एमाले मन्त्रीहरुको राजीनामा बुझ्दै जब प्रचण्डले गीत गाए…
काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार राति बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती प्रचण्डको नेतृत्वको सरकारमा थिए । उनीहरु सबैले राजीनामा बुझाएका हुन् । बुधबार नेकपा एमालेले पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले आफूले यस विषयमा धेरै टिप्पणी नगर्ने बताए । एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ।’ नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो ।
सहकारी अभियान्ता उप्रेती पक्राउ, बचत अपचलनको आरोप
काठमाडौं । सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षमसेत रहेका उप्रेती सहकारीको बचत हिनामिना गरेको अभियोगमा पक्राउ परेका हुन् । प्रहरी वृत्त महाराजगञ्जले अध्यक्ष उप्रेतीलाई बुधबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । सहकारी संस्थाकाे बचत रकम हिनामिना गरेकाे जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सो सहकारी संस्थाका अन्य सञ्चालक विरूद्ध पनि उजुरी परेको छ । उनीहरूका विरूद्ध पक्राउ पुर्जी जारी भएपनि खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । केही समयअघि अध्यक्ष उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार गरेको भन्दै गुनासो गरेका थिए । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)ले गत बैशाखमा आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर यस क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखेका थिए ।
असई थमन विकको हत्या आरोप लागेका पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
महोत्तरी । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशल यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको इजलाशले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको हो । मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा लामो समयदेखि फारार रहेका पूर्वसांसद यादवलाई गत शनिबार राति पक्राउ गरिएको थियो । २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति
झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार ९ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए । हावाहुरीबाट २ करोड ७६ लाख ४० हजार, बाढीबाट १ करोड ५० लाख, आगलागीबाट ९ करोड ८३ लाख ६ सय र चट्याङले ८ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा बाढीबाट ९ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए ।
सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर
काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले पूरक अभियोगपत्र दायर गरेको छ । जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले तामाङविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो । तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाई सीआईबीले ७ करोड ८८ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यसअघिकै मुद्दामा तामाङ हाल डिल्लीबजार कारागारमा छन् । यसअघि उनीविरुद्ध चार वर्षअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।
काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह
काठमाडौं । वर्षाले काठमाडौं उपत्यकाका खोला तथा नदीमा पानीको सतह बढ्न थालेपछि जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तटीय क्षेत्रमा रहनेले विशेष सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ। धोबिखोला, विष्णुमतीलगायतका खोलामा पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कपन वर्षामापन केन्द्र र आसपास मध्यम वर्षा भएको छ । बुढानीलकण्ठ क्षेत्रमा एक घन्टामा २५.६ मिलिमिटर वर्षा हुँदा धोबिखोलामा जलसतह बढिरहेको महाशाखाले बताएकाे छ । महाशाखाले दिएकाे जानकारी अनुसार बुढानीलकण्ठ क्षेत्रमा पछिल्लो २४ घन्टामा ७९.४ मीमी वर्षा भएको छ । यस्तै, विष्णुमती खोला गोंगबु बसपार्क जलमापन केन्द्रमा पनि जलसतह बढ्दो क्रममा छ । पानीपोखरी क्षेत्रमा पछिल्लो २४ घन्टामा २१.८ मीमी पानी परेको महाशाखाले जनाएको छ ।
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाख रुपैयाँभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ । उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा ७३ लाख १३ हजार तीन सय रुपैयाँ भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम घरभाडाबापत १ लाख ९६ हजार ५६०, बैठक भत्ता ४० हजार, राहत वितरण १ लाख ३५ हजार, इन्धनमा ३५ हजार, कार्यालय सामान खरिदमा १ लाख, अनुगमन भत्ता २ लाख, विद्युतीय सामग्री खरिदमा ३ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । यसैबीच, सिमकोट गाउँपालिका-१ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो ।
सहकारीका सञ्चालकलाई एक महिनाभित्र दोहोरो पद छाड्न निर्देशन
काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ ९५० मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ । ‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ,’ विभागको परिपत्रमा उल्लेख छ ।