निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । प्रधान यसअघि नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।
व्यापारमा आयातको हिस्सा बढ्दा निर्यातको घट्यो, सवा १३ खर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यस्तै, यो अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्र निर्यात गरेको भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३.०१ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाखरुपैयाँको वस्तु निर्यात भएको थियो । विभागका अनुसार नेपालको कुल व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ थियो । यस्तै, चालु आवको जेठसम्म वैदेशिक व्यापार समेत १.९५ प्रतिशतले घटेको छ । ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवमा यस्तो व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ थियो । कुल आयातमा आयातको ९१.२६ प्रतिशत योगदान रहेको छ भने निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।
मेलम्चीको पानी काठमाडौं आउन तत्कालै बन्द नहुने
काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिए पनि तत्कालका लागि मूलद्वार बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जानकारी दिएको हो । बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गत जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकामा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । ‘बागमती प्रदेशमा मनसुन सक्रिय हुन थालेको ठूलो पानी आएर मेलम्ची नदीको पानीको बहाव बढ्नसक्ने र आयोजनामा क्षति हुनसक्ने जोखिम कम गर्न आजदेखि सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेका थियौँ’, उनले भने, ‘आजको अवस्था हेर्दा नदीमा पानीको बहाव बढेको छैन, नदी पनि सफा छ । तत्काल आयोजना बन्द गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाउने छौँ ।’ लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली बिकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन्। ‘हामीले पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरेका पनि हालसम्म सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘उपत्यकामा मेलम्चीको पानी पठाउन कहिलेदेखि आयोजना बन्द गर्ने भनेर यकिन दिन तोक्दैनौँ, जहिलो ठूलो वर्षा भएर जोखिमको खतरा बढ्छ, तत्काल बन्द गर्नेछौँ ।’ समितिले मनसुन अवधिमा विपत्तीको जोखिम कम भएपछि मात्रै मेलम्चीको पानी पठाउन सुरु गर्ने तयारी गरेको छ । मनसुनी जोखिम बढ्ने देखिएमा मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउने लामिछानेको भनाइ छ । मनसुनजन्य विपत्तीबाट आयोजनाको हेर्डवक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सरकारले वर्षा सुरु भएसँगै खानेपानी बन्द गर्ने र वर्षा सक्रिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिनेमा यस वर्ष तीन दिन चाँडो भित्रिएको थियो । मनसुन सरदररूपमा अक्टोबर २ मा बाहिरने गर्दछ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक देशभरि मनसुन फैलिएको विभागले जनाएको छ ।
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ वर्षसम्म निःशुल्क अपग्रेड
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ । २०२४ को सुरुवातमा, वेबओएस रीस्न्यू प्रोग्रामले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्ट कलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी९९र९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको थियो । जसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षको लागि नयाँ टिभी अनुभवको आनन्द दिने कम्पनीको छ । कम्पनीले भनेको छ- यो अपग्रेड भविष्यमा विश्वभरिका अन्य एलजी टिभीहरूमा विस्तार गरिनेछ ताकि टिभी अनुभवमा थप मनोरञ्जन थप्न सकियोस् । वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्छन् जसमा होम स्क्रीनले प्रयोगकर्ताहरूलाई उनीहरूको रोजाइ अनुसार सिफारिसहरूद्वारा स्वागत गर्ने कम्पनीको भनाइ छ । उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गरिने जनाइएको छ । एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुने कम्पनीको भनाइ छ । सोही एलजी वेबओएस रीस्न्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका युएचडि टिभीहरूमा पनि लागु हुनेछ भने जसमा आगामी पाँच वर्ष सम्म निस्शुल्क अपग्रेड आउनेछ ।
जाजरकोट खलंगामा प्रभु बैंकको सेवा विस्तार
काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्जाल विस्तार गरेर सेवा सञ्चालन सुरु गरेको छ। बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका-४ स्थित खलंगामा बजारमा आफ्नो ३०७औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरेको छ । यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बैंकको भनाइ छ । बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।
त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याइ कार्यारम्भ गरेको समितिका सदस्य जानकी वल्लभ अधिकारीले जानकारी दिए । समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबीन गर्नेछ । मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छन् । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।
