देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्यो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको बताए । उनले अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोले समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए । गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यस वर्ष करिव दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए । ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको जानकारी दिए । ‘तथ्यांक नै हेर्दा गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यो वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य छ’, उनले भने, ‘यो लक्ष्य केवल प्रचार र ढाडसको होइन, अन्तर्राष्ट्रिय निकाय तथा नेपालकै विज्ञ एवं अर्थशास्त्रीहरूकले पनि वास्तविक मानेको प्रक्षेपण हो, ६ अर्ब लगानीको प्रतिवद्धतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ ।’ प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।
काँग्रेस र एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गरे । आफूले विधिको शासन शुरु गरेको जिकिर गरे । काँग्रेस—एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए । उनले भने, ‘काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।’ उनले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे ।
काँग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने जानकारी दिए । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताए । नयत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने जानकारी दिए । ‘जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन्, उनले भने । उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।
संविधानमा माओवादीको सबैभन्दा धेरै ठूलो लगानी छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए । अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् । त्यस्तै, उनले एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए । नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे । ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो, ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ’, उनले भने । प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर काँग्रेस र एमाले मिलेको दाबी गरे ।
रात्रि बस सञ्चालनमा रोक लगाउने सरकारको तयारी
काठमाडौं । सरकारले रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । गृह मन्त्रालयले बाढी, पहिरो लगायतको जोखिम बढेकाले जोखिमयुक्त क्षेत्रमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो । शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसेको थियो । त्यसपछि मन्त्रालयले बर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको हो । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन गर्दा थप जोखिम हुने भएकोले गृहमन्त्रलायले यो समय रोक लगाउने तयारीका साथ छलफल गर्न लागेको हो ।
सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस डेन्टल क्लिनिकबीच समझदारी भएको छ । बैंक र ग्वार्को, काठमाडौंस्थित ब्लु क्रस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि बताए । उनले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुँदैछ । हामीले आज विश्वासको मत प्रश्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्युको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्वीप पनि जारी गरेका छौँ ।’ बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताए ।
बाढीको बितण्डा : कहाँ कति क्षति ?
काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षाको कारण देशका विभिन्न स्थानमा ठूलो क्षति भइरहेका छ । कतिपय ठाउँका बस्ती नै जोखिममा परेका छन् भने कतिपय ठाउँमा सडक नै अवरुद्द भएर आवतजावतमा पनि समस्या भइरहेको छ । कतिपय ठाउँका नदिको बहाब बढेर बाढी नै आइरहेको छ भने कतिपय ठाउँमा पहिरोबाट मानवीय क्षति भइरहेको छ । यो समयमा उच्च सर्तकता अपनाउन सरकारले आग्रह गरिरहेको छ । पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो । ‘साना–साना पहिरोसमेत ठाउँ–ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ’, उनले भने, ‘नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ ।’ आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए । सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन् । गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ । शुक्लाफाँटाको नवनिर्मित कबर्ड हल बाढीको उच्च जोखिममा शुक्लाफाँटा नगरपालिका–१० झलारीमा निर्माण गरिएको कबर्ड हल सनबोरा नदीको उच्च जोखिममा परेको छ । नदीको बाढीले कबर्ड हल भएको क्षेत्रमा जग्गा कटानी गर्न थालेपछि जोखिमा परेको हो । कबर्ड हल जोगाउनका लागि नगरपालिकाले जैविक तटबन्ध निर्माण गर्ने तयारी गरेको छ । कबर्ड हल निर्माणका लागि जैविक तटबन्ध निर्माण गरिने नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीले बताए । ‘तत्काल तटबन्धको ठूलो योजना कार्यान्वयन गर्न नगरपालिकासँग बजेट छैन’, उनले भने, ‘नदीले गर्दै आएको भूक्षय रोक्नका लागि कम लागतमा निर्माण हुने जैविक तटबन्ध बनाउने योजना बनाउन लागेका छौँ ।’ नगर प्रमुख रणबहादुर महराले कबर्ड हलसँगै खल्ला बस्तीलाई नदीको कटानबाट जोगाउनका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल गर्ने कार्य भइरहेको बताए । कबर्ड हल दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ रुपैयाँमा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको छ । कबर्ड हलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्यारापिट, १२ वटा शौचालय, बाथरुम, महिला पुरुष कपडा चेन्जिङ रुमलगायत निर्माण गरिएका छन् । गत वर्षका असारमा सम्झौता भई चालु आवको असार १५ गतेभित्र निर्माण कार्य सक्ने गरी ठेक्का दिइएको थियो । ढुंगा लागेर चालकको मृत्यु भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुंगाले लागेको थियो । शुक्रबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन् । चितवन पहिरो : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार विहान दुईवटा बस नदीमा खसेका थिए । बसमा ६५ जना सवार रहेको बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए । शुक्रबार बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौं र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए । कास्की पहिरोमा परी मृतकको सङ्ख्या ११ पुग्यो कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो । पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए । म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको आज विहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुन राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् । बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिए। रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उनको भनाइ छ । उनले भने, ‘खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।’ कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उनले बताए । स्थानीय सोमबहादुर आलेले बाढीका कारण घरको तल्लो तल्लामा क्षति पुगेको जानकारी दिए । उनले भने, ‘बिहान अचानक बाढी आउँदा सबै भागाभाग भयो, अधिकांश घरमा बाढी पसेर क्षति पुगेको छ ।’ जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए । सिमलताल पहिरो : ६० बढी बेपत्ता, बेपत्ताको खोजि जारी नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग ईन्चार्ज प्रेम साह कानूले बताए । वीरगञ्जबाट काठमाडौ जाने क्रममा बस पहिरोमा परेर बगेको हो । पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरु पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए । बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको बताए । चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताए । यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ ।