विकासन्युज

गुणराज : मुवा थाई विश्वविजेताको कथा

काठमाडौं । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै । मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो । विसं २०८० चैत ६ गते मंगलबारका दिन थाइल्याण्डको बैंककस्थित द बजार रत्चडाफिसेकमा १९औं विश्व मुवा थाई प्रतियोगिताको फाइनल चलिरहेको थियो । सेमि–प्रोफेसनल विधाअन्तर्गत ५४ किलो तौल समूह पुरुषतर्फको प्रतिस्पर्धामा थिए नेपालका गुणराज रुचाल । रिङभित्र रुचालका प्रतिस्पर्धी थिए इटालीका ग्राभियल ओलारियु । तीन राउण्डको नौ मिनेट लामो मुक्कामुक्कीपछि रेफ्रीले गुणराजको बायाँ हात उचाल्दै विजेता घोषित गर्यो । त्यो जित गुणराजको एक्लो थिएन । सिङ्गो नेपालको जित थियो । नेपालको राष्ट्रिय झण्डा फहराउँदै गुणराजसहितको सानो नेपाली टोलीले त्यहाँ उत्सव मनाए । मुवा थाई खेलमा देशले प्राप्त गरेको हालसम्मकै ठूलो सफलता थियो त्यो । जब विश्वविजेताको पेटी (बेल्ट) गुणराजको कम्मरमा बाँधियो । गुणराज एकछिन भावुक भए । आँखाहरू रसाए । सपना पूरा भएकामा उनी रोमाञ्चित भए । मन भने वहलिँदै त्यही देवीटार गाउँ पुग्यो । खेतीपाती गरेर वर्षभरि खान नपुग्ने परिवार । छोराछोरीका लागि बुबाआमाले निरन्तर गरिरहेको संघर्ष । छाती गह्रौँ भयो । गला अवरुद्ध भए । आफ्नै मनले भने, ‘बाबा तिम्रो छोरा पनि विश्वविजेता बन्यो ।’ ताजा खुसीको उन्मादले ओझेलमा परेको अर्को पीडा साथमै थियो । भीडन्तको पहिलो राउन्डमै उनको दायाँ हात भाँचिसकेको थियो । तर हात भाँचिएको कुरा न उनले कोचलाई सुनाए न त रेफ्रीलाई । ‘मेरो हात भाँचियो भनेर मैले पहिले थाहा पाइसकेको थिएँ । किनभने त्यसरी नै मेरो हात पहिले पनि भाँचिएको थियो’, उनले त्यो क्षण सम्झिँदै भने, ‘तर मैले मेरो हात भाँचिएको सुनाउने बित्तिकै खेल छाडेर हार स्वीकार्नु  पथ्र्यो वा मेरो प्रतिद्वन्द्वीले थाहा पाएको भए मेरो हातलाई केन्द्रमा राखेर प्रहार गरेपछि म खेल्नै सक्दिन थिएँ ।’ दश वर्षदेखिको विश्वविजेता बन्ने लक्ष्य पूरा नहुने जब उनले सम्झिए, त्यसपछि ‘गिभ अप’ गरेनन् । अनि बक्सिङभन्दा बढी लात्ती, कुहिना र घुँडाको प्रहार गर्दै प्रतिद्वन्द्वीसँग फाइनल राउण्डसम्म भिडे । यो त्यही दायाँ हात हो, जो मुवा थाईकै प्रतियोगितामा तेस्रोपटक भाँचिएको थियो । सिस्नेरी टु वल्र्डच्याम्पियन  ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीस्थित देवीटार गाउँ । जहाँ पाँच घर दलित, तीन घर मगर र ६० घर जति क्षेत्री ब्राह्मण समुदायको बस्ती छ । त्यही गाउँका खड्गबहादुर र फूलमायाको तीन भाइ र एक बहिनी छोरीमध्येको जेठो हुन् गुणराज । नुन र चामल बोक्न पाँच घण्टा पैदल हिँडेर घुर्मी बजार पुग्नुपर्ने । ‘अझ बुबाआमाले दुईदिनको पैदल बाटो कटारी पुगेर नून ल्याउनुहुन्थ्यो रे, बाल उमेरमा यस्तो सुन्दा मलाई कथा सुनेजस्तै लाग्थ्यो’, गुणराजले बाल्यकाल सम्झिँदै भने । दलित समुदायलाई अझै उच्च जात भनाउँदाले हेर्ने दृष्टिकोण कहाँ बदलिएको छ र रु कहीँ खेतालो, गोठालो, बजार जाँदा नजानिँदो ढङ्गले हेपिएको महसुस गुणराजलाई हुन्थ्यो । तर, आफूलाई हेपेको मात्र नभई अरुलाई हेपेको पनि देख्न नसक्ने उनमा विद्रोही स्वभाव थियो । प्रतिवादमा उत्रिनु गुणराजको नानीदेखिको बानी हो । स्कुल बाहेकका समय गोरु, बाख्रा चराउन कहिले खोला किनार त कहिले जंगलतिर सुसेल्दै हिँडेको त्यो स्वर्णिम बाल्यकाल अझै उनको मानसपटलमा झल्झली आउँछन् । छुट्टीको दिन घाँस, दाउरा जानुपर्ने नियमित तालिका छँदैछ । सामान्य लेखपढ गरेका खड्गबहादुर र फूलमायाले दुःखै किन नहोस् छोरालाई सरकारी जागीरे बनाउने सपना देखे । छोराले २०६४ मा गाउँकै कालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गर्ने बित्तिकै १८ महिने ‘कम्युनिटी मेडिसिन असिसटेन्ट’ (सिएमए) पढाउन सदरमुकामस्थित हिमालयन पारामेडिकल शिक्षालय पठाए । गुणराजले पनि बुवाआमाको सपना पूरा गर्न सिएमए पढे । सिएमए उत्तीर्ण गरेपछि बाँकी रह्यो अहेबको परीक्षाको तयारी । त्यसका लागि लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने । तयारीस्वरुप किताब किनेर ल्याए । किताब पढ्न थालेको दोस्रो दिन मात्रै भएको थियो । रेडियोमा अचानक गाउँपालिकाको केन्द्र मूलखर्कमा कराँते तालिम सञ्चालन हुने सूचना उनको कानमा ठोक्कियो । रेडियोमा सूचना पुरा बज्न नपाउँदै गुणराजले बन्द गरेको अहेबका लागि लोकसेवा तयारीसम्बन्धी पुस्तक त्यसपछि कहिल्यै खुलेन । कराँते सिकेरै छाड्ने छोराको जिद्दी सामू बाउआमाको केही लागेन । गाउँदेखि उकालैउकालो दौडिँदा दुई घण्टामा पुगिन्थ्यो मूलखर्क । छ बजेदेखि सुरु हुने करााते प्रशिक्षणमा सहभागी हुन गुणराज बिहान ४ बजे  घरबाट हिँडिसक्थे । पुष–माघको चिसो ठिही र लामो रात । गाउँदेखि माथि रहेको दमार जङ्गल अँध्यारोमै कट्नुपथ्र्यो । तैपनि मनमा कुनै डर थिएन । थियो त एकमात्र कराँतेको गुरु बन्ने लक्ष्य । तीन घण्टाको प्रशिक्षण सकेर फर्किँदा १० बज्थ्यो । त्यसपछि फेरी घरको काम गर्नुपथ्र्यो । तर त्यो कराँते प्रशिक्षण विविध कारणले तीन महिनाभन्दा बढी सञ्चालन हुन सकेन । गुणराजको खेलाडी बन्ने सपना अधुरै रह्यो । उनी २०६९ असार १५ गते नेपाली सेनामा भर्ती भए । बाँकी सपना पूरा गर्ने माध्यम उनले नेपाली सेनालाई बनाउने सोचे । सेनाको तालिममै मार्सल आटर्रस विधाअन्तर्गतका विभिन्न खेलहरु अनिवार्य सिक्नुपथ्र्यो । तर त्यो आधारभूत किसिमको मात्र हुन्थ्यो । त्यसअन्तर्गत पनि गुणराजले मुवा थाई रोजे । मुवा थाईमा उनको लगाव यति धेरै देखियो कि नेपाली सेनाले उनलाई त्रिभुवन आर्मी क्लबमा आबद्ध गरायो । अनि पूर्णकालीन मुवा थाई खेलाडी बने । अहिले नेपाली सेनाको अमलदार पदमा छन् रुचाल । निरन्तरको मेहनत र लगावले गर्दा उनले विस्तारै मुवा थाईमा सफलता प्राप्त गर्न सुरु गरे । उनले २०७६ सालमा काठमाडौंमा आयोजित ‘बेल्ट च्याम्पियनसिप’को राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे भने २०७७ मा चितवनमा भएको ‘टप फाइभ’ मुवा थाई प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरे । विसं २०७४ माघ २८ मा चितवनमा भएको तेस्रो इन्डो–नेपाल प्रतियोगितामा पनि स्वर्ण पदक हात पारे र जितलाई निरन्तरता दिँदै २०७९ सालको चौथो इन्डो–नेपाल प्रतियोगितामा स्वर्ण पदक आफ्नै कब्जामा राखे । विसं २०७९ को आठौँ इन्डो–नेपाल मुवाथाई प्रतियोगितामा स्वर्ण जितेर इन्डो–नेपाल प्रतियोगितामै तीनवटा स्वर्ण पदक प्राप्त गर्ने खेलाडी बने । मुवा थाईको अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पनि उनको वर्चस्व कायम छ । विसं २०७५ असोजमा नेपालमै आयोजित तेस्रो केब्याक इन्टरनेशनल मुवा थाई प्रतियोगितामा स्वर्ण पदक जितेका उनले २०७६ भदौमा थाइल्याण्डमा सम्पन्न जेएफ बक्सिङ फाइट प्रोमोसनमा इटालीका खेलाडीलाई नकआउट गर्दै विजयी भएका थिए । विसं २०७९ मा थाइल्याण्डको बैंककमा भएको फेयरटेक्स फाइटमा म्यानमारका खेलाडीलाई पराजित गर्दै रुचाल विजयी भए । यसैबीचमा रुचालको विश्व च्याम्पियनसिप यात्रा सुरु भइसकेको थियो । विसं २०७९ मा थाइल्यान्डको पतायामा आयोजित १७ औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२२ मा कास्य पदक प्राप्त गरे । त्यो मङ्सिरको कुरा हो । त्यही सालको चैतमा थाइल्याण्डमै सम्पन्न १८औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२३ मा पुनः दोस्रो पटक कास्य पदकमा चित्त बुझाए । दुईपटक कास्य पदक प्राप्त गरेपछि पनि विजेता बन्ने अठोटबाट गुणराज पछि हटेनन् । त्यसपछिको तयारी यति मेहनतका साथ गरे कि त्यो लक्ष्य पूरा गर्न एकवर्ष पनि कुर्नु परेन । विसं २०८० फागुन २९ देखि चैत ६ गतेसम्म थाइल्याण्डमा सम्पन्न १९औँ अम्याचुअर एण्ड प्रो–एम वल्र्ड मुवा थाई च्याम्पियनसिप २०२४ मा विश्व विजेता हुन सफल भए । मुवा थाई खेल विधाअन्तर्गत उनले प्राप्त गरेको यो उपाधि नेपालका लागि हालसम्मकै ठूलो हो । उनले मुवा थाई विधामा सातवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पराजय भोगेका छन् । तर पनि पराजय नै विजयको पहिलो आधार मानेर निरन्तर अभ्यास गर्ने बानीले उनलाई सफलताको बाटोमा डोर्याइरहेको छ । नेपाल राष्ट्रिय मुवाथाई संघले उनलाई सन् २०१६, २०१८ र २०२२ मा तीनपटक मुवाथाईको उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मान गरिसकेको छ । के हो मुवा थाई ?  मार्सल आर्टअन्तर्गतकै एक खेल विधा हो मुवा थाई । ‘द आर्ट अफ एट लिम्बस्’ अर्थात दुवै कुहिना र दुवै घुँडा, दुवै बक्सिङ र दुवै किक गरेर आठ वटा भागले आफ्नो प्रतिस्पर्धीमाथी नियममा रहेर आक्रमण गर्न पाइन्छ । यो थाइल्यान्डको राष्ट्रिय खेल पनि हो । त्यसो त यसको इतिहास जान्नलाई १३ औँ शताब्दीतिर थाइल्यान्ड सुखोथाई राज्यको बेलासम्म पुग्नुपर्ने हुन्छ । पहिलो थाई सेना जसले राज्यको सुरक्षा गर्न यो युद्धकलाको विकास गरे र उनले आफ्नो सेना तथा गैरसेनालाई यो कला सिकाए । मार्सल आर्ट अन्तर्गतकै यो कलालाई पछि मुवा बोरन र मुवा थाई नामाकरण गरियो । मुवाको खास अर्थ बक्सिङ हो । मुवा थाई भन्नाले थाई बक्सिङ भन्ने बुझिन्छ । सुरुमा मुवा थाई खेलाडीले हातमा डोरीले बाँधेर बक्सिङ खेल्ने गर्थे । २० औँ शताब्दीको सुरुआतपछि यो खेल ब्रिटिस बक्सिङबाट प्रभावित भएर आधुनिकीकरणतर्फ लाग्यो र पछि हातमा पञ्जा लगाएर खेल्न थालियो । नेपालमा मुवाथाई खेलले सन् २०१० मा मान्यता पाएको हो । नेपाल राष्ट्रिय मुवाथाई सङ्घ सन् २०१२ मा दर्ता भयो । गुणराजका प्रशिक्षक तथा नेपाल राष्ट्रिय मुवा थाई संघका केन्द्रीय अध्यक्षसमेत रहेका गणेशलाल कक्षपति गुणराज पछिल्लो समय व्यावसायिक खेलाडीको रुपमा परिचित भइसकेको बताउँछन् । ‘उसले खेलेको धेरै लामो समय पनि भयो । अब एउटा ठूलै प्रतिस्पर्धामा उसलाई सहभागी गराउनुपर्छ भन्ने तयारी छ हाम्रो’, उनले भने, ‘उसले लामै समय थाइल्यान्डमा तालिम पनि गरिसक्यो । १० पटक त थाइल्याण्डमै खेल्न गइसक्यो । अरु पनि राम्रा खेलाडी थिए तर उनीहरुले निरन्तरता दिन सकेनन् । गुणराजले निरन्तर मेहनत गरेकोले राम्रो छ । अहिले टपमै छ ।’ मुवाथाई अहिले मार्शल आर्ट खेलअन्तर्गत उत्कृष्ट विधाको रुपमा स्थापित भएको कक्षपतिको भनाइ छ । ‘नेपाली सेनाको विशेष फोर्स, रेन्जर र सशस्त्र प्रहरीमा पनि यो खेल समावेश गरेको छ । यो व्यावसायिक रुपमा उदाएको खेल हो । नेपालमै चार हजारसम्मको टिकट काटेर यो खेल हेर्ने दर्शक छन्’, उनले भने । चितवनको राइनोलगायतका दर्जनौँ क्लब व्यावसायिक क्लबहरुले यो खेल खेलाउने गरेका छन् । गुणराजको अन्तिम लक्ष्य भनेको ‘वान च्याम्पियनसिप’ सम्म पुग्नेछ । ‘वान च्याम्पियनसिप’ मार्शल आर्टसँग सम्बन्धित प्रतिस्पर्धा हुने संसारकै एक ठूलो ‘प्लेटफर्म’ हो । यो प्रतियोगिता संसारको एक सय ९० भन्दा बढी देशको टेलिभिजन च्यानलहरुमा प्रत्यक्ष हेर्न पाइन्छ । सिंगापुरमा मुख्यालय रहेको ‘वान च्याम्पियनसिप’मा गुणराजले आफ्नो प्रोफाइल पेस गरिसकेका छन् । मुवा थाई विधामा उक्त प्लेटफर्मका लागि छनोट हुनु नेपाली खेलाडीका लागि फलामको चिउरा चपाउनु सरह छ । यद्यपी कुनैदिन त्यहाँसम्म पुग्ने उनको सपनामा तगारो भने लागिसकेको छैन । उनको ‘आइडल’ खेलाडी बुवाक बान्चामेक हो । जो थाइ फाइटर हुन् । बान्चामेक ‘वान च्याम्पियनसिप’लगायतका विश्व चर्चित मार्शल आर्ट प्रतियोगिताका ‘नम्बर वान’ खेलाडी हुन् । गुणराजलाई उनका बुबाआमाले यो कुटपिट गर्ने खालको खेल छाड्न सुझाव दिएका छन् । ‘जति गरिस् त्यसले हाम्रो इज्जत राखिस् हामी खुसी छौँ, अब भने यो छाड भन्नुहुन्छ बुवाआमा’, गुणराजले भने, ‘तर मलाई अहिले नै यो खेल छोड्ने इच्छा छैन ।’ नेपालमा अझै मुवा थाई खेलेरै व्यावसायिक बन्ने अवस्था छैन । अन्तर्राष्ट्रिय चर्चित प्रतियोगितामा सहभागी हुनसके मात्र दाम कमाउन सकिने उनको भनाइ छ । संसारमा मार्सल आर्टका चर्चित खेलाडी हङकङ ब्रुस ली हुन् या अमेरिकाका बक्सर मुहम्मद अलि जसले ‘फाइट’ खेलेरै आफू मात्र प्रसिद्ध भएनन्, देशलाई समेत चिनाए । यसरी नै गुणराजले पनि देशको प्रतिनिधित्व गर्दै कुनै दिन नेपाललाई चिनाउने सपना बोकेका छन् । भन्छन्, ‘मेरो रगतमा मुवा थाई छ, मैले खेल्दा देशकै लागि खेल्नेछु ।’ रासस

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो । राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

५ अर्ब डलरको सेयर बेच्दै जेफ बेजोस, धमाधम किन बेच्दैछन् सेयर ?

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको २ करोड ५० लाख कित्ता सेयर बेच्ने योजना बनाएका छन् । साे सेयरको मूल्य करिब ५ अर्ब डलर  छ । अमेजनको सेयर मूल्य बढेपछि उनले सेयर बिक्री गर्ने याेजना बनाएका हुन् । सेयर बिक्रीपछि कम्पनीमा बेजोसको सेयर ९१२ मिलियन वा ८.८ प्रतिशतमा घट्नेछ । अमेरिकी स्टक एक्सचेन्जलाई उनले सेयर बिक्री गर्ने जानकारी गरिसकेका छन् । मंगलबार सेयरमा उछाल विगत केही दिनदेखि अमेजनको सेयर निरन्तर वृद्धि भइरहेको छ । मंगलबार कम्पनीको सेयरले २०० डलर नाघेर २००.४३ डलरको स्तर छोएर नयाँ कीर्तिमान बनाएको हो । यद्यपि, बुधबार १.२१ प्रतिशतले घटेर १९७.५९ डलरमा बन्द भएको थियो । अब जब अमेजनको स्टक २००.४३ को स्तर पार गर्दछ, जेफ बेजोसले थप सेयर बेच्ने योजना बनाउनेछन् । यस वर्ष फेब्रुअरीमा जेफ बेजोसले लगभग ९.५ बिलियन डलरको अमेजन सेयरहरू बेचेका थिए । विश्वको दोस्रो धनी  जेफ बेजोस हाल विश्वका एलोन मस्कपछि दोस्रो धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार एलोन मस्क २ सय ५२ अर्ब डलरका कुल सम्पत्तिको साथ विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । योसँगै जेफ बेजोस २ सय १९ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन् । केही समयअघि पहिलो स्थानमा रहेका फ्रान्सका बर्नार्ड अर्नाल्ट अहिले २ सय १ अर्ब डलरको सम्पत्तिसहित तेस्रो धनी व्यक्ति हुन् । जेफ बेजोस अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनका संस्थापक पनि हुन् । यसैबीच, अमेजनले ले बुधवार साना र मध्यम आकारका व्यवसायका लागि आफ्नो सुरक्षा रोबोट एस्ट्रो फर बिजनेस बन्द गर्ने बताएको छ । किनकि कम्पनीले आफ्नो ध्यान घरेलु रोबोटमा दिइरहेको छ । रोयटर्सको रिपोर्टअनुसार एस्ट्रो फर बिजनेस रोबोटले सेप्टेम्बर २५ देखि काम नगर्ने भन्दै कम्पनीले ग्राहकहरूलाई इमेल पठाएको छ । ई-कमर्स एमेजनले पहिलो पटक २०२१ मा घरेलु प्रयोगको लागि कुकुर जस्तो रोबोट लन्च गरेको थियो । गत वर्ष नोभेम्बरमा अमेजनले रिटेल, उत्पादन र स्वास्थ्य जस्ता धेरै क्षेत्रहरूमा ग्राहकहरूका लागि व्यवसायका लागि एस्ट्रो सुरु गरेको थियो । एजेन्सी

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रेस विज्ञप्तिमार्फत नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, जिरो इन्टरेस्ट’ योजना ग्राहक माझ सार्वजनिक गरेको बताएको छ । दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता थप मजबूत गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । जसअनुसार ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीका दाबी छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिन्छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशत भन्दा बढी पाइएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानमा चार्जिङ प्वाइन्ट स्थापना गरी सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

बैंकले कुल कर्जाको ३ प्रतिशत विद्यार्थीलाई ऋण दिनुपर्ने, सरकार जमानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको ३ प्रतिशत रकम स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने युवाहरूलाई शैक्षिक कर्जाका रुपमा प्रदान गर्न छुट्याउने व्यवस्था गर्नु पर्ने राय दिएको छ । विदेशी सम्बन्धनका नेपाली कलेजको अध्ययन गर्न बनेको समितिले सरकारलाई यस्तो राय दिएको हो । इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोशिएसन नेपाल (आईप्यान) ले सो समितिलाई दिएको सुझावलाई प्रतिवेदनमा उल्लेख गर्दै समितिले हाललाई १.५ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्दै क्रमशः ३ प्रतिशत रकम बराबरको कर्जा प्रवाहलाई अनिवार्य गर्नु पर्ने व्यवस्था गर्न राय दिएको हो । सो प्रतिवेदनमा शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कका साथ-साथै खाना बस्नको लागि लाग्ने अनुमानित रकम समेतलाई पुग्ने गरी शैक्षिक कर्जा प्रदान गर्नुु पर्ने उल्लेख छ । यस्तै, स्वदेशी शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रदान गर्ने शैक्षिक कर्जाको व्याजमा सरकारले ५० प्रतिशत सहुलीयत प्रदान गर्नु पर्ने र अध्ययन अवधिभर कर्जाको ब्याजलाई पूँजीकरण गरी अध्ययन पुरा भईसके पछिको दोस्रो वर्षबाट मात्रै सावाँब्याज भुक्तानीका लागि किस्ता प्रारम्भहुने व्यवस्था गर्नु पर्ने प्रतिवेदनमार्फत् सुझाव दिइएको छ । यस्तै, दलित, अल्पसंख्यक, पिछडिएको क्षेत्र, शहिद परिवार र गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरू (विद्यार्थी) लाई प्रदान गरिने शैक्षिक कर्जाको जमानी सरकार बस्नु पर्ने राय पनि प्रतिवेदनमा छ । यस्तै, उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरूको हकमा स्वदेशीमा सञ्चालित शिक्षण संस्थामा उच्च शिक्षा हासिल गर्ने युवाहरूलाई प्रदान गरेको कुल कर्जा रकमको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गर्नु पर्ने राय राखिएको छ । कर्जाको धितो मुल्याङ्कन गरी कर्जा प्रवाह गर्दा एफएमभीको ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने, विदेश अध्ययनका लागि शैक्षिक कर्जा प्रदान गर्दा शिक्षण शुल्कको ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्ने र आयस्रोत पेश गर्दा कर चुक्ता गरेको प्रमाण–पत्र पेश गर्ने व्यवस्था अनिवार्य गर्नु पर्ने राय प्रतिवेदनमा छ । यस्तै, विदेशी मुद्रा सटही सुविधा दिँदा आयस्रोत खुल्ने कागजात र कर चुक्ता गरेको प्रमाण पत्र पेश गनु पर्ने व्यवस्थालाई अनिवार्य गर्नु पर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

देशका यी स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । विभागका अनुसार बिहीबार अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ । भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ । वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए । महासचिव राईले भने, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।’ जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक राहुल सिंघानियाले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केयर मेडिकल सेन्टर प्राइभेटले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए । साथै, उनले अस्तालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।