म्याग्दीका पर्यटकीयस्थल जोड्न ९ किलोमिटर पदमार्ग निर्माण
म्याग्दी । जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त १ करोड ५६ लाख बजेटबाट पदमार्गलगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण योजनामा प्राप्त बजेटबाट सात किलोमिटर ४८ मिटर नयाँ ट्र्याक बनाउने, ढुंगाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिए । उनका अनुसार, एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुंगा छापेर पदमार्ग बनाइएको छ भने एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर निर्माण गरिएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यू पोइन्ट, वनभोजस्थललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका सव–इन्जिनियर सुमन बोगटीले जानकारी दिए । ‘यस वर्ष जिल्लामा पर्यटन पूर्वाधार योजनामा प्राप्त सबै योजना सम्पन्न भएका छन्, कार्यालयको तर्फबाट अन्तिम अनुगमन र नापजाँच भएर अहिले धमाधम योजनाको भुक्तानी दिने काम भइरहेको छ, पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ,’ उनले भने । यस वर्ष सबैभन्दा धेरै २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका-५ को खोप्रालेकमा पदमार्ग, भ्यू पोइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०÷१० लाख बजेटबाट पदमार्ग, रेलिङलगायतका पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका-९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ । महभिरदेखि करबाकेलीथान जाने बाटो, पनथोकदेखि मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नांगीदेवि थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०/१० लाख बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ । त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगंगा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारासम्म आठ/आठ लाख बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ । बेनी नगरपालिका- १ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे-भूवाने, भालश्री छापाछाङ औसी– खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ- चांगा जोड्ने बाटोमा पाँच/पाँच लाख रुपैयाँबजेटबाट पदमार्ग निर्माण तथा संरक्षणको काम गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले जनाएको छ ।
भीमदत्तले अतिक्रमण हटाउन बढायो सक्रियता, दुई सय बढी पक्की संरचनामा डोजर
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउन सक्रियता बढाएको छ । सरकारले गृह मन्त्रालयमार्फत सबै जिल्लामा अतिक्रमणमा गरिएका सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको पहल सुरु गरेसँगै नगरपालिकाले पनि त्यसको सुरुआत सदरमुकाम महेन्द्रनगरबाट सुरु गरेको हो । भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुुशील भट्टले बजार क्षेत्र र आसपासमा मात्रै सार्वजनिक जग्गामा बनाइएका दुई सयभन्दा बढी पक्की घर, सटर र भवनमा नगरपालिकाले डोजर लगाएको बताए । गुरुयोजना लत्याएर तत्कालीन महेन्द्रनगर नगरविकास समितिका नेतृत्वहरुले भाडाका नाममा जग्गा वितरण गरेपछि उक्त विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले नै रिट खारेज गर्दै जग्गा खाली गराउन सहज हुने गरी आदेश गरेपछि नगरप्रमुख पदम बोगटीले अतिक्रमित जग्गामा बनेका भौतिक संरचना भत्काउन सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा केही समयअघि बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले समेत सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा समझदारी भएको थियो । केही दिनअघि मात्रै नगरपालिकाले यहाँस्थित होटल ओपेराले भाडामा लिएर बनाएको स्वीमिड पुल र पार्किडस्थलमा समेत डोजर चलाएको थियो । यहाँ केही वर्षयता नगरविकास समितिको जग्गा भाडामा लिएर विभिन्न व्यवसाय गरिरहेकाहरुलाई जग्गा खाली गर्न समय समेत दिइएको थियो । ‘अटेर गर्नेको हकमा डोजर नै लगाउनु पर्यो,’ वडाध्यक्ष भट्टले भने, ‘अहिले राजमार्ग क्षेत्र वरपरको अतिक्रमण हटाउने काम भइरहेको छ ।’ उनले बजार क्षेत्रमा लामो समयदेखि बसेका खोकाछाप्रा, सालघारीस्थित इको पार्कको अतिक्रमण र वनखेतस्थित औद्योगिक क्षेत्रमा नाममा लिएको जग्गा खाली गराइने उल्लेख गरे । त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि केही दिनअघि झलारी र कलुवापुर बजार क्षेत्रमा पर्ने राजमार्गका सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाएको शुक्लाफाँटा नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख रणबहादुर महराले अतिक्रमण हटाउन सूचना जारी गरेपनि अटेर गरेकाले अतिक्रमण गरी बनाएका संरचना हटाइएको बताए । ‘केही स्थानमा पुनः सार्वजनिक जग्गामा केही संरचना बने भन्ने सूचना प्राप्त भएको छ,’ नगरप्रमुख महराले भने, ‘नगरसभाको बैठक सकिए पनि पुनः त्यसमा सक्रिय हुन्छौँ ।’ उनले नगरपालिकाले हालै मात्रै नगर प्रहरीसमेत भर्ना गरिसकेको बताउँदै नगर प्रहरीले पनि त्यसमा निगरानी राख्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद सापकोटाले जिल्लामा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेको बताए । उनले स्थानीय तह, सुरक्षा निकाय र आम नागरिकको सहयोगमा अभियानले निरन्तरता पाइरहेको उल्लेख गरे ।