमा उथलपुथल हुँदा ट्रेडरहरुलाई ठिकठिकै होला । तर, ढुक्क भएर लगानी गर्ने वातावरण नभएकाले लगानीकर्ताहरु जुरमुराएका छैनन् ।’ ३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण आइसकेको हुँदा बरु सुनमा लगानी गर्नु उपयुक्त हुने उनको धारणा छ । सेयर बजार पनि २५ सयको बटम लाइन रहेकाले धेरै नघट्ने उनले बताए । ‘२५ सयको बटम लाइन हो । तर, बढ्छ भन्नका लागि ३ हजार अंकमाथि गएपछि मात्रै हो । ३ हजार र २५ सयमा धेरै ठूलो ग्याप छ । वियरिसमा नजओस भन्ने हो । यदि वियरिसमा गयो भने ठूलो प्यानिक हुन्छ ।’ लगानीकर्ता राजु पौडेल पनि सेयर लगानीकर्ताहरु सुन बजारमा डाइभर्ट भएको बताउँछन् । तर, सुन मात्रै फ्याक्टर नभएर अन्य विभिन्न घटनाहरूले गर्दा पनि बजार ओरालो लागेको उनको भनाइ छ । ‘सुन मात्रै बढ्न थाल्यो । सबै सुनतिर लागेको जस्तो देखिन्छ । ठ्याक्कै सुन बढेर बजार घटेको भन्ने पनि होइन । विगतमा पनि यसरी सुन बढ्दा बजार घटेको देखिँदैन । तर, वित्तीय चेत भएका मान्छेहरूले पोर्टफोलियो डाइभर्सिफिकेसन गर्ने जमर्को गर्छन्,’ उनले भने, ‘जस्तो सेयर बजार घट्दा सुनतिर सिफ्ट हुने, बैंकको ब्याजदर बढ्दा सेयर बेचेर एफडीमा राख्ने गरेका छन् । तर, अहिले पूरै त्यस्तो ट्रेण्ड भने होइन ।’ उनका अनुसार जेनजी आन्दोलन पछि देशमा ठूलो उथलपुथल भयो । निर्वाचन गर्नका लागि अन्तरिम सरकार बनेपनि विदेशी चलखेल लगायत विभिन्न टीकाटिप्पणीले लगानीकर्ताहरुमा नकारात्मक असर परेको उनको भनाइ छ । साथै, अझै ठूला आन्दोलन गर्ने भन्ने विषयले पनि लगानीकर्ताहरुमा अन्योलता कायम रहेको उनले बताए । ‘जेनजीहरुले हाम्रा मागहरु पुरा भएनन्, हाम्रा माग पूरा गर्नका लागि फेरि देशव्यापी रुपमा आन्दोलन गर्ने भनिरहेका छन् । साथै, दसैँ लगत्तै पूर्वी नेपालमा भीषण बाढी पहिरोले धेरै हाइड्रोपावरहरु तहसनहस भए । जसले निर्जीवन बीमालाई पनि प्रभाव परेको छ,’ उनले भने, ‘जेनजी आन्दोलन र रसुवामा आएको बाढीले निर्जीवन बीमा कम्पनी थाले परेका थिए । अहिलेको बाढीले पनि फेरि निर्जीवनतर्फ असर गर्दा निर्जीवन बीमा र हाइड्रो सेक्टरमा प्रेसर आउँदा समग्र बजार नै दबाबमा देखिएको हो ।’ चुनाव हुन्छ की हुँदैन भन्ने अहिले पनि अन्योलता रहेको बताउँदै उनले भने, ‘तिहार पछि ठूला आन्दोलन गर्ने भनेर पार्टीहरू सुनिएको छ । राजावादी, दुर्गा प्रसाई लगायत समूह पनि सडकमा आउने भनेपछि लगानीकर्ताहरुको मनोबल कमजोर भएको हो । यसकारण नै बजारमा गिरावट आएको देखिन्छ ।’