राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा दिन लागेका हुन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्ट रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाउन लागेका हुन् । रास्वपाका तर्फबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । एमाले र कांग्रेसले नयाँ गठबन्धन बनाई सरकार गठनको प्रयास गरेका छन् । रास्वपाले नयाँ गठबन्धनको सरकारमा भने सहभागी नहुने बताएको छ ।
डिम्याट खाताको वार्षिक नवीकरण शुल्क बुझाउन कुमारी क्यापिटको आग्रह
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही (डम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले कुमारी क्यापिटल र कुमारी बैंक (साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक) का शाखा कार्यालयहरूमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । हितग्राही खातावालाहरूले असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने कम्पनीले जनाएको छ । खातावालाहरूले कुमारी क्यापिटल तथा कुमारी बैंकका शाखा कार्यालमार्फत शुल्क बुझाउन सक्नेछन् । यस्तै ई–सेवा,केबीएल मोबाइ ल एप,आइएमई पे,प्रभु पे,खल्ती,कनेक्ट आईपीएस र फण्ड ट्रान्सफरमार्फत पनि शुल्क बुझाउन सकिने कम्पनीले जनाएको छ । वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने र मेरो सेयर समेत निष्क्रिय गरिने कम्पनीले जनाएको छ । यस्तै, ९९९ रुपैयाँमा आजीवन हितग्राही खाता नवीकरण गर्न सकिने कम्पनीको भनाइ छ ।
नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने यो सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन् । । तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
बलेफी हाइड्रोपावरको विशेष साधारण सभा आज, के छन् एजेण्डा ?
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा बिहीबार बस्दैछ । सभा काठमाडौं नयाँ बानेश्वरमा रहेको रोयल एलिनाज रेष्टुरेन्टमा बिहान ११ बजे बस्नेछ । उक्त विशेष सभाले सञ्चालकहरूको नियुक्ति र कर्जा सुविधा स्वीकृती जस्ता प्रस्ताव पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै विशेष सभामा सहभागी हुन योग्य हुनेछन् ।
कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर किक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले हाल बैंकका साविक संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । यो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौं ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनसक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
भन्सार छली गरी भारतबाट भित्र्याइएको ११ करोड बढीको सामान बरामद
झापा । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको ११ करोड १० लाख ८४ हजार रुपैयाँ बढीको बिल बिजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । उनका अनुसार १ करोड ४ लाख २ हजार मूल्य बराबरको १२ वटा सवारी, ३० लाख ६१ हजार ५ सय ७० मूल्य भएको ७ सय ७९ गोलिया काठ, ५३ लाख ३४ हजार २ सय मूल्य पर्ने १ हजार ८१ वटा पशु चौपाया, ३ लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ । ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, ८८ हजार बराबरको मदिरा र १७ लाख ५१ हजार ७ सय ७० रुपैयाँ बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ । चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लागुऔषधसहित नेपाल भित्रिदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सप्रउ राईले बताए । उनका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधी बरामद गरिएको छ । ‘सशस्त्र प्रहरी बल २ नं गणले झापा जिल्लाको भारतसँग सीमा जोडिएको क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा चारवटा टोली २४/७ नै पैदल गस्ती परिचालन भएको छ,’ सप्रउ राईले भने । सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको सशस्त्र प्रहरी बल २ नं गणले जनाएको छ । साथै, भारतीय समकक्षी एसएसबीसँग आवश्यकताअनुसार निरन्तर बैठक बस्ने गरेको सशस्त्र प्रहरी २ नं गण झापाले जनाएको छ ।
गुणस्तरहीन खाने तेल उत्पादन गर्ने चार कम्पनीलाई ८ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई ८ लाख रुपेयाँ जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो । मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भई सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच/लट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच/लट नं ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो । यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् । विसं २०८० माघमा उत्पादन भएको, ब्याच/लट नं १० को फेमिली ब्रान्डको आयातीत तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो । उक्त ब्रान्डहरूको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरूलाई कारबाही गरिएको हो । ‘नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ, यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,’ प्रमुख न्यौपानेले भने । मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई कामपाले पत्राचार गरेको छ ।
रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको हो । ढकाललाई निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि नयाँ महामन्त्रीमा हालका प्रमुख सचेतक सन्तोष परियारको सम्भावनाबारे चर्चा भएको थियो । यद्यपि, बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् । महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपाको भनाइ छ । बुधबार बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो ।