विकासन्युज

प्रतिकित्ता ७ सय रुपैयाँमा महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ निर्धारण गरिएको छ । बिक्रीमा राखिएको उक्त संस्थापक सेयर जुनसुकै व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् । खरिद आवेदन दिन इच्छुकले ३५ दिनको अवधिभित्र काठमाडौं ठमेलस्थित संस्थाको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ ।

सूर्यज्योति लाइफको बोनस सेयर सूचीकृत

काठमाडौं । सूर्यज्योति लाइफको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाबाट ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले ५६ लाख ५२ हजार ४५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दीपेश केसीले बताए। कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो । विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताए । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताए । पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताए । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् । गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ । बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको ७० लाख र बेनी नगरपाकिलाको ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो । ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताए । यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले ७६ लाख २१ हजार १ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न महासंघको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले २ सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले १ सय ८४ मत प्राप्त गरे । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरूमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । महाधिवेशनमा ४ सय ४६ प्रतिनिधि रहेका थिए ।

एसईई पूरक परीक्षा साउन २३ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएका थिए । यद्यपि, शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उनले जानकारी दिए । साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । गत बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेबाट सञ्चालन गर्ने जनाएको हो ।

सरकारले पेट्रोल र डिजेलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ रुपैयाँले बढेर आएको छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुनेछ ।

