विकासन्युज

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनपनि १६ सयले बढेर प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री, विश्वासको मत लिने प्रधानमन्त्रीको वचन

काठमाडौं । राजीनामा दिन पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिएर फर्किएका हुन् । राजीनामा दिने तयारीका साथ रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएर फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । रास्वपाका मन्त्रीहरूले पनि प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्। दाहाल नेतृत्वको सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्। यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिइसकेका छन्। अब दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।  प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई वालिङ नगरपालिकाले गर्यो सम्मान

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ  । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तिन/तिन जना विद्याथीलाई बुधबार एक कार्यक्रमका विच नगरपालिकामा सम्मान गरिएको हो । नगरपालिकाले सामुदायीक विद्यालय तर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपानेले ३.९२ जीपीए ल्याएर सामुदायीक विद्यालय तर्फ प्रथम भएका उनलाई १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गावहादुर क्षेत्रीले ३.७७ जीपीए ल्याएर दित्तिय भएका थिए उनलाई १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र रणविर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादवले ३.७४ ल्याएर तितृय पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । नीजि विद्यालय तर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंहले ३.९२ जीपीए ल्याएर दुवैजना प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगद सहित प्रमाणपत्र, वालविद्या विकाश माध्यमिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर दित्तिय भएकी उनलाई १० हजार नगद सहित प्रमाणपत्र र पायोनियर हायर एजुकेशन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तितृय स्थान हासिल गरेकी उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । नगरपालिकाले गतवर्ष २०७९ मा सामुदायीक तर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षा भुषाल र राजीव पंगेनी र संस्थागत विद्यालय तर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपीए ल्याएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई वधाई तथा शुभकामना व्यक्त गरेकी छन् । नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारको लगानी अनुरुप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्यायन गर्न चाहने विद्याथीहरु १४ जनालाई नगरपालिकाले निशुल्क छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिईन् । वालिङ नगरपालिकाबाट शैक्षिक सत्र २०८० सामुदायीक तथा संस्थागत गरी २६ विद्यालयवाट कुल ८ सय २३ विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । जस मध्ये ४ सय १८ जना पास भएका थिए । यि मध्ये भुम्रे माध्यमिक विद्यालयबाट ३४ जनाले परिक्षा दिएकामा ३४ जना अनुत्तिर्ण भएपछि सून्य नतिजा ल्याएको थियो ।

लेबनान र साउदी अरेबियाबीच १० मिलियन अमेरिकी डलर सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं । लेबनान र साउदी अरेबियाले लेबनानमा २८ परियोजनाहरू कार्यान्वयन गर्न १० मिलियन अमेरिकी डलर विनियोजन गर्ने सहयोगको ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा लेबनानका प्रधानमन्त्री नजिब मिकातीले लेबनान र साउदी अरेबिया बीचको बलियो भ्रातृ सम्बन्धमा जोड दिँदै साउदी अरेबिया सधैं लेबनानको पक्षमा रहेको र लेबनानको एकतालाई जोगाएको उल्लेख गरे । आफ्नो पक्षका लागि लेबनानका लागि साउदी राजदुत वालिद बुखारीले साउदी अरेबियाको १० मिलियन डलरको आर्थिक सहयोगले मानवीय र राहत प्रयासहरूलाई समर्थन गर्न र लेबनानमा स्थायित्व र विकासलाई प्रवद्र्धन गर्न साउदी नेतृत्वको उत्सुकता झल्काउने बताए । बुखारीले साउदी अरेबियाले लेबनानका लागि २.७ बिलियन डलरका १२९ राहत, मानवीय र विकास परियोजनाहरू विभिन्न क्षेत्रमा कार्यान्वयन गरेको बताए ।

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ । बैंकले भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ । उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ । इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिने कम्पनीको भनाइ छ ।

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न

कैलाली, असार २० । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए । ‘वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्’, नगरप्रमुख चौधरीले भने, ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।’ हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । ‘अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्’, नगर प्रमुख चौधरी भन्छन्, ‘पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने रु हामी त समस्यामा पर्यौँ ।’ बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । ‘घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ”, उनले भने, ‘सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्यो ।’ लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताए । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए । यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ । रासस

राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा दिन लागेका हुन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्ट रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाउन लागेका हुन् । रास्वपाका तर्फबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । एमाले र कांग्रेसले नयाँ गठबन्धन बनाई सरकार गठनको प्रयास गरेका छन् । रास्वपाले नयाँ गठबन्धनको सरकारमा भने सहभागी नहुने बताएको छ ।

डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन कुमारी क्यापिटको आग्रह

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक) का शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । हितग्राही खातावालाहरूले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ । खातावालाहरूले कुमारी क्यापिटल तथा कुमारी बैंकका शाखा कार्यालमार्फत शुल्क बुझाउन सक्नेछन् । यस्तै ई–सेवा,केबीएल मोबाइ ल एप,आइएमई पे,प्रभु पे,खल्ती,कनेक्ट आईपीएस र फण्ड ट्रान्सफरमार्फत पनि शुल्क बुझाउन सकिने कम्पनीले जनाएको छ । वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ । यस्तै, ९९९ रुपैयाँमा आजीवन हितग्राही खाता नवीकरण गर्न सकिने कम्पनीको भनाइ छ ।