विकासन्युज

सहकारी समस्या समाधान गर्न भावनात्मक एकता आवश्यक : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्याको समाधानमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार प्रथम सहकारी रोजगार मेला २०२४ को उद्घाटन गर्दै उनले सहकारीहरू उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले समस्याहरू आएको भन्दै त्यसमा मन्त्रीको हैसियतले व्यवहारिक रूपमा समस्या समाधानमा लाग्ने बताए । ‘सहकारी स्थापनाको उद्देश्य, लक्ष्य अनुसार सहकारीहरू चल्नैपर्छ । अहिले केही केही सहकारीहरूले उद्देश्य विपरित व्यापार, व्यवसाय, व्यक्तिगत नाफाको आधारमा चलेको हुनाले पनि समस्याहरु आएका छन्,’ उनले भने, ‘सबै कुरामा मन्त्रालय र मन्त्रीको तर्फबाट व्यवहारिक रूपमा समस्या समाधान गर्नका लागि कहाँ कस्तो किसिमको प्रयास गर्नुपर्छ, कुन बाटो हिँड्दा सहज हुन्छ भन्ने दिशातर्फ जानको लागि सरकार र म सधैँ तयार छु ।’ एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले सफलता प्राप्त गर्न नसकिने भन्दै मन्त्री अधिकारीले समस्या समाधानको लागि सहकारीमा भावनात्मक एकता कायम हुनुपर्ने बताए । ‘हाम्रो सहकारीमा पहिलो कुरा भावनात्मक एकता कायम हुनुपर्छ । एकले अर्काको विरोध गर्न थाल्यो भने कहिले पनि सफलता हासिल गर्न सकिँदैन। सबैले उद्देश्य पूरा गर्ने भनेर लाग्ने हो भने पूरा हुन्छ,’ उनले भने, ‘तर सबैले मैले गर्ने मेरो लागि गर्ने भनेर लाग्ने हो भने कहिले पनि हुँदैन् । सबै वचनबद्ध भएर अगाडि बढ्ने हो भने सहकारीमा देखिएका सबै समस्याहरू हल हुन्छन् ।’ रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने जुन भष्य निर्माण भएको छ त्यसलाई कम गराउनको मेला र प्रदर्शनले सहयोग पुर्‍याउने विश्वास लिएको पनि उनको भनाइ छ ।

६ महिनादेखि ठप्प सेयर निष्काशन पुनः सूचारू, हिमालय उर्जाले पायो अनुमति

काठमाडौं । लामो समयदेखि रोकिएको सेयर निष्काशन प्रक्रिया पुनः सूचारू भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन भएपछि विगत ६ महिनादेखि सेयर निष्काशन प्रक्रिया ठप्प बनेको थियो । लामो समयदेखि ठप्प रहेको सेयर निष्काशन प्रक्रिया बोर्डले असार ७ गतेदेखि हिमालयन उर्जा विकास कम्पनीलाई अनुमति दिएपछि पुनः सूचारू भएको सेबोनले जनाएको छ । कम्पनीले चुक्ता पुँजीको १ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि सेबोनबाट अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ सय रुपैयाँ दरका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद सेयर निष्काशनका लागि प्रक्रिया अघि बढाएको भएपनि विद्युत नियमन आयोगले घटाएर १ सय प्रतिशतको लागि मात्रै अनुमति दिएको थियो । कम्पनीको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट कम्पिटिसन’ को विजेता घोषणा असार ९ गते

