५ देखि १२ कक्षाका विद्यार्थी केन्द्रित आइबिएमको ‘विद्यालय कार्यक्रम’
काठमाडौं । शिक्षा क्षेत्रमा काम गर्दै आएको एसिएन ई-लर्निङले अब आइबिएमको विद्यालय कार्यक्रम सुरु गर्ने भएको छ । बुधबार पत्रकार सम्मलेन गर्दै ई–लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्याहरूलाई केन्द्रित गर्दे कार्यक्रम सुरु गर्न लागेको जनाएको छ । अहिले विद्यार्थी सबैका हातहातमा मोबाइल भए पनि कसरी प्रयोग गर्ने र त्यसभित्र रहेको डेटा कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा याे कार्यक्रमले विद्यार्थीलाई शिक्षा दिनेछ । यो कार्यक्रममा विश्वव्यापी रूपमा प्रविधिमा नेतृत्व गरिरहेको आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम हो । भारतको शिक्षा प्रविधि कम्पनी ट्रान्सन्युरनसँगको सहकार्यमा कार्यक्रम सुरु गर्न लागिएको जनाइएको छ । यो कार्यक्रममा आर्टिफिसिएल इन्टेलिजेन्स र मेशिन लर्निङ, साइबर सुरक्षा र ब्लकचेन गरी तीन वटा प्रविधिका विषय समेटिएका छन् । दक्षिण एसियामै पहिलो पटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरू समावेश छन् । आइबिएमको यो कार्यक्रमअन्तर्गत तीन चरणका कोर्स राखिएका छन् । पहिलो एक्सप्लोरर, दोस्रो डिस्कभरर र तेस्रो इनोभेटर । एक्सप्लोररको नारामै ‘प्रविधिलाई माया गर्नुस’ भन्ने राखिएकाले सबैभन्दा पहिले प्रविधि के हो यसलाई कसरी सदुपयोग गर्ने र यसलाई कसरी माया गर्ने भन्ने विषयमा सिकाइ हुने एसिएन ई- लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए । विश्वस्तरको सिकाइ सामग्रीसहित आइबिएमकै प्रशिक्षकबाट फेस टु फेश कक्षा, इन्डष्ट्रीबाट गेष्ट लेक्चररको पनि व्यवस्था छ । कार्यक्रममा सहभागी वक्ताहरूले अहिलेको युग नै प्रविधिको युग भएकाले यस्तो कार्यक्रम आवश्यक रहेको बताएका छन् । विद्यार्थीलाई स्कुल लेभलमै प्रविधिमा पोख्त बनाउन सके विश्वसँग नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने भन्दै यस्तो कार्यक्रम सरकारले नै सुरु गर्नुपर्ने बताएका छन् ।
प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वदेशी लगानी बढाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आत्मविश्वास बढाउने नीति ल्याउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आग्रह गरेका छन् । बुधबार मन्त्री भण्डारीसँग महासंघको प्रतिनिधिमण्डलले गरेकाे भेटमा अध्यक्ष ढकालले उक्त आग्रह गरेका हुन् । अध्यक्ष ढकालले थप स्वदेशी लगानी आउनका लागि निजी क्षेत्रको विश्वास बढाउनुपर्ने बताए । विदेशी लगानीकर्ताले लगानी गर्नुअघि बजारमा स्वदेशी लगानीको प्रवाह हेर्ने भएकाले स्वदेशी लगानी आवश्यक रहेको उनले बताए । स्वदेशी लगानी बढाएर मात्रै विदेशी लगानी बढाउन सकिने ढकालले बताए । नेपालको अर्थतन्त्र उकास्न लगानी आवश्यक रहेको भन्दै उनले लगानीकर्तामैत्री नीति ल्याउनुपर्नेमा जोड दिए । उक्त भेटमा मन्त्री भण्डारीले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउन नपर्ने वातावरण सिर्जना गर्ने बताए । उनले देशका व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा परेका समस्यालाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । उनले उत्पादनमूलक गतिविधि बढाउन सहयोग गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको बताए । मन्त्री भण्डारीले उद्योगमैत्री नीति ल्याई उद्योगलाई सहज बनाउनेमा विश्वस्त पारे । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले लगानी गर्न ढुक्क हुने गरी मन्त्रालयमा संस्थागत सुधार गर्ने प्रयास गर्ने बताए । यस्तै अध्यक्ष ढकालले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा अत्याधिक भाडा लिइएको बारे मन्त्री भण्डारीलाई जानकारी दिँदै यस विषयमा पनि ध्यान दिन आग्रह गरे ।
सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सीईओमा केशव कुमार पौडेल नियुक्त भएका छन् । साउन १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरिएको छ । साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । साविक सबैको लघुवित्तमा यसअघि उनी दोस्रो कालका लागि सीईओमा पुन: नियुक्त भएका थिए । २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्यानुभव छ । उनी २०७४ जेठ १ गतेदेखि सबैको लघुवित्तमा सीईओका रुपमा कार्यरत थिए ।
एक वर्षमा अख्तियारले दायर गर्यो २०१ भ्रष्टाचार मुद्दा, ८ अर्ब बढी बिगो दाबी
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर गरेको छ । ती मुद्दा गैरकानुनी लाभहानीका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४ वटा रहेकाे अख्तियारले जनाएकाे छ । यस्तै राजस्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध मुद्दा ३ वटा रहेका छन् । अख्तियारले विशेष अदालतमा दायर गरेका ती आरोपपत्रहरूबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १ सय ४२ रुपैयाँ ४४ पैसा बिगो माग दाबी गरेको छ । आरोपपत्रमा प्रतिवादीको संख्या १ हजार ५ सय २० जना रहेको छ । उनीहरूमध्ये सरकारी कर्मचारी ५ सय २४, निर्वाचित जनप्रतिनिधि १ सय १, मनोनीत पदाधिकारी १ सय ८१, लेखापढी व्यवसायी २, बिचौलिया २ र व्यवसायी ९१ जना रहेका छन् । त्यसबाहेक अन्य ६१९ जना छन् । सोही आर्थिक वर्षमा परेका जम्मा ३५ हजार ७ सय ९० उजुरीमध्ये २७ हजार ३ सय ७५ उजुरी फर्छ्योट गरेको अख्तियारले जनाएको छ ।
त्रिशूलीमा बेपत्ता बस चालकका छोराछोरीको शिक्षाको जिम्मा वीरगञ्ज महानगरले लिने
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एन्जल बसका चालक जवाहीर महतोका तीन जना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार एन्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरी सो जिम्मेवारी लिने बताएका हुन् । ‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ,’ नगरप्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।’ जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका– २९, सिमलतालनजिकै पहिरोमा परेर त्रिशूली नदीमा खसेको थियो । नगर प्रमुख सिंहले आजै एन्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताए ।
प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सम्झौता
काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको छ । यी दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् । विभिन्न बैंकरवित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच बुधबार एक सम्झौता भएको हो । उक्त सम्झौता प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्रअधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् । विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंकले उपलब्ध गराएको क्युआर मार्फत बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । व्यवसायमा आवद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराईने कार्यक्रम रहेको बैंकले जनाएको छ । पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
हिमाल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच समझदारी भएको छ । बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत
मनिला । एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) लाई वित्तपोषण उपलब्ध हुनेछ । एडीबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ । छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ । एजेन्सी