तिहार नजिकिएसँगै चहलपहल बढ्यो, सानादेखि सपिङ सेन्टरसम्मले ल्याए अफर र छुट
काठमाडौं । तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौंका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमीलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ । उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइ मसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी भाइकाजी मर्हजनले बताए । उनले भने, ‘अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ । तिहारका लागि सामग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो ।’ यसैगरी तिहारलाई लक्षित गर्दै साना ठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडक छेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ । विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको सुन्धारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आएकी शान्ति भुजेलले बताइन् । ‘नयाँ लुगा किन्ने तथा झिलिमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । किनमेल गर्नेका कारण अहिले व्यापार पनि राम्रो चल्दै छ,’ उनले भनिन् । भाइटीकाका दिनमा प्रयोग हुने भाइ मसला प्याक, ढाका टोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको इन्द्रचोकका कपडा व्यापारी अमिर मान श्रेष्ठले बताए । उनले भने, ‘अहिले विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा शृङ्गार सामग्री र तिहारमा चाहिने ढाका टोपी, टीका सेटलगायत मिठाई पनि बढी बिक्री हुने गरेको छ ।’ चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको व्यापारीहरू बताउँछन् । अहिले यहाँका व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन् ।
अझै खुलेन मेची राजमार्ग, पहिरो पन्छाउन दिनरात काम हुँदै
काठमाडौं । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । ‘सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ । तर सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो । पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा एस्काभेटरको प्रयोग गरेको छ,’ उनले भने । सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताए । सडक खण्ड मर्मतकै क्रममा छ । सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएको उनको भनाइ छ । राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लेजुङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको छ । झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोला र तिल्केनी-सिमलगोलाई सडक अन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन । बाढीपहिरोका कारण जिल्लाका अधिकांश स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ५ स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । राजदुवाली सडक खण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडक खण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् । इलाममा हालैको साना ठूला गरी १९ पक्की पुल, २ बेलीब्रिज, ११ कल्भर्ट र ३ झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र १ जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएको बताए ।
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, कोशी र गण्डकीमा आंशिक बदली
काठमाडौं । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । प्रदेशको पहाडी भूभागका एक/दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
केराबारीबाट ५५ राउण्ड गोली बरामद
भद्रपुर । यहाँको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ । स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पाण्डेको सूचनाअनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए ।
दर्ता नभएका पशु औषधि आयात गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ
काठमाडौं । दर्ता नै नभएका पशु औषधि अवैध रूपमा आयात गरेको आरोपमा कान्तिपुर भेट डिष्ट्रीब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् । नेपाल प्रहरीले जनाएको अनुसार, सुवेदीले भन्सार शुल्क लाग्ने गरी औषधि आयात गर्न सिफारिस पत्र कीर्ते बनाएर अवैध रूपमा पशु औषधि भित्र्याएको आरोपमा पक्राउ गरिएको हो । कानुनी प्रक्रिया अन्तर्गत लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो (शुक्रबार) काठमाडौंको शंखमुलबाट उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो : एनआरएनए
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्रयाएको छ । एनआरएनएले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो तथ्यांक सार्वजनिक गरेको हो । आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनका लागि आफूहरुले जोड दिएको बताए । उनले गैरआवासीय नेपालीहरुले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको बताए । नेपालमा आफूहरु लगानी बढाउन प्रतिवद्ध रहेको पनि अध्यक्ष केसीको भनाई थियो । उनले भने, ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौ भने नेपालको अर्थतन्त्रमा धेरै ठूलो सुधार हुन्छ र गर्न सकिन्छ भन्ने हाम्रो पहिलो एजेण्डा हो । अहिलेको अवस्थामा नेपालमा १ खर्ब भन्दा बढि गैरआवासीय नेपालीहरुको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ ।’ एनआरएनले आफूहरुले विश्वभर नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले राजदुतावास नभएको ठाउँमा पनि नेपालीहरुले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकीर गरे ।
जेनजी प्रतिनिधिको आह्वान : चुनावमा भाग लिऔँ
काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए । जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए । ‘निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबैजना आउनुहोस’, उनले भने । ढुंगानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।
हुम्लामा ३ हजार पुस्तकसहितको पहिलो सामुदायिक पुस्तकालय सञ्चालनमा
काठमाडौं । हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। एजुकेटिङ रिमोट एरियाज नेपालको पहलमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन समारोहमा बोल्दै संस्थाका संयोजक टेकेन्द्र उपाध्यायले विद्यार्थीलाई नियमित रूपमा पढाइमा रुचि राख्न आग्रह गरे। उनले भने, 'विद्यार्थीहरूले पढेनन् भने समाज बिग्रिन्छ, समाज बिग्रिए देश बिग्रिन्छ। त्यसैले सबै विद्यार्थी भाइबहिनीहरूलाई पुस्तक पढ्न आग्रह गर्दछु।' कार्यक्रमका प्रमुख अतिथि पूर्वशिक्षक तथा शिक्षाविद् कुलप्रसाद चौलागाईंले पुस्तकालय स्थापना हुम्लाका विद्यार्थीका लागि ठूलो अवसर भएको बताए। उनले भने, 'हामीले कथा–उपन्यास त टाढाको कुरा, पाठ्यपुस्तक पनि सजिलै पढ्न पाएका थिएनौं। अहिले सामुदायिक पुस्तकालय स्थापना भएको छ, त्यसैले सबै विद्यार्थीले मन लगाएर पढ्नुपर्छ।' उनका अनुसार पुस्तकालयमा करिब तीन हजार पुस्तकहरू रहेका छन्, जसमा साहित्यिक र राजनीतिक विषयका पुस्तकहरू समावेश छन्। कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढाले विद्यालय व्यवस्थापनमा केही कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा नयाँ तरिकाले सुधार गर्दै अघि बढ्ने बताए। उनले पुस्तकालय सञ्चालनपछि विद्यार्थीको अध्ययनप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरे। त्यस्तै, एजुकेटिङ रिमोट एरियाज नेपालका सह–संयोजक गोविन्द गोडासैनीले कर्णालीका विद्यार्थीमा पुस्तकालय जाने र किताब पढ्ने बानी कम रहेको उल्लेख गर्दै भने, 'यो विद्यालयका विद्यार्थीहरूले भने राम्रो उदाहरण पेश गर्ने विश्वास लिएका छौं।' कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बिर्खबहादुर सिंह, वडा नम्बर ३ का सदस्य कुलप्रसाद चौलागाईं, विद्यालयका अध्यक्ष जनक बुढा, सदस्यहरू विशु बोहोरा, नर्जन बुढा, धर्मकला बुढा, सिंह नेपाली, बिर्सबहादुर सिंह, सह–प्राध्यापक खगेन्द्र बम, शिक्षक विरबहादुर रोकायासहित अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति थियो। सामुदायिक पुस्तकालय सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई अध्ययनको वातावरण सुधार गर्न र पुस्तक पढ्ने संस्कृतिको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।