काठमाडौं । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ का विजेता घोषणा गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए । आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशील संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको अध्यक्ष पोखरेलले जानकारी दिए । ‘लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ, संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रित छन्, वेबसाइट कम्पिटिसन पनि यसकै प्रयास हो,’ उनले भने । स्थापनाकालदेखि नै सूचना प्रविधि क्षेत्रको सुधारका लागि विभिन्न काम गर्दै आएको र अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनका लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यता आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ छ । ‘सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलेजेन्स (एआई) को हो, विद्यार्थीहरूले कम्तिमा कोडिङसम्बन्धी जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले वेबसाइट डिजाइनमा हामीले जोड दिँदै आएका छौं, ’ उनले भने, ‘विद्यालयस्तरमा यस विषयमा अध्ययन नगरेको भएपनि विद्यार्थीको स्वाभाव जिज्ञासु हुने हुनाले एसईई पछिको तीन महिनामा प्रतियोगितामा सहभागी हुनकै लागि पनि यस विषयमा तयारी गर्छन् र जानकारी हासिल गर्छन् भन्ने मान्यता यो प्रतियोगिताले राख्छ ।’ यसवर्ष देशभरिका १ हजार १ सय २ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए । प्रतियोगीहरूलाई जेठ अन्तिमसम्मका लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाएको उनको भनाइ छ । ‘विज्ञहरूको सहायतामा ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिएको छ, उत्कृष्ट २० जनाका वेबसाइटलाई परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छान्ने प्रक्रिया छ,’ उनले भने । विद्यार्थी स्वयमले बनाएको सुनिश्चित भएपछि मात्र उनीहरू थप प्रक्रियाको लागि योग्य हुने उनको भनाइ छ । उनले भने, ‘ मूल्यांकनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आईटी टिमको अब्जरभेसन, प्रिजेन्टेसन लगायतलाई समेटिन्छ ।’ विगतका सिजनका विजेताले सूचना प्रविधिको क्षेत्रमा अध्ययन अगाडि बढाउँदै यसै धेरै राम्रो काम गर्दै आएको उनले बताए । ‘ हाम्रो संस्थाको उद्देश्य आईटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाशा संस्थाले बोकेको छ, विश्वस्तरमा नेपाललाई आईटी हबको रूपमा स्थापित गराउनको लागि सामान्य भए पनि भूमिका निर्वाह गर्ने हामीले उद्देश्य राखेका छौं, लाइफ कम्प्युटर यस क्षेत्रमा केही गर्न चाहनेको लागि राम्रो प्लेटफर्म बन्न चाहान्छ, राज्यको आवश्यक सहयोग भएको अवस्थामा सूचना प्रविधिको ज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने हाम्रो लक्ष्य छ,’ अध्यक्ष पोखरेलले भने । सहभागी छनोट गर्दा जतिसक्दो धेरै सहभागी गराउने योजना हुने उनको भनाइ छ । उनले भने, ‘पहिलो सिजनमा काठमाडौं उपत्यका विद्यार्थीमात्र सहभागी थिए, पहिलो सिजनामा ४२७ जना सहभागी भएका थिए, दास्रो सिजनमा ७००, तेस्रो सिजनमा १२७५, चौथो सिजनमा ८४०, पाँचौंमा ९७५ र छैटौंमा ११०२ जना प्रतिस्पर्धामा सहभागी छन् ।’ संस्थाले एसईई दिएका विद्यार्थीमात्र नभई अध्ययन गर्ने सबै विद्यार्थीलाई उनीहरूको सीप तथा क्षमताका आधारमा काममा जोडिने वातावरण पनि बनाउँदै आएको उनले जानकारी दिए । उनले भने, ‘अन्य कलेजमा आईटीसम्बन्धी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था पनि गरेका छौं, अहिलेसम्म हामीले तयार गरेका विद्यार्थी व्यवसाय, आईटीसम्बन्धी जागिरमा समेत रहेर राम्रो काम गर्दै आउनुभएको छ ।’

