विकासन्युज

आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ। कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्ने कम्पनीकाे भनाइ छ ।  कम्पनीले अघिल्लो वर्ष  पनि ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ पाएकाे  थियो । रेटिङ एजेन्सीले आर्थिक वर्ष २०८०/८१ मा हकप्रद तथा सार्वजनिक सेयर जारी गरे पश्चातको कम्पनीको नेट वर्थ वृद्धिलाई पनि मूल्यांकन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको कम्पनीले जनाएकाे छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याएको छ ।

डेंगीको आशंका लागेमा ११८० मा फोन गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेंगी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शंका लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगी सम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । ‘डेंगी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो’, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । डेंगीको मुख्य लक्षण डेंगी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगीसम्बन्धी फोकलपर्सन भुसालले बताए । ‘टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ’, उनले भने, ‘एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।’ यसबाट बच्ने तरिका   डेंगीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ ।

गत वर्ष ५ खर्ब ३१ अर्ब राजस्व उठाएको विभागलाई यस वर्ष ७ खर्ब १ अर्बको लक्ष्य

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा १ खर्ब ४६ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले ६ खर्ब ७७ अर्ब आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य भए पनि आर्थिक वर्ष २०८०/८१ मा ५ खर्ब ३१ अर्ब मात्रै आन्तरिक राजस्व संकलन भएको बताए । चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७ खर्ब १ अर्बको राजस्व लक्ष्य तोकिएर आएको उनले जानकारी दिए । ‘गत वर्ष ६७७ अर्ब आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य थियो, आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व ५३१ अर्ब संकलन भएको छ,’ गुप्ताले भने, ‘चालु आर्थिक वर्षको लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७०१ अर्बको राजस्व लक्ष्य तोकिएर आएको छ ।’ ७ खर्ब १ अर्बको राजस्व लक्ष्य मुलुकभरिका ८४ वटा आन्तरिक राजस्व कार्यालयहरूलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर अर्थ मन्त्रालले पठाएको गुप्ताको भनाइ छ । आन्तरिक राजस्व विभागले वार्षिक कार्ययोजना समेत बनाएर अर्थ मन्त्रालयमा पठाएको उनले बताए । करको दायरा बढाउने, कर परिपालना गराउने कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकेको राजश्व लक्ष्य पूरा गर्ने रणनीति विभागले लिएको गुप्ताको भनाइ छ । ‘७०१ अर्बको राजश्व लक्ष्य ८४ वटा आन्तरिक राजस्व कार्यालयहरूलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर पठाएको अवस्था छ, विभागले वार्षिक कार्ययोजना समेत बनाएर मन्त्रालयमा पठाएका छौँ,’ गुप्ताले भने, ‘कार्ययोजनामा करको दायरा बढाउने, कर परिपालना गराउने काम गर्छौं, कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकिएको राजस्व लक्ष्य पूरा गर्ने रणनीति छ ।’ चालु आर्थिक वर्षको सुरुवातसँगै सरकारले भ्याटमा दर्ता हुने कम्पनीको थ्रेसहोल्डमा परिमार्जन गरी २० लाखको सिमा बढाएर अहिले ३० लाख पुगेको उनले बताए । कारोबार २० लाख कटेका कम्पनीहरू भ्याटमा दर्ता गर्न आवश्यक भएको उनको भनाइ छ । ‘भ्याटमा दर्ता हुने थ्रेसहोल्डमा यो वर्ष परिमार्जन भएको छ, जसमा अघिल्लो आर्थिक वर्षमा २० लाख थियो, २० लाखको सीमा बढेर अहिले ३० लाख पुगेको छ,’ उनले भने । गत आर्थिक वर्ष मूल्य अभिवृद्धि करमा भएको व्यवस्थाअनुसार कर विजकको ढाँचा पनि यो वर्ष संशोधन भएको उनले बताए । कर विजकको ढाँचामा कोलम राखेर परिमार्जन भएको भन्दै नयाँ ढाँचाअनुसार भ्याटमा दर्ता भएका करदाताहरूले एचएस कोर्ड राखेर बिल जारी गर्नुपर्ने व्यवस्था लागु भएको उनको भनाइ छ । ‘गत आर्थिक वर्ष मूल्यअभिवृद्धि करमा भएको व्यवस्थाअनुसार कर विजकको ढाँचा पनि संशोधन भएको छ । कर विजकको ढाँचामा कोलम समेत राखेर परिमार्जन भएको छ, त्यही ढाँचाअनुसार भ्याटमा दर्ता भएका करदाताहरूले बिल जारी गर्नुपर्छ,’ गुप्ताले भने । उनले करदाताहरूले आयातित वस्तुहरूको हकमा बिलमा चार अंकको भए पनि एचएस कोर्ड उल्लेख गर्नुपर्ने बताए । विदेशबाट आयात भएर आउने सामानको बिल जारी गर्दा कर बिजकले एचएस कोर्ड राख्नुपर्ने उनको भनाइ छ ।

विपद्पूर्व तयारीका लागि आज एक रुपैयाँ खर्च गर्दा भविष्यमा ४ रुपैयाँ बचाउन सकिन्छ

काठमाडौं । नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरुलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु भइरहेको जिकिर गरे । वातवरण तथा प्रकोपविद् दीपकविक्रम थापा क्षेत्रीले नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको बताए । उनले जलवायुजन्य विपद्का घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाउन सरकासँग आग्रह गरे । हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन नसकेको बताए । विश्वलाई देखाउनका लागि नेपालसँग जलवायुजन्य विपद्बाट भएका घटनाहरु यकिन गरि नसकेको बताए । नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरु वैज्ञानिक रुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरु रहेको जानकारी दिए । ‘नेपालको हकमा हामीले जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु पनि देखिरहेका छन् । हामी संख्यात्मक हिसावमा देखायौँ तर त्यसले हामीले कति समस्यामा पारेको छ, यस्ता घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाएर बोल्न सकेका छैनौँ’, उनले भने । ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिब ८० प्रतिशत जलवायु परिवर्तनबाट विज्ञ क्षेत्रीले विगत ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिब ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट भएको बताए । उनकाअनुसार युएनले गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएका छन् । नेपाल जस्तो विकासोन्मुख देशहरु ८० प्रतिशत जलवायु परिवर्तनको जोखिममा परेको बताए । पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै नेपाल जस्ता विकासोन्मुख देशहरुले जलवायुजन्य परिवर्तनका कारण हुने घटनालाई कम गर्नसक्ने जिकिर गरे । पूर्वसूचना प्रणालीलाई विकास गर्न नसके झनै भयावह अवस्था आउने बताए । विकसित देशहरु भन्दा १० गुणा बढी क्षति नेपाल लगायतका देशलाई जलवायु परिवर्तनका कारण भएको बताए । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन जरुरी रहेको जानकारी दिए । ‘हामीले विगत ४० वर्षको आँकडालाई हेर्ने हो भने जलवायु परिवर्तनका हिसावले आएको कुराहरुमा लगभग ८० प्रतिशत जलवायु परिवर्तनकै कारणले हाम्रोमा विपद्हरु निम्तिएका छन्, त्यो सबै जलवायु परिवर्तनका कारणले भएको भन्ने देखाएको छ’, उनले भने । विपद्पूर्व तयारीका लागि आज एक रुपैयाँ खर्च गर्दा भविष्यमा ४ रुपैयाँ बचाउन सकिन्छ विपद्विज्ञ क्षेत्रीले नेपालले ०.०२ प्रतिशत मात्रै हरित गृह ग्यास उत्सर्जन गरेको भन्दै कम उत्सर्जन गर्ने देशले नै बढी क्षति व्यहोरिरहेको बताए । उनले नेपाल ज्लवायुजन्य विपद् बढी व्यहोर्ने देशमा चौथो नम्बरमा रहेको बताए । उनले यसबारेमा विश्वस्तरमा एक आवाजमा लैजानसके सो बराबरको क्षति विकसित देशहरुले व्यहोर्ने वातावरण बन्ने जानकारी दिए । यस्तै, उनले विकासका बजेटहरुमा नेपालले लगभग ०.४७ प्रतिशत मात्रै लगानी गरेको बताए । विपद्सम्बन्धी बजेटमा ४ प्रतिशत बजेट मात्रै विपद्पूर्व तयारीको लागि प्रयोग हुने गरेको बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा जलवायु परिवर्तनको बारेमा वकालत गरिएको भएपनि त्यसपछिका दिनमा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई कम प्राथमिकता दिइएको बताए । जलवायु परिवर्तनका कारण प्रकोपीय जोखिमका हिसावमा नेपाल खतरायुक्त रहेकोबारे विश्वलाई बुझाउन सक्नुपर्ने जानकारी दिए । ‘नेपाल जस्तो देश जसले ०.०२ प्रतिशत मात्रै हामीले हरित गृह ग्यास उत्सर्जन गर्दछौँ । तर हामी जस्तो देशहरुले धेरै नै क्षति व्यहोरिरहेको छ, त्यो माथि भइसकेपछि उनीहरुले त्यति नै बराबरको क्षति बराबरको पैसा दिइराख्ने भनेको पनि इजि टाक्स होइन’, उनले भने । उनले नेपालमा जलवायु परिवर्तनका कारण नेपालको संस्कृति र हिमाली क्षेत्रका नागरिकमा बढी असर परेको बताए । ग्रामिण भेगसम्म जलवायु परिवर्तनका असरबारे जानकारी गराउन नसके अनुकुलतातर्फ लैजान नसकिने बताए । अहिले १ डलर विपद्पूर्व तयारीका लागि गर्ने हो भने भविष्यमा ४ डलर रुपैयाँ जोगाउन सकिने जानकारी दिए ।

सन् २०२५ मा ७.५ प्रतिशत पर्यटन राजस्व वृद्धि गर्ने थाइल्याण्डको लक्ष्य

काठमाडौं । थाइल्याण्डले २०२५ मा ७.५ प्रतिशत पर्यटन राजस्व वृद्धि गर्ने लक्ष्य लिएको छ । थाइल्याण्डले ३.४ ट्रिलियन भाट (लगभग ९४.१६ बिलियन अमेरिकी डलर) को राजस्व उत्पन्न गर्ने लक्ष्य राखेको हो । उच्च मूल्यको पर्यटनमा रूपान्तरणसँगै राज्यले गुणस्तरीय पर्यटकलाई राम्रोसँग समायोजन गर्न आफ्नो पर्यटन आपूर्ति शृङ्खलालाई स्तरोन्नति गर्दै आयको निष्पक्ष र समन्यायिक वितरण सुनिश्चित गर्न दिगो मापदण्ड र आकर्षक गन्तव्यहरूको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने पर्यटन तथा खेलकुदमन्त्री सेर्मसाक पोङपानीतले पत्रकार सम्मेलनमा बताए । सोमबारदेखि लागु हुने गरी थाइल्याण्डले ९३ देश र क्षेत्रका नागरिकहरूलाई समावेश गर्न आफ्नो भिसा–मुक्त प्रवेश योजना बिस्तार गरेको छ ।

कुसोमको रोजगार मेला सुरु हुँदै, सहभागिताका लागि ३ गतेसम्म कम्पनी दर्ता गर्नुपर्ने

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) प्लेसमेन्ट सेलले यही साउन २४ र २५ गते रोजगार मेला गर्ने भएको छ । कुसोम जब तथा इन्टर्नसिप फेयर (केजेआईएफ) ललितपुरको बालकुमारीस्थित कुसोम परिसरमा हुनेछ । विद्यार्थी र रोजगारदातालाई एउटै मञ्चमा ल्याउन यसपालि पनि मेलालाई निरन्तरता दिन लागेको कुसोम प्लेसमेन्ट सेलले जनाएको छ । कम्पनीका अनुसार मेलाले विद्यार्थीलाई आफ्नो क्षमता र दक्ष प्रदर्शन गर्न तथा कम्पनीको प्रत्यक्ष सम्पर्कमा आउन अवसर प्रदान गर्नेछ । मेलामा कुसोमका स्नातक र स्नातकोत्तर विद्यार्थीले प्रतिष्ठित कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघा गर्ने अवसर पाउनेछन् । विद्यार्थीलाई करियरको सही सुरुवात गराउनु र कम्पनीहरुलाई प्रतिभाशाली कर्मचारी चयनमा सहयोग गर्नु मेलाको मुख्य उदेश्य रहेको छ । मेलामा सूचना प्रविधि, उत्पादन, बैंकिङ, अर्थशास्त्र लगायत विभिन्न क्षेत्रका कम्पनीको सहभागिता रहनेछ। सिप्रदी ट्रेडिङ, इन्फोडेभलपर्स, वरुण बेभरेजेस, लिपफ्रग, बिजनेस ब्रेन्ज जस्ता कम्पनी सहभागी हुने सुनिश्चित भइसकेको छ। इच्छुक कम्पनीले मेलामा सहभागिताका लागि साउन ३ गतेसम्म दर्ता गराइ सक्नुपर्ने कम्पनीले बताएको छ ।

उच्च बिन्दुमा पुगेपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । बुधबार प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने १ लाख ४८ हजार ८ सय रुैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ८ सय ६० रुपैेयाँमा कारोबार भइरहेको छ ।

महानगर आफैँ डुबानमा, राष्ट्रिय सभागृह जलमग्न

काठमाडौं । जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुबानमा परेको छ । बुधबार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुबानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ।एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो । केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको वागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यसबेला मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन । काठमाडौं महानगरपालिकाका प्रमुृख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि ग¥यो । तर काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुनगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो । हरेक वर्षा याममा घण्टाघर, रन्तपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला बिस्थापित गरी ह्युम पाईप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ । त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लव तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुबानमा परेको हो । सभागृह डुवानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही विहानैदेखि डुबानमै लाईन बसिरहेको देख्न सकिन्छ ।