काठमाडौं । राजीनामा दिन पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।
उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिएर फर्किएका हुन् । राजीनामा दिने तयारीका साथ रास्वपाका मन्त्रीहरू बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएर फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
रास्वपाका मन्त्रीहरूले पनि प्रधानमन्त्री दाहाललाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताएका छन्।
दाहाल नेतृत्वको सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन्।
यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिइसकेका छन्। अब दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।