विकासन्युज

टाटा मोटर्सको धनतेरस अफर : विद्युतीय र आईसीई मोडलमा छुट र उपहार

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शुभदिपावली र धनतेरस पर्वको अवसरमा देशव्यापी रूपमा 'धनतेरस टाटा उत्सव' कार्यक्रम सुरु गरेको छ । हर्ष र उल्लासले भरिएको यो पर्वलाई लक्षित गर्दै सुरु गरिएको कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरसँगै 'सुनको असर्फी' बम्पर उपहार जित्ने सुनौलो मौका पाउने भएका छन् । सिप्रदीका अनुसार, नेपालभर रहेका टाटा शोरुमहरूमा आज (असोज २६ गते) देखि सुरु भएको यो विशेष कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंच ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा विविध छुट र उपहारका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधाहरू समावेश छन् । सिप्रदी ट्रेडिङले यस पर्वलाई 'सुनौलो र अविस्मरणीय बनाउने' उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएको छ। कम्पनीका अनुसार, भाग्यशाली ग्राहकले बम्पर उपहारका रूपमा सुनको असर्फी प्राप्त गर्ने अवसर पनि पाउनेछन् ।

जलविद्युत् र सडकले ल्यायो मकरीगाडमा आर्थिक क्रान्ति

दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौं पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।  विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रूपान्तरणलाई गति दिएको छ । विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् ।  ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो,’ लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’ सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।  अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उहाँका अनुसार यहाँ व्यापारिक चाप बढेको छ। धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् । मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।  ‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो,’ धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेको भन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।  व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए ।  तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ । तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ । यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो ।  अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । 

खाता अन्य बैंकमा, भुक्तानी सिटिजन्स बैंकमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक ‘क्रस बैंक टेलर क्युआर’ प्रणालीको सुरुवात गरेको छ । यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले पनि नजिकैको सिटिजन्स बैंक शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङ प्रयोग गरेर क्रस बैंक टेलर क्युआर स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार यो प्रविधिले भुक्तानी प्रक्रिया अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने लक्ष्य लिएको छ । नयाँ प्रणालीले डिजिटल भुक्तानीको दायरा विस्तार गर्दै ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच र समयको बचत गराउने विश्वास सिटिजन्स बैंकले व्यक्त गरेको छ ।  

टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै

काठमाडौं । चीनले दुर्लभ खनिज (रेयर अर्थ) निर्यात नियन्त्रणलाई ‘वैध’ भन्दै अमेरिकाको नयाँ शुल्क कदमको कडा आलोचना गरेको छ, जसले ट्रम्प–सी भेट हुने वा नहुने अवस्थालाई अनिश्चित बनाएको छ । आइतबार चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रणलाई अन्तर्राष्ट्रिय कानुनअनुसारको ‘वैध कदम’ भन्दै अमेरिकाले लगाएको ‘आर्थिक दबाब’ का आरोपहरू अस्वीकार गरेको हो । वाशिङ्टनले चीनमाथि व्यापक प्रतिशोधात्मक शुल्क र निर्यात प्रतिबन्ध घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । चीनको वाणिज्य मन्त्रालयले अक्टोबर ९ मा जारी ती नियन्त्रणहरूलाई आफ्नो निर्यात नियन्त्रण प्रणाली सुदृढ गर्ने र ‘विश्व शान्ति तथा क्षेत्रीय स्थायित्वलाई संरक्षण गर्न’ उठाइएको कदम बताएको छ । मन्त्रालयका अनुसार यो निर्णय विश्व सुरक्षा अवस्थाको अस्थिर पृष्ठभूमिमा गरिएको हो । यी नयाँ कदमहरूले दुर्लभ खनिज मात्र होइन, त्यससँग सम्बन्धित बौद्धिक सम्पत्ति र प्रविधिलाई पनि समेटेका छन् । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सम्भावित भेट हुनुअघि केही साताअघि गरिएको हो । ‘यी नियन्त्रणहरू निर्यात प्रतिबन्ध होइनन्। निर्धारित मापदण्ड पूरा गर्ने आवेदनहरू स्वीकृत गरिनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘चीनले यी कदमहरूको आपूर्ति शृंखलामा पर्ने प्रभावको पूर्ण मूल्यांकन गरिसकेको छ र प्रभाव अत्यन्तै सीमित हुनेमा विश्वस्त छ ।’ नयाँ नियमअनुसार अब विदेशी कम्पनीहरूले ०.१ प्रतिशतभन्दा बढी चिनियाँ स्रोतबाट प्राप्त दुर्लभ खनिज भएका वा चीनको खनन, प्रशोधन, चुम्बक निर्माण वा पुनःप्रयोग प्रविधि प्रयोग गरी बनेका उत्पादनहरू निर्यात गर्न विशेष अनुमति लिनुपर्नेछ । हतियार वा सैन्य प्रयोजनका लागि प्रयोग हुन सक्ने वस्तुहरूका लागि आवेदन अस्वीकृत गरिनेछ । बेइजिङले यी नियन्त्रण कडा बनाएको केही समयमै चीनस्थित युरोपेली वाणिज्य मण्डलले निर्यात अनुमति पत्रका आवेदनहरू रोकिने अवस्थाको जानकारी दिँदै नयाँ नियमहरूले ‘दुर्लभ खनिज आपूर्ति शृंखलामा थप जटिलता’ थपेको बताएको छ । यसको जवाफमा ट्रम्पले अक्टोबर १० मा चीनबाट आयात हुने वस्तुहरूमा हालको भन्दा ‘अतिरिक्त १०० प्रतिशत शुल्क’ नोभेम्बर १ देखि लागू हुने घोषणा गरे । उनले सोही मितिदेखि ‘महत्त्वपूर्ण सफ्टवेयरहरू’ मा पनि अमेरिकी निर्यात नियन्त्रण लागू हुने बताएका थिए । ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेखेको सन्देशपछि विश्व बजारमा ठूलो गिरावट आयो — जसले करिब २ ट्रिलियन डलर बराबरको बजार मूल्य नष्ट गर्‍यो । उनले भनेका थिए, ‘चीनलाई दुर्लभ खनिज नीतिमार्फत विश्वलाई ‘बन्धक’ बनाउन दिइनु हुँदैन ।’ चीनको वाणिज्य मन्त्रालयले अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै भन्यो — ‘अमेरिकाको नियन्त्रण सूचीमा ३ हजारभन्दा बढी वस्तु छन्, जबकि चीनको सूचीमा १ हजारभन्दा कम छन् ।’ विश्वको करिब ७० प्रतिशत दुर्लभ खनिज आपूर्ति चीनले गर्छ र उसले यी आवश्यक खनिजहरूलाई बारम्बार व्यापारिक वार्तामा दबाबका रूपमा प्रयोग गर्दै आएको छ । तनाव थप चुलियो दुर्लभ खनिज निर्यात नियन्त्रण कडा बनाएलगत्तै चीनले अक्टोबर १४ देखि अमेरिकी जहाजहरूले चिनियाँ बन्दरगाह प्रयोग गर्दा शुल्क तिर्नुपर्ने घोषणा गर्‍यो । यो कदम अमेरिकाले पनि सोही मितिदेखि चिनियाँ जहाजहरूलाई लाग्ने नयाँ शुल्क घोषणा गरेसँगै आएको हो । रणनीतिक र अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका अनुसार विश्व जहाज निर्माण बजारमा अमेरिकाको हिस्सा ०.१ प्रतिशत मात्र छ भने चीनको ५३.३ प्रतिशत छ । चीनले आफ्नो निर्णयलाई ‘आवश्यक र रक्षात्मक प्रतिक्रिया’ बताउँदै अमेरिकाको कदमले ‘दुवै देशबीचको आर्थिक र व्यापारिक वार्ताको वातावरणलाई गम्भीर रूपमा नोक्सान पुर्‍याएको’ जनाएको छ । ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्धपछि पहिलो पटक अमेरिकी र चिनियाँ वरिष्ठ अधिकारीहरू मे महिनामा जिनेभामा व्यापार वार्तामा बसेका थिए । जुन महिनामा लण्डनमा भएको दोस्रो वार्तामा व्यापार ‘ढाँचा’मा सहमति भएको थियो । तेस्रो चरणको उच्चस्तरीय वार्ता जुलाईमा भयो, जहाँ दुवै पक्षले प्रगति भएको संकेत दिएका थिए । सेप्टेम्बरमा म्याड्रिडमा सम्पन्न पछिल्लो वार्तामा टिकटकको अमेरिकी स्वामित्व फिर्ता सम्बन्धी ‘आधारभूत सहमति’ भएको थियो । सेप्टेम्बर १९ मा ट्रम्प र सीबीच टेलिफोन वार्ता भए पनि टिकटकबारे अन्तिम निर्णय भएन । त्यसपछि ट्रम्पले घोषणा गरे कि उनी र सी अक्टोबरको अन्तिम साता दक्षिण कोरियाको ग्येओन्जुमा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको क्रममा भेट्नेछन् । चीनले आगामी भेटबारे मौनता साधेको भए पनि ट्रम्पले आगामी वर्ष चीन भ्रमण गर्ने र त्यसपछि सी अमेरिका आउने बताएका थिए । तर, चीनले दुर्लभ खनिजमा नयाँ निर्यात नियन्त्रण कडा बनाएपछि ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो सीसँगको आगामी भेट रद्द गर्ने चेतावनी दिएका छन्।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं ।  गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज तीन हजार रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । सोही दिन एक तोला चाँदी तीन हजार ८५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार १२५ रुपैयाँमा किनबेच  भइरहेको छ ।      अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व सकंलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ ।   कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।   वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए । यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने छ अर्ब १४ करोड रुपैयाँ अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ ।  त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने दुई अर्ब ५४ करोड रुपैयाँ अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट एक अर्ब ९८ करोड रुपैयाँ अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश घोषणा गरेको छ । बैंककाे सञ्चालक समिति असोज २५ गते बसेकाे बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।    बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत र आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको उनले बताए । किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताए । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले मालाको मूल्य निधारण गर्न सरकारसँग माग पनि गरे । सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने बताए । उनले यहाँका किसानले मागअनुसार फूलको उत्पादन गरेको पनि दाबी गरे । उनले मखमली फूलको बीउमा समेत समस्या रहेको बताए । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतको समस्या हुने उनको भनाई छ । किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताए । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उनको भनाई छ । उनले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिए । उनले गतसाल दुई हजार माला बेचेका थिए । राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिए । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको उनहरुको गुनासो छ । फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । उनहरुले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या खडा भएको बताए ।