मनकामना स्मार्ट लघुवित्तको १० लाख १५ हजार कित्ता सेयरको लकइन अवधि समाप्त
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लकइन अवधि बिहीबार (असार २७ गते) सकिएको भएको छ। संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारीको लकइनमा राखिएको सेयरको लकइन अवधि सकिएको हो । संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ८ हजार ३५।४३ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ७ हजार ४२८ कित्ता गरी कुल १० लाख १५ हजार ४५९.९६ कित्ता सेयरको लकइन अवधि सकिएको छ । कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ असार २८ गते बाँडफाँड गरिएको थियो ।
गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् ।
पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शुक्रबार पाँचौं पटक संसदबाट विश्वासको मत लिँदै छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो । प्रचण्डले पछिल्लोपटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न बिहीबारसम्ममा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । अहिलेसम्म प्रचण्डसँग माओवादी ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरी कुल ६३ मत मात्र छ । यो आंकडाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने देखिन्छ ।
नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा पहिरोले २ बस बगायो, खोजी गर्दै प्रहरी
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौं जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भीक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ, पानी परिरहेकाले छ, उद्धारको काम थालिएको छ, पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले यकिन विवरण भने आई नसकेको बताए ।
आर्थिक र वित्तीय स्थायित्व दिने गरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिनेगरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् । बिहीबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए । उनले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्नसक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताए । बैकिङ क्षेत्रमा सबैको सधैं आकर्षण रहने बनाउन सक्नुपर्ने उनकाे भनाइ छ । उनले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताए । उनले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लैजाने र थोरै भए पनि रोजगारी सिर्जना गर्नेगरी बैंकहरू लाग्न आवश्यक रहेको बताए । उनले निर्यातमूलक उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए । मौद्रिक नीति बनाउने राष्ट्र बैंक अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरूमा सीमाभित्र रहेर काम गर्ने बताए । उनले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरू हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताए । होटल,ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने उनले तर्क गरे । उनले मौद्रिक नीतिले उद्योग व्यवसाय सहज वातावरण बनाउने बताए ।
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने
काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तत्काललाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको हो । वर्षा, बाढी र पहिरोका कारण परिचयपत्र बनाउन कठिन भएकाले अहिलेलाई राष्ट्रिय परिचयपत्र विनै भत्ता वितरणको व्यवस्था मिलाउन गृह मन्त्रायललाई पत्राचार गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसअघि सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमाका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । यस्तै, सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ। दुवै आयोगको म्याद २०८२ असार मसान्तसम्म थप गर्न बाधा अडकाउ फुकाउको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
बैंक अफ कोरियाको १२औं पटक ब्याजदर फ्रीज
सियोल । दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार १२औं सत्रका लागि ३.५ प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर वृद्धि गरेपछि गत वर्षको फेब्रअरीदेखि बैंक अफ कोरिया (बिओके) ले दर स्थिर राखेको छ । एसियाको चौथो ठूलो अर्थतन्त्रमा विस्तारित प्रतिबन्धात्मक मोड र मुद्रास्फीति दबाबको बावजुद घरेलु ऋण उच्च चलिरहेको कारण दर फ्रिज गरिएकाे समाचार एजेन्सीले जनाएको छ । देशको अर्थव्यवस्था यस वर्ष बलियो निर्यातको पछाडि अपेक्षाभन्दा छिटो बढ्ने अपेक्षा गरिएकोसमेत दक्षिण कोरियाको (योनहाप) समाचार एजेन्सीले उल्लेख गरेको छ । दक्षिण कोरियामा बैंकहरूले विस्तार गरेको घरेलु ऋण जुनमा लगातार तेस्रो महिनामा बढेको छ, धितो ऋिणमा वृद्धिको कारण, केन्द्रीय बैंकलाई दर घटाउनमा सतर्क रहन्छ । उपभोक्ता मूल्यहरू वर्षमा २.४ प्रतिशतले बढेको छ, जुन जुलाई २०२३ पछि सबैभन्दा कम स्तर हो । केन्द्रीय बैंकले मुद्रास्फीति अझै तल झर्ने अपेक्षा गरेको छ, भने यस वर्षको अन्त्यसम्ममा यसको मध्यदेखि लामो दूरीको लक्ष्य दर २ प्रतिशतमा पुग्नेछ । केन्द्रीय बैंकले यस वर्षका लागि आफ्नो वृद्धिको अनुमान बढाएपछि पनि दर स्थिर राखेको हो ।
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति ग्राहकको विश्वासलाई उजागर गरेको छ । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको बैंकले बताएको छ । ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत हाराहारी रहेको बैंकले बताएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्लोबल आइएमई बैंकको ५०० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए । ‘निक्षेप रकम ५०० अर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरू भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवाहरू प्रदान गर्न थप प्रेरणा दिनेछ,’ उनले भने, ‘हामीले यो उपलब्धीलाई हाम्रो बैंकको मात्र नभई समग्र नेपाली बैंकिङ क्षेत्रको उपलब्धीको रुपमा लिएका छौँ ।’