बजेटमार्फत् कर बढ्ने सूचना चुहिएको पुष्टि, जेठ १५ अगाडि यसरी भित्रिएका थिए गाडी

काठमाडौं । सरकारले बजेटमार्फत् विद्युतीय गाडी (ईभी)मा कर बढाउँछ भन्ने सूचना अटो व्यवसायीले अगाडि नै पाएको पुष्टि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठमा सबैभन्दा बढी ईभी भित्रिएका छन् । अटो व्यवसायीहरूले ईभीमा कर बढ्छ भन्ने सूचना पाएर नै धमाधम ईभी आयात गरेको तथ्यांकबाट देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल २९ अर्ब ८८ करोड रुपैयाँ बराबरका १९ हजार ९८९ विद्युतीय सवारी साधन (तीन पाँग्रे र चार पाँग्रे) भित्रिएका छन् । जेठ महिनामा मात्रै ३ हजार पाँच सय २२ विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाउँछ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । तर, अहिलेसम्म सो बजेट पारित हुन सकेको छैन । यसअघि मासिक ६/७ गाडी भित्रिने भएपनि जेठको तथ्यांकले व्यवसायीहरूले कर बढ्छ भन्ने सूचना पहिल्यै नै पाइसकेको पुष्टि हुन्छ । उसो त राजस्व अनुसन्धान विभागले केही कम्पनीले बजेटअघि अस्वाभाविक रुपमा गाडी भित्र्याएको अनुमान गरेर कम्पनीमाथि पनि अनुसन्धान थालेको छ । यसले पनि व्यवसायीले पहिल्यै नै सुचना पाएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सरकारले बजेटमार्फत् ईभी गाडीमा अन्त:शुल्क बढाएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा कुल १९ हजार ९८९ विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । १ महिनाको अवधिमा तीन पाँग्रे ८ हजार ५२३ गाडी, ५० किलोवाटभन्द्या माथिका ४ हजार ३४४, ५१ देखि १०० किलोवाटका ६ हजार ८८५, १०१ देखि २२ किलोवाटसम्मका २०९ वटा सवारी, २०१ देखि ३०० सम्मका २७ र ३०० माथिका एक वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै ३ हजार ५ सय २२ वटा विद्युतीय गाडी भित्रिदा सबैभन्द्या बढी ५१ देखि १०० किलोवाटका सवारी साधन भित्रिएका छन् । जेठमा यस्त गाडी कुल १ हजार ९८९ वटा भित्रिएका छन् । यस्तै, जेठमा तीन पाँग्रे विद्युतीय सवारी ५५३, ५० किलोवाटसम्मका ८७२, १०१ देखि २०० सम्मका १०४ र २०१ देखि ३०० किलोवाटसम्मका तीन वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

पृथ्वी राजमार्गको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका-७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ । वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो । आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकीलगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।

जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भए दुई वडाध्यक्ष

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त गरिएको छ । कार्यवाहक प्रमुखमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा ३ का वडाध्यक्ष रतन चौधरी नियुक्त भएका हुन् । उनीहरूलाई बाँकी कार्यपालिका सदस्यहरूले बहुमतीय प्रणालीबाट कार्यवाहक नियुक्त गरेको हो । नगरपालिकामा कार्यवाहक प्रमुख र उपप्रमुख नियुक्त भएपछि ठप्प रहेको कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्बनमा परेका थिए । गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । प्रमुख र उपप्रमुख र आवश्यक जनशक्तिको अभावमा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विभिन्न काम रोकिएको अवस्था थियो। नगरपालिकाको कार्यपालिका सदस्यले बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसीसी ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इञ्जिनियर राकेशकुमार चौधरी, सवइञ्जिनियर दिपेशकुमार साह, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्वन तथा कारबाहीमा परेका थिए । उनीहरुले हाटबजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार ६३७ बढी भुक्तानी गरिएको भन्दै अख्तियारल मुद्दा दायर गरिएको थियो ।

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता, वित्तीय परामर्श र व्यवस्थापनमा सहकार्य गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ । नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा होटलका तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई हस्ताक्षर गरेका छन् । चितवनको सौराहामा २०६७ सालमा ५२ कट्ठा जग्गामा निर्मित दुई तारे सुविधा सम्पन्न होटल सेभेनमा ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हल रहेका छन् । चाँडै उक्त होटललाई पाँचतारेमा स्तरोन्नति गर्ने गरी तयारी भइरहेको छ । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको र त्यसको लागि थप पुँजीको आवश्यकता पर्ने हुँदा सर्वसाधारणलाई सेयर जारी गर्ने होटलले योजना बनाएको अध्यक्ष पाठकले जानकारी दिए ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरिएका कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय संसदीय सुनुवाइ समितिले गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो । प्रधान यसअघि नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।