जीवनभर बैंकिङ गरे, बुढेसकालमा हिरासत पुगे

काठमाडौं । जीवनको महत्वपूर्ण तीन दशक नेपाली बैंकिङ क्षेत्रमा योगदान गरे । मुलुकको सबैभन्दा पुरानो बैंक ‘नेपाल बैंक’मार्फत् नेपालीलाई बैंकिङ सेवा दिए । बैंकको नाम नसुनेकालाई बैंकिङ सिकाए । पैसा बचत गर्न नजान्नेलाई निक्षेप राख्न सुझाए । इन्ट्री लेवलदेखि बैंकको चिफ म्यानेजरसम्म पुगे । अथक संघर्ष र मिहिनेतपछि ३१ वर्षमा स-सम्मान बैंकबाट अवकाश पाए । बैंकिङ क्षेत्रमा ठूलो योगदान गरेको भन्दै दोसल्ला र खादासहित बैंकबाट विदा भए । उनलाई अझैं बैंकिङ भोक मरेन । सर्वसाधारणलाई वित्तीय साक्षरता र वित्तीय पहुँच बढाउनुपर्छ भन्ने हुटहुटी उनको मनमा खेलिरह्यो । अरु कुनै बैंकमा काम गर्ने अवस्था थिएन । परिणामतः उनले रोजे सहकारी । बैंकबाट अवकास हुनु पाँच वर्षअघि अर्थात् २०५६ सालमा ललितपुरको पुल्चोकमा स्थापना भएको थियो लालिगुराँस बहुउद्देश्यीय सहकारी । उनले सोही सहकारीमार्फत् जनतालाई बैंकिङ सेवा सिकाउने र आफू पनि व्यस्त हुने विकल्प खोजे । र, उनी बने लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य । उनी अर्थात् अमरदास श्रेष्ठ । अमरदास श्रेष्ठ । नेपाल बैंकबाट अवकास भएपछि उनी सक्रिय रुपमा सहकारीमा लागे । बैंकिङ करिअरमा कमाएको पैसा र पेन्सनलाई बचतका रूपमा सोही सहकारीमा राखे । सहकारीमा आकर्षक ब्याज थियो, बचत रकम बढ्दै गयो । जति बचत बढ्यो, उनको भूमिका र जिम्मेवारी पनि फेरिन थाल्यो । उनको चाहना थियो, आफ्नो बचतको पैसा बढाउने र सर्वसाधारणलाई पनि बैंकिङ सेवा सिकाउने । सोही संकल्पका साथ उनी वि.सं. २०६१ सालमा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सचिव बने । उनी सो सहकारीको सचिव मात्रै बनेनन् जहाँ-जहाँ सुरेन्द्र भण्डारीले लगानी गछर्न्, त्यसको सेयर साझेदार पनि बने । २०६४ सालमा सो सहकारीको उपाध्यक्ष बने । ८ वर्ष उपाध्यक्षको जिम्मेवारीमा बसे । वि.सं २०७४ सालमा सो सहकारीको अध्यक्ष बने । उनलाई नजिकबाट चिन्ने सहकारीकर्मीहरू भन्छन्, ‘श्रेष्ठ नाम मात्रैका अध्यक्ष थिए, सहकारीको साँचो सुरेन्द्र भण्डारीको हातमा थियो ।’ ‘जसो-जसो पण्डित बाजे, उसै-उसै स्वाहा’ भनेजस्तो लालिगुराँस सहकारीमा पनि त्यस्तै भयो । सहकारीका सीईओ भण्डारीले जे भन्यो, त्यस्तै गर्थे अध्यक्ष श्रेष्ठ । जहाँ भण्डारीले लगानी गरे त्यहाँ उनको पनि केही लगानी हुन्थ्यो । उनीहरूको साझेदारीमा  लालिगुराँस कलेज पनि खुल्याे । जुन कलेजको भण्डारी अध्यक्ष हुन् भने अमरदास सञ्चालक समिति सदस्य हुन् । ‘मौरीको संगत गरे फूलबारीतिर, झिँगाको संगत गरे फोहोरतिर’ भनेजस्तै भयो अमरदास श्रेष्ठलाई पनि । भण्डारीकै संगतले वृद्धभत्ता खानु पर्ने ७६ वर्षको उमेरमा हातमा हतकडी लाग्यो । न्यानो ओछ्यानमा बस्नु पर्ने उमेरमा चिसो भुइँमा रात बिताउनु पर्ने बाध्यता आइलाग्यो । अमृत कुमार अर्याल । अमरदास मात्रै होइनन्, अमरदासका सहकर्मी अमृत कुमार अर्यालको हालत पनि त्यस्तै भयो । उनीहरू दुवै जनाले नेपाल बैंकमा सँगै काम गरे । सँगै बैंकबाट अवकास पाए । अमृतले पनि नेपाल बैंकमा ३१ वर्ष काम गरे । उनी पनि बैंकको विभिन्न शाखामा लामो समय काम गरे । कामु शाखा प्रबन्धक भएर बैंकबाट अवकास भए । अमरदासकै सल्लाहमा पेन्सनबाट आएको रकम सोही लालिगुराँस सहकारीमा राखे । २०६५ सालमा सोही संस्थाको सञ्चालक बने । पछि उनी संस्थाको कोषाध्यक्ष बने । अमरदास र अमृतलाई आफ्नो काबुमा लिएर सुरेन्द्रले बचतकर्ताको बचत दुरुपयोग गरे । नेपाल बैंकमा अमृत र अमरदाससँग काम गरेका एक बैंकरले अनुभव सुनाउँदै भने, ‘उनीहरू जनताको पैसा ठग्ने क्यारेक्टर (चरित्र)को थिएनन्, अरुको लहैलहमा लाग्दा हिरासत पुग्नुर्‍यो ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रकम ठगेको आरोपमा लालिगुराँस सहकारीका पदाधिकारी तथा सञ्चालकलाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । प्रहरीले सो सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सीईओ सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदम जोशी प्रधानलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ भएकी सञ्चालक समिति सदस्य प्रधान पनि लामो समय शिक्षण पेसामा थिइन् । पछि सहकारीमा लागिन् । अन्ततः त्यही सहकारीले शिक्षण पेसा गरेर कमाएको सम्मानलाई सकाइदियो । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले उनीहरूलाई रकम ठगेको आरोपमा पक्राउ गरिएको बताए । लालिगुराँस सहकारीका सञ्चालक र लेखा समिति गरेर ९ जनाविरुद्द जिल्ला अदालत ललितपुरले गत चैतमा पक्राउ पुर्जी जारी गरेको थियो । गत माघमा उनीहरू विरुद्द महेश थापाले उजुरी दिएका थिए । सो सहकारीका सञ्चालक तथा पदाधिकारी मिलेर ३ करोड रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता भएको छ । यस्तै, दावा डोमा शेर्पाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ध्रुब खरेल समेत भएको ठगी सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा लालिगुराँस सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू उपर आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन सहितको पत्र पठाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । उनका अनुसार अब उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइनेछ । यस सहकारीमा कुल ६ अर्ब ३० करोड रुपैयाँ बचत र २२ हजार बचतकर्ता रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई पक्राउ गरेपछि अब सहकारीका बचतकर्ताको उजुरीका आधारमा सहकारीको बचत ठगेको आरोपमा पनि थप अनुसन्धान अगाडि बढाइनेछ । सम्बन्धित सामग्री : न्यायाधीशसँग चुस्की लाउँदै थिए सुरेन्द्र, पक्राउ गर्न प्रहरीकै अवरोध

