विकासन्युज

सेयर बजार र घरजग्गाको कारण राजस्वमा वृद्धि, आईआरडीलाई सफलता

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा ३७ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । यो वृद्धि ११.३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म ४ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८अर्ब रुपैयाँ थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्ब रुपैयाँले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब रुपैयाँ, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब रुपैयाँ र अन्तःशुल्कबाट ९५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब रुपैयाँ राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८.५ प्रतिशत रकम असुली भएको छ । गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले एक खर्ब ७५ अर्ब रुपैयाँ सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य दुई खर्ब ३८ अर्ब रुपैयाँ थियो । वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् । कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् । अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् ।

गुहेश्वरी मर्चेन्ट बैंकिङले २६ करोडको ऋणपत्र जारी गर्ने, लगानीकर्तालाई ९ प्रतिशत ब्याज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । असार ५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले ‘९५ गुहेश्वरी डिबेन्चर-२०८९’ जारी गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले बताएका छन् । यो ऋणपत्र निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डसँग अनुमति माग्नेछ । धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख ६० हजार इकाइ ऋणपत्र जारी गर्नेछ । उक्त ऋणपत्र ८ वर्ष अवधिको हुनेछ । यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउने अधिकारीले बताएका छन् । ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने कम्पनीले जनाएको छ ।

रोशी ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु’ भएको स्थानीय तह घोषणा

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् । गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार ६ हजार ७ सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ५ हजार ७ सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् । सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयानुसार बिहीबारदेखि लागु हुने गरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताए । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गरे । कार्यक्रममा नेपाली कांग्रेसका दूधराज तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वडाध्यक्ष निरध्वज लामा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अशोक गौतम, राप्रपाका प्रतिनिधि कुवेर गौतम र रोशी माविका प्रधानाध्यापक रामशरण सिग्देलले घोषणा गरेको कार्यलाई निरन्तर अघि बढाउनसक्नुपर्ने बताए ।

दाजुभाई मिलेर सहकारीको ४ अर्ब बचत ठगी, इच्छाराज पनि संलग्न

काठमाडौं । सरकारले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरस्थित गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । सहकारी विभागको नियमनभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेका कारण समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको प्रवक्ता भट्टको भनाइ छ । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरिएको भट्टले बताए । साथै संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको भट्टको भनाइ छ । सहकारीका सञ्चालक डम्बरबहादुर बम्जन तामाङ र पूर्वसञ्चालकले सर्वसाधारणको साढे ४ अर्ब रुपैयाँ बचत तथा सेयर अपचलन गरेका थिए । सहकारीमा लामो समय हालीमुहाली गरेका डम्बरबहादुर र तेजबहादुरले सहकारीबाट १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ बढी ऋण लिएर नतिरेपछि सहकारी संस्थाभित्र समस्या देखिएको थियो । तेजबहादुर डम्बरका दाजु हुन् । यो सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ हुन् । जो सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा अहिले जेलमा छन् । डम्बरबहादुर बम्जन सहकारीका संस्थापक हुन् । उनले लामो समय यस सहकारीको नेतृत्व गेका थिए । तर, सहकारी संस्थाको सेयर सदस्यसमेत नरहेका तेजबहादुरले दाई डम्बरबहादुरको आडमा विभिन्न शीर्षकमा २०६७ सालमा लिएको ऋण अहिले ७६ करोड ९७ लाख ७९ हजार पुगेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव रहेका तेजबहादुरविरुद्ध उक्त सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । तर, उनी प्रहरीको फरार सूचीमा छन् । सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिवानासमेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।

पुटिन र किमको सम्पत्ति कति ?

काठमाडौं । उत्तर कोरियाका तानाशाह किम जोङ उन फेरि एकपटक चर्चामा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार बिहान उत्तर कोरिया पुगेका थिए र त्यहाँ पुगेपछि किम जोङले उनको न्यानो स्वागत गरेका थिए । उत्तर कोरिया ती थोरै देशहरूको सूचीमा परेको छ जहाँ अन्य देशका मानिसहरू विरलै भेटिन्छन् । २४ वर्षमा पुटिन आफैं पहिलो पटक त्यहाँ पुगेका हुन् । अर्को विशेष कुराका कारण पुटिन र किमबीचको यो भेट चर्चामा छ, किनभने दुवै देशले अमेरिकालगायत पश्चिमी देशको प्रतिबन्धको सामना गरिरहेका छन् । यी दुईको नेटवर्थको कुरा गर्दा यसमा धेरै भिन्नता छ तर उनीहरूको जीवनशैलीको चर्चा विश्वमा छ । विश्वका धनी नेतामध्ये रुसी राष्ट्रपति रुसी राष्ट्रपति पुटिनको नेटवर्थको बारेमा कुरा गर्दा उनी विश्वका धनी नेताहरूको सूचीमा शीर्षमा मानिन्छन् । फक्स बिजनेसको रिपोर्टअनुसार उनको अनुमानित नेटवर्थ (भ्लादिमिर पुटिन नेटवर्थ) ७० अर्ब अमेरिकी डलरदेखि २ खर्ब डलरसम्म रहेको छ । तर, यकिन सम्पत्ति भने खुलाइएको छैन । आधिकारिक खुलासालाई उद्धृत गर्दै रिपोर्टले दिएको जानकारीअनुसार भ्लादिमिर पुटिनको वार्षिक आम्दानी करिब १ लाख ४० हजार डलर रहेको छ । उनको विलासी घरले उनको विलासी जीवनशैली र हैसियतको झलक पनि दिन्छ । पुटिन सेन्ट पिटर्सबर्गमा ८ सय वर्गफिटको दरबारमा बस्छन् । यसबाहेक एलेक्सई नाभाल्नीको अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै भ्लादिमिर पुटिनको ब्ल्याक सी नजिक १ अर्ब ४० करोड डलरको दरबार पनि रहेको बताइएको छ, जसलाई नयाँ भर्साइल भनिन्छ। यसमा चर्च, क्यासिनोलगायत विश्वभरिका लक्जरी सुविधाहरू छन्, जसमा पुटिनको १० करोड डलरको मेगा–याट समावेश छ, जुन २ सय ७० फिट छ र यसमा जिम, स्पा, लाइब्रेरी, डान्स फ्लोरलगायत सबै सुविधाहरू छन् । किम जोङ धनको मामिलामा पुटिनभन्दा धेरै पछाडि उत्तर कोरियाली तानाशाहको कुरा गर्दा किम जोङ उन रुसी राष्ट्रपति पुटिनभन्दा नेटवर्थको मामिलामा धेरै पछाडि भए पनि विलासी जीवनशैलीको मामिलामा उनलाई पूर्ण प्रतिस्पर्धा दिन्छन् । फक्स बिजनेसको रिपोर्टअनुसार किम जोङ उनको नेटवर्थ करिब ५ अर्ब डलर छ । किम जोङ उनले सन् २०११ देखि करिब २ करोड ५० लाख जनसंख्या भएको उत्तर कोरियामा शासन गर्दै आएका छन् । उनले आफ्ना पिता किम जोङ इलको निधनपछि देशको शासन सम्हालेका थिए । यहाँका मानिसहरूको संसारसँग कुनै सम्पर्क छैन र कडा प्रतिबन्धका कारण विश्वका मानिसहरूले उत्तर कोरियाको बारेमा धेरै कम जानकारी पाउँछन् । किम जोङ उनको २ सय बैंक खाता र १ सय कार कलेक्सन यदि रिपोर्टहरूमा विश्वास गर्ने हो भने उत्तर कोरियाली नेताको कुल सम्पत्तिमा रुस, अस्ट्रिया, चीन, सिंगापुर, स्विट्जरल्याण्ड र लक्जमबर्ग लगायत अन्य धेरै देशहरूमा लगभग २ सय बैंक खाताहरूमा जम्मा गरिएको ठूलो रकम समावेश छ । रुसी राष्ट्रपति जस्तै किम जोङको जीवनशैली पनि चर्चामा रहन्छ । रिपोर्टका अनुसार उत्तर कोरियामा किम जोङ उनका करिब २० वटा घर छन्, जुन कुनै दरबारभन्दा कम छैनन् । यसबाहेक उनी बाहिर निस्कँदा सयौं महँगो कारहरू उनको अघिपछि गुड्छन् । किम जोङको कार कलेक्सनमा सयभन्दा बढी लक्जरी कार छन् । जसमा उनलाई भ्लादिमिर पुटिनले उपहार दिएको नयाँ नाम ओरस सिनेट पनि समावेश गरिएको छ, जसको अनुमानित मूल्य करिब १० लाख डलर रहेको बताइएको छ । एजेन्सी

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना

रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ । राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ ।

मालढुंगा-बेनी सडक १३ दिन बन्द हुने

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ। १३ किलोमिटर लामो मालढुंगा-बेनी सडकको मालढुंगा-फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि ७ किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाख रुपैयाँमा सडक विभागसँग सम्झौता गरेको थियो । करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने यो सेयर इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।