विकासन्युज

एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा शुभारम्भ

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्टेनलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटिएम वथड्रको साथमा पिओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् । ‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिषा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

चन्द्रागिरिले बालबालिकाको नाममा ५ हजार रकम जम्मा गरिदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार रूपैयाँ संकलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो ।  स्थायी बसोबास गरेका नगरबासीका सन्ततिका नाममा मुद्दती खाता खोलिदिई सो रकम संकलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ । बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ । चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक लिमिटेडका बीच मुद्दती खाता सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गरिने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगर प्रमुख गिरीले बालबालिका १८ वर्ष पुगेपश्चात् उनीहरुको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको जानकारी दिए । उनले भने, ‘बालबालिका १८ वर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न रकमले केही  सहजता प्रदान गर्न सक्छ । नगरपालिकाले प्रदान गरेको रकममा अभिभावकलाई पनि आफ्नो सन्तानको खातामा रकम थप गरी भविष्य सुनिश्चित गर्न म आग्रह पनि गर्दछु ।’ प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गरेर बालबालिकाको नाममा रु पाँच हजार रकम संकलन गरिदिन लागिएको बताए । उनले भने, ‘यसले बालबालिकाको भविष्यमा सकारात्मक दूरगामी प्रभाव पर्दछ । यसले बाल मैत्री स्थानीय शासनलाई थप प्रवर्द्धन गर्दछ ।’ कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  खनिया र सतुङ्गल शाखाका प्रमुख सुधा दाहालले बालबालिकाको नाममा मुद्दती खाता  सञ्चालन गर्न नगरपालिकासँग सहकार्य गर्न पाउनु बैंकका लागि गर्व रहेको बताए । कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गीलगायतकोे उपस्थिति रहेको थियो ।  

भारतमा विवाह खर्च १०० खर्ब, शिक्षाभन्दा दोब्बर

काठमाडौं । भारतमा मानिसहरूले शिक्षाभन्दा बढी विवाहमा खर्च गर्ने गरेको पाइएको छ । एक रिपोर्टका अनुसार भारतको विवाह उद्योगको आकार करिब १ सय खर्ब रुपैयाँ बराबर रहेको छ । पछिल्लो समय मानिसहरू बिहेमा धेरै खर्च गर्छन् । अझ भनौं, पैसा पानी जस्तै बगाइन्छ । समयसँगै विवाहको शैली पनि परिवर्तन भएको छ । अहिले विवाह योजना, विवाह गन्तव्य, विवाहपूर्व र विवाहपछि गरिने फोटोसुट जस्ता धेरै काम थपिएका छन् । यस्तै, भारतमा मानिसहरूले शिक्षाभन्दा विवाहमा बढी खर्च गर्ने देखिएको छ । यो खाना र किरानापछि दोस्रो हो । एक औसत भारतीयले विवाह समारोहमा पढाइको तुलनामा दोब्बर खर्च गर्छन् । भारतमा हरेक वर्ष ८० लाखदेखि १ करोडसम्म विवाह हुने गर्दछ । यो चीन जस्ता देशमा भन्दा बढी हो, जहाँ हरेक वर्ष ७० देखि ८० लाख विवाह हुन्छन्, जबकि अमेरिकामा यो संख्या २० देखि २५ लाख छ । ब्रोकरेज फर्म जेफरिजले एक रिपोर्टमा भारतीय विवाह उद्योगको आकार अमेरिकी उद्योग (७० अर्ब अमेरिकी डलर) भन्दा झन्डै दोब्बर भएको बताएको छ । यद्यपि, यो चीन (१ खर्ब ७० अर्ब डलर) भन्दा सानो छ । प्रतिवेदन अनुसार भारतको खपत श्रेणीमा विवाह दोस्रो स्थानमा छ । यदि विवाह एक श्रेणी हुन्थ्यो भने यो खाना र किराना (६ खर्ब ८१ अर्ब डलर) पछि दोस्रो ठूलो खुद्रा श्रेणी हुन्थ्यो । भारतमा विवाहहरू भव्य हुन्छन् र यसमा धेरै प्रकारका समारोह र खर्च समावेश हुन्छन् । कपडा र गरगहनामा कति खर्च हुन्छ ? विवाहले गहना र कपडा जस्ता श्रेणीमा खपत बढाउँछ र अप्रत्यक्ष रूपमा अटो र इलेक्ट्रोनिक्स उद्योगहरूलाई फाइदा पुर्‍याउँछ । असाधारण विवाह रोक्न प्रयासहरू भए पनि विदेशी स्थानहरूमा आयोजित भव्य विवाहहरूले भारतीय भव्यता प्रदर्शन जारी राखेका छन् । ‘हरेक वर्ष ८० लाखदेखि १ करोड विवाहहरू हुन्छन्, भारत संसारको सबैभन्दा ठूलो विवाह गन्तव्य हो,’ जेफरिजले भनेको छ, ‘यसको आकार १ खर्ब ३० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ, भारतको विवाह उद्योग अमेरिकाको भन्दा झन्डै दोब्बर छ र प्रमुख उपभोग वर्गहरूमा महत्त्वपूर्ण योगदान दिन्छ ।’ भारतीय विवाहहरू धेरै दिनसम्म चल्छन् र साधारणदेखि असाधारणसम्मका हुन्छन् । यसमा क्षेत्र, धर्म र आर्थिक पृष्ठभूमिले महत्त्वपूर्ण भूमिका खेल्छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि भारतमा शिक्षामा (ग्रेजुएसनसम्म) मा भन्दा विवाहमा हुने खर्च दोब्बर छ, जबकि अमेरिका जस्ता देशहरूमा यो खर्च शिक्षाको तुलनामा आधाभन्दा कम छ । एजेन्सी

युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । उनी गौल्छा अर्गनाइजेशनका कार्यकारी निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाका छोरा हुन् । काठमाडौँको याक एन्ड यतिमा भएको छैटौं साधारणसभाबाट प्रथप उपाध्यक्ष आप्पा शेर्पा, द्धितिय उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल निर्वाचित भएको मञ्मद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । नव-निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए । प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बागलुङ । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनीभन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास भए पनि कटान रोक्न नसक्दा नगरपालिकाले काम अगाडि बढाउन नसकेको हो । सुरुआती समयमा जमिन सम्याउने, घेराबार लगाउने र केही उद्योग स्थापित गरिहाल्ने गरी संरचना निर्माणको ठेक्का लगाए पनि अहिले समस्या  परेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नदीले गाडी चल्ने ट्रयाक बनाएको जमिन बगाएको छ । अहिले यो स्थानको झण्डै ३० रोपनी जमिन कालीगण्डकीमा मिसिइसकेको छ । वडा नं १३ को ‘कालाखोला औद्योगिक ग्राम’ धरापमा परेको हो । औद्योगिक ग्राम बगर बन्ने खतरा भएपछि नगरपालिकाले उद्योग खोल्ने तयारी स्थगित गर्नुपरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । चार वर्षअघि गण्डकी प्रदेश सरकारले एक स्थानीय तह, एक औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार कालाखोलाको झण्डै सय रोपनी जमिनलाई बागलुङ नगरपालिकाले औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । झण्डै २० लाख रुपैयाँ बढी रकम लगानी भइसकेपछि काम अलपत्र परेको हो । पूर्वतर्फ पर्वतको सहश्रधारामा नदी दोहन बढेपछि नदीको धार परिवर्तन भएको थियो । उक्त धारले औद्योगिक ग्राम कटानमा परेको हो । ‘सर्वोच्च अदालतको आदेशपछि हामीले चार वर्षदेखि नदीजन्य वस्तु उत्खनन गरेका छैनौँ, तर अवैध दोहन गर्नेले जथाभावी गर्दा नदीले धार परिवर्तन भयो,’ नगर प्रमुख श्रेष्ठले भने, ‘त्यसको मार हामीले खेपेका छौँ ।’ नदी कटानले स्थानीयका दर्जन बढी घरसमेत जोखिममा परेका हुन् । उनीहरुले तत्काल नदीको किनारमा तटबन्धन नगरे बस्तीनै बग्ने, सयौँ रोपनी खेतीयोग्य जमिन बगर बन्ने अवस्था आएको स्थानीय महेन्द्र रोकाले गुनासो गरेका छन् । एकातर्फ दोहन हुँदा अर्कोतर्फ नदीको धार परिवर्तन हुने गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नदी किनारका जोखिम स्थानको अवलोकन गरेर नदीको धार परिवर्तन भएकाले रोक्नुपर्ने बताए । उनले दोहन गर्नेलाई कारबाही गर्न पहल गर्नेसमेत बताए । ‘नदीलाई सहजै बग्न दिए त केही नहोला, नत्र जोखिम बढेकै देखियो,’ उनले भने, ‘तटबन्धनको काम गरेमात्र जोगाउन सकिन्छ ।’ जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रजिअ सुवेदी, नगरप्रमुख श्रेष्ठ र प्राविधिकको टोलीले अनुगमन गरेर नदी दोहन रोक्ने, तटबन्धन गर्ने र थुप्रिएको सामग्री ‘घाटगादी’ गरेर तत्कालको समस्या समाधान गर्न सकिने सुझाएका छन् ।

प्रोग्रेशिभ फाइनान्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै २ लाख १ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । उक्त संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापक सेयर गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष खरिद आवेदन पेस गर्न सक्नेछन् । उक्त अवधिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

टीकापुरमा असल करदातालाई सम्मान

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेमा पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशंकर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल, पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी छन् । यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ । सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताए । ‘पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ,’ उनले भने, ‘ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ ।’ यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भने, ‘समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।’ नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिए । ‘पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनुपर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ,’ उनले भने, ‘कर संकलन भएर देश चलेको छ, यसैले करदाता सम्मानको हकदार हुनुहुन्छ ।’

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीका नाममा रहेको २२ हजार ७२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरिएको छ । बैंकले उक्त सेयर विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाका लागि लिलामीमार्फत बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले असार २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपुग्ने गरी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम २२ हजार ७२७ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।