प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने

पाटन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाइने बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आज ३४ जना महिला स्वयंसेविकाको बिदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संविधानअनुसार आधारभूत स्वास्थ्य स्थानीय सरकारको एकल अधिकार क्षेत्रभित्र भए पनि स्रोतको अभावले समस्या भएको बताए । उनले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिए । ‘सबै अस्पताललाई बागमती प्रदेश सरकारले औषधि, खोप, तालिम, गोष्ठीलगायत सहयोग गर्नेछ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछौँ, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरूको जीवन बीमा र बजेट व्यवस्था गरिएको छ, कसरी राम्रो गर्न सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालयले काम गरिरहेको छ ।’ उनले उत्पादनसँग जोडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याको सिकार बनिरहेकाले न्यूनीकरण गर्न मनोसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको जानकारी गराए । उनले समुदायसँग मिलेर मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनेलगायत कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेको बताए । अनुभवले आर्जन गरेको सीपलाई पुस्तान्तरण गर्न महिला स्वयंसेविकालाई उनको आग्रह थियो । निराश नभई क्रियाशील रहन उनले अनुरोध गरे । ‘आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुको सुरक्षामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान प्राप्त गर्न सफल भएको छ,’ उनले भने । जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले ललितपुरको हकमा पाटन अस्पतालले मात्रै बिरामीको चाप थेग्न नसकेकाले प्रदेश मातहतका स्वास्थ्य संस्थाहरूको क्षमता र सेवा सुविधा वृद्धि गर्नुपर्ने बताए । महाँकाल गाउँपालिकाका प्रमुख गणेशबहादुर केसीले सरकारले उपलब्ध गराएको सेवा सुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘निःस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ, आगामी दिनमा पनि गाउँटोलमा सेवा पु(याउनु हुनेछ भन्ने विश्वास छ,’ अध्यक्ष केसीले भने । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले संविधानले शिक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भए पनि संघ र प्रदेशका कार्यालयले गरेका कामका बारेमा जानकारी नहुने गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने विषयमा महिला स्वास्थ स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन र जनचेतना फैलाउन गरेको योगदानको प्रशंसा गरे । उनले बागमती गाउँपालिकाले स्वयंसेविकाको हितलाई ध्यान दिइ संघ र प्रदेशको अलावा थप सुविधा उपलब्ध गराइरहेको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले महिला स्वयंसेविकाहरूले बाल मृत्युदर, मातृ मृत्युदर घटाउन पु(याएको योगदानका कारण नेपालले सहस्राब्दी विकास लक्ष्य हासिलको पुरस्कार प्राप्त गरेको बताए । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले छ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गरेका ३४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला, प्रमाणपत्रसहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको हो । सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्य पूरा गर्न र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्य अनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५र४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका रूपमा परिणत गरेको थियो ।