‘गोइङ टुगेदर, ग्रोइङ टुगेदर’को नारासहित इप्पानको नेतृत्व गर्न मोहन डाँगी तयार

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले कार्ययोजना सार्वजनिक गरेका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा डाँगीले ऊर्जा क्षेत्रलाई मुलुकको समृद्धिको मेरुदण्ड बनाउने संकल्पका साथ आफू नेतृत्व सम्हाल्न तयार रहेको घोषणा गरे ।

उनले आफ्नो सम्भावित कार्यकालमा ‘नीतिगत वकालत’ लाई सबैभन्दा महत्त्वपूर्ण कार्यभारको रूपमा व्याख्या गरे ।  विद्युत् ऐन, २०४९ पछि नयाँ ऐन आउन नसक्दा लगानीकर्ताले झेल्नु परेका समस्या औँल्याउँदै उनले अब बन्ने कानुन ऊर्जा उद्यमीमैत्री र कम्तीमा आगामी ५० वर्षका लागि मार्गदर्शक हुनुपर्नेमा जोड दिए ।

‘विद्युत् ऐनलाई समयसापेक्ष बनाउँदै लगानीको सुरक्षा र प्रक्रियागत सरलीकरणका लागि इप्पानले सरकारसँग सशक्त समन्वय गर्नेछ,’ डाँगीले प्रतिवद्धता जनाए ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रभित्रको आन्तरिक एकता अनिवार्य रहेको बताए । ‘गोइङ टुगेदर, ग्रोइङ टुगेदर’ को नारा अघि सार्दै उनले आगामी नेतृत्व सर्वसम्मत र समावेशी हुनुपर्ने धारणा राखे । उनले कार्यसमितिका सबै सदस्यहरूलाई सक्रिय र जिम्मेवार बनाएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने समावेशी नेतृत्वको मोडल प्रस्तुत गरे ।

संस्थालाई परम्परागत शैलीबाट माथि उठाएर प्राज्ञिक र व्यावसायिक बनाउन डाँगीको विशेष योजना छ । उनले इप्पानभित्रै ‘अनुसन्धान र विकास’ इकाइलाई सक्रिय बनाउने घोषणा गरे । 

विज्ञहरूको सल्लाह र तथ्यमा आधारित भएर सरकारसँग लविङ गर्दा त्यसले निजी क्षेत्रका मागलाई थप बलियो बनाउने उनको विश्वास छ।

नेपालको ऊर्जा यात्रा २०५५ सालमा ५४ मेगावाटबाट सुरु भई हाल करिब ३००० मेगावाट पुगेको सुखद तथ्याङ्क प्रस्तुत गर्दै डाँगीले यो क्षेत्र नै देशको अर्थतन्त्र बदल्ने मुख्य आधार भएको दाबी गरे । वर्तमान सरकार ऊर्जा विकासमा सकारात्मक देखिएको भन्दै उनले निजी क्षेत्रका विद्यमान समस्या समाधान गर्न आफू पूर्ण सक्षम रहेको बताए ।

तीन वर्ष वरिष्ठ उपाध्यक्षको रूपमा सफल भूमिका निर्वाह गरिसकेका डाँगीले प्रस्तावित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामासहितको टिमसँग मिलेर ‘भिजन २०२९’ कार्यान्वयन गर्ने लक्ष्य लिएका छन् ।
